ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्यात कमजोर आयात झन् बलियो बन्दै

Oct 26, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । मुलुकमा वस्तु निर्यातको अवस्था कमजोर र आयात भने झन् बलियो बन्दै गएको सरकारी तथ्याङ्कले देखाएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) २०७५/७६ को पहिलो ३ महीनाको तथ्याङ्कमा रू. ३ खर्ब ७४ अर्बको वस्तु आयात हुँदा नेपालबाट विभिन्न मुलुकमा कुल रू. २३ अर्ब ७४ करोडको वस्तु मात्रै निर्यात भएको छ । विभागको तथ्याङ्कअनुसार गत आवको सोही अवधिको तुलनामा ४३ दशमलव ५ प्रतिशत बढी वस्तु आयात भएको हो । गत आवको सोही अवधिमा रू. २ खर्ब ६० अर्ब २० करोडको वस्तु आयात भएको थियो । आयात भएका वस्तुमध्ये सबैभन्दा बढी ५७ अर्बको पेट्रोलियम पदार्थ रहेको छ । त्यसपछि ४० अर्बको फलाम र स्टीलका कच्र्चा पदार्थ, २९ अर्बको सवारीसाधन, २८ अर्बको मेशिनरी सामान, २२ अर्बको विद्युतीय सामान, १७ अर्बको विमान र विमानका सामान रहेका छन् । सबैभन्दा बढी आयात वीरगञ्ज नाकाबाट ३४ प्रतिशत, भैरहवाबाट १७ प्रतिशत, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सारबाट १४ प्रतिशत, विराटनगरबाट १२ प्रतिशत, विरगञ्ज सुक्खा बन्दरगाहबाट १० प्रतिशत आयात भएको भन्सार विभागले बताएको छ । यस अवधिको कुल आयातित वस्तुमध्ये सबैभन्दा बढी भारतबाट २ खर्ब ३६ अर्ब रुपैयाँको सामान आयात भएको छ । उक्त रकम कूल आयात रकमको ६३ प्रतिशत हो । त्यसपछि क्रमशः चीनबाट ५३ अर्ब, फ्रान्सबाट १४ अर्ब, युनाइटेड अरब इमिरेट्स (यूएई) बाट ८ अर्ब र थाइल्याण्डबाट ४ अर्ब रुपैयाँका विभिन्न वस्तु आयात भएको देखिन्छ । विभागको तथ्याङ्कले सबैभन्दा बढी नेपालबाट २ अर्ब २४ करोड रुपैयाँको कच्चा धागो निर्यात भएको देखाउँछ । त्यस्तै, रू. २ अर्ब ३४ करोडको गलैंचा र रू. १ अर्ब ९० करोडको तयारी पोशाक निर्यात भएको छ । तथ्याङ्कअनुसार सबैभन्दा बढी भारत र त्यसपछि संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र जर्मनीमा ती वस्तुको निर्यात भएको देखिन्छ । समीक्षा अवधिमा मुलुकको व्यापारघाटा रू. ३ खर्ब ४९ अर्ब ८४ करोड पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी भारतसँग मात्र २ खर्ब २३ अर्ब व्यापारघाटा रहेको छ । मुलुकको बढ्दो घाटा विभिन्न मुलुकबाट भित्रने विप्रेषणले धान्ने प्रयास गरेको देखिन्छ । हाल मुलुकमा विदेशमा काम गर्ने नेपालीबाट प्रतिमहीना झण्डै ८५ अर्ब विप्रेषण भित्रने गरेको छ । सरकारले मुलुकमा परनिर्भरता अन्त्य गर्न उद्योगमैत्री वातावरण बनाउन नसक्दा निर्यातको अवस्था कमजोर देखिएको हो । चालू आवको ३ महीनामा वस्तु आयातबाट गत आवको सोही अवधिको तुलनामा ४२ प्रतिशत बढी राजस्व प्राप्त भएको छ । विभागका अनुसार यस अवधिमा भन्सार विन्दुहरुबाट कुल १ खर्ब १ अर्ब २४ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ । यस अवधिमा विभागले ९२ अर्ब ४२ करोड राजस्व आम्दानी गर्ने लक्ष्य राखेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)