ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सार्वजनिक खरीद र विकास निर्माणसम्बन्धमा अख्तियारको सरकारलाई निर्देशन : सुधारका लागि १ वर्षको समय

Oct 28, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । पूर्वाधार, विकास निर्माणका काममा देखिँदै आएका समस्या र लापरवाही समाधानमा सरकार अग्रसर नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्ययोजना नै बनाएर सरकारलाई सुधारका लागि निर्देशन दिएको छ । सार्वजनिक खरीद र विकास निर्माणमा सरकारी निकाय, ठेकेदार तथा निर्माण व्यवसायीका साथै आयोजनाको छनोटदेखि क्षमता विकासमा दर्जनौं समस्या देखाउँदै आयोगले त्यसको समाधानका लागि कार्ययोजना बनाएर सम्बन्धित निकायलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । पूर्वाधार निर्माणमा देखिएको ढिलासुस्ती तथा गुणस्तरहीन कार्यमाथि अनुसन्धान तथा अनुगमन गर्दै आयोगले आयोजना तयारीको चरणदेखि सम्बन्धित सरकारी निकायहरूको क्षमता विकासमा समेत समस्या देखाएको छ । ती समस्या सामधानका लागि आयोगले ‘सार्वजनिक खरीद तथा विकास निर्माणको कार्यक्रम सुधारको कार्ययोजना, २०७५’ नै बनाएर सम्बन्धित निकायलाई सुधारका लागि ३ महीनादेखि १ वर्षसम्मको समय दिएको हो । आयोगका सहसचिव तथा प्रवक्ता रामेश्वर दङ्गालले सार्वजनिक खरीद र पूर्वाधार विकास निर्माणका कार्यमा विद्यमान समस्या समाधानका लागि प्रयास नभएकाले आयोगले नै सुधारका लागि कार्ययोजना बनाइदिएको बताए । उनले भने, ‘हामीले भौतिक पूर्वाधार तथा यातायात, अर्थ मन्त्रालय, सार्वजनिक खरीद अनुगमन कार्यालय, राष्ट्रिय योजना आयोग, अन्य सहयोगी निकायमा विकास निर्माणका अन्य विभाग र सम्बन्धित मन्त्रालयलाई कार्ययोजनाअनुसार कार्य गर्न भनेका छौं ।’ तोकिएको समयमा कार्ययोजनाअनुसार काम नभए आयोगको अधिकारभित्र रहेर कारबाहीको प्रक्रिया अघि बढाइने उनले स्पष्ट पारे । पूर्वाधार निर्माणका आयोजनाहरूको छनोट, पहिचान, आवश्यकता र प्राथमिकतामा नै चरम लापरवाहीको क्रम बढ्दै गएपछि त्यसको समाधानका लागि प्रक्रिया अघि बढाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव तथा प्रवक्ता राजेन्द्रराज शर्माले आयोगले उपलब्ध गराएको कार्ययोजना कार्यान्वयनका लागि विभाग, कार्यालयहरूलाई परिपत्र गरिसकिएको जानकारी दिए । उनले भने, ‘आयोगले दिएको सुझाव तथा कार्ययोजना अहिलेकै ऐन, कानून तथा नीतिमै भएका विषय हुन् ।’ ‘कार्यान्वयनमा देखिएको ढिलासुस्तीका कारण आयोगको कार्ययोजना आएको हो, अब हामीले सक्रिय रूपमा कार्ययोजनाअनुसार काम अघि बढाउन सक्रिय छौं,’ उनले भने । सडक विभाग, सडक कार्यालय तथा विभिन्न पूर्वाधार निर्माणका आयोजना तथा परियोजना कार्यालयहरूबीच पुनः छलफल गरी कार्यान्वयनका लागि थप जोड दिने उनले बताए । आयोगले कार्ययोजनामा विकास निर्माणका क्रममा आयोजनाको तयारी, खरीद, खरीद सम्झौताको कार्यान्वयन चरण र क्षमता विकासमा समस्या रहेको भन्दै सुधारका सुझाव दिँदै त्यसको कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ । विभिन्न शीर्षकमा समस्या देखाउँदै आयोगले फरकफरक समस्या समाधानका लागि म्याद दिएको छ भने कतिपय समस्या समाधानको पहल भने तत्काल गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।
आयोगले दिएका मुख्य सुझाव
  • आयोजना तयारी गर्दा आधारसहित सम्बन्धित मन्त्रालयले ‘प्रोजेक्ट बैङ्क’ बनाउनुपर्ने
  •  सार्वजनिक खरीद ऐन/नियमको प्रक्रिया पूरा गरेपछि मात्रै खरीद गर्नुपर्ने
  • निर्माण हुने सबै किसिमका संरचनाको वर्गीकरण गरी सोहीअनुसारका मापदण्ड ४ महीनामा तयार गरी कार्यान्वयन गराउने
  • परामर्श सेवाको खरीदको हद रू. २० लाखबाट रू. ५ लाखमा झार्ने
  • गलत विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने परामर्शदाता वा जिम्मेवार पदाधिकारीलाई जवाफदेही बनाउने
  • निर्माण व्यवसायीको विभिन्न आधार लिई क्षमता मूल्याङ्कनको स्पष्ट मापदण्ड बनाउने
  • निर्माण व्यवसायीको ठेक्का कार्यान्वयन गर्ने क्षमता (बीड क्यापासिटी)लाई बोलपत्र मूल्याङ्कनको मुख्य आधार बनाउने
  • बीड क्षमता नपुग्ने ठेकेदारको प्राविधिक प्रस्तावमै असफल हुनेगरी सूचक राख्ने
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)