ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीवन बीमा कम्पनी : करीब २ खर्ब लगानी

Oct 29, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव) २०७४/७५ सम्म विभिन्न क्षेत्रमा करीब २ खर्ब रुपैयाँ लगानी गरेका छन् । बीमा समितिले तयार पारेको जीवन बीमा कम्पनीहरूको आव २०७४/७५ को संयुक्त वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय विवरणअनुसार कम्पनीहरूले गत आवसम्ममा रू. १ खर्ब ९६ अर्ब ७८ करोड ५३ लाख लगानी गरेका छन् । त्यसमध्ये रू. १ खर्ब २३ अर्ब ६० करोड ९४ लाख दीर्घकालीन लगानी रहेको बताइएको छ । तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी लगानी नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । उक्त कम्पनीले गत आवसम्ममा कुल रू. ५० अर्ब ३३ करोड ६७ लाख लगानी गरेको छ । त्यसमध्ये रू. २९ अर्ब ९२ करोड ६९ लाख दीर्घकालीन लगानी रहेको छ । यस्तै, नयाँ ९ जीवन बीमा कम्पनीले पनि गत आवमा उल्लेखनीय रूपमा विभिन्न क्षेत्रमा लगानी गरेका छन् । तथ्याङ्कअनुसार प्रभु, आईएमई, युनियन, ज्योति, सन नेपाल, रिलायबल नेपाल, सानिमा, सिटिजन र रिलायन्सका गरी रू. १४ अर्ब ५८ करोड ५१ लाख कुल लगानी रहेको छ । उक्त रकममध्ये रू. ७ अर्ब ५० करोड २९ लाख दीर्घकालीन लगानी हो । अनुपातका आधारमा निर्जीवन बीमा कम्पनीको तुलनामा जीवनबीमा कम्पनीको दीर्घकालीन लगानी बढी रहेको छ । जीवनबीमामा निश्चित समयावधिपछि बीमितलाई बीमाङ्क र बोनस रकम भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसअनुसार जीवनबीमा कम्पनीको पूँजीलाई प्रभावकारी बनाउन दीर्घकालीन लगानी बढी गर्नुपर्ने व्यवस्था गरिएको समितिको भनाइ छ । ‘जीवन बीमक लगानी निर्देशन २०७१’ अनुसार कम्पनीहरूले सार्वजनिक संस्थानको शेयर, बैङ्क, उत्पादनशील तथा राष्ट्रिय महŒवलगायत क्षेत्रमा लगानी गर्नुपर्छ । सोअनुसार कम्पनीहरूले वाणिज्य बैङ्क, सार्वजनिक संस्थानको शेयर, ऊर्जा, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानी गर्दै आएका छन् । यद्यपि कम्पनीहरूले कुन क्षेत्रमा कति लगानी गरेको भन्ने तथ्याङ्क भने नभएको समितिको भनाइ छ । जीवन बीमा कम्पनीहरूले कुल लगानीको ७० प्रतिशत नघट्ने गरी अनिवार्य रूपमा क र ख वर्गका बैङ्क, नेपाल राष्ट्र बैङ्कको ऋणपत्रजस्ता क्षेत्रमा लगानी गर्नुपर्ने नीतिगत व्यवस्था छ । सोही व्यवस्थाअनुरूप कम्पनीहरूले बैङ्कको मुद्दती खातामा बढी मात्रामा लगानी गरेको समितिको भनाइ छ । समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीहरूको लगानी उत्पादनशील क्षेत्रमा कम रहेको बताए । उनका अनुसार बैङ्कमार्फत नै बीमाबजारको पूँजी उत्पादनशील क्षेत्रमा लगानी र चलायमान भएको छ । साथै, पछिल्लो समय कम्पनीहरूले कृषि, ऊर्जाजस्ता उत्पादनशील क्षेत्रमा पनि लगानी गर्ने गरेको समितिको भनाइ छ । निर्देशनअनुसार कम्पनीहरूले कुल लगानीमा ५ प्रतिशत लगानी उत्पादनशील तथा राष्ट्रिय महत्त्वका क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ । बीमाविज्ञ रवीन्द्र घिमिरेले बीमा कम्पनी आफैमा जोखीम वहन गर्ने क्षेत्रका भएकाले सुरक्षित क्षेत्रमा नै लगानी गर्नु अपरिहार्य भएको बताए । नेपालको जीवन बीमक लगानीसम्बन्धी नीतिगत व्यवस्था संसारकै उत्कृष्ट रहेको उनको दाबी छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)