कालीगण्डकी प्रसारण कोरिडोर परियोजना : चालू आवमा सकिने गरी काम हुँदै
Oct 30, 2018
 
समाचार
मुख्य खबर
काठमाडौं । कालीगण्डकी नदी बेसिनमा उत्पादन हुने जलविद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने उद्देश्यले अघि बढाइएको कालीगण्डकी प्रसारण कोरिडोर प्रणालीको काम धमाधम भइरहेको छ । पर्वतको कुश्मादेखि म्याग्दीको दानासम्म पुर्याइने ३९ किलोमिटर लामो प्रसारण लाइनका लागि टावर जडान र सबस्टेशनको काम एकैसाथ भइरहेको छ ।
दुवै गरी प्रसारण प्रणालीको करीब ६० प्रतिशत काम सकिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । ‘टावरको फाउण्डेशन निर्माण, टावर जडानका साथै सबस्टेशनको काम पनि धमाधम भइरहेको छ,’ उनले भने, ‘यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न भई पावर इभ्याकुएशन थालिनेछ ।’ उक्त प्रसारण लाइनअन्तर्गत १ सय १० ओटा टावर तथा पर्वतको कुश्मा र म्याग्दीको दानामा गरी दुईओटा सबस्टेशन निर्माण हुनेछन् । देशमा निर्माणाधीन नदी कोरिडोर प्रसारण परियोजनाहरूमध्ये यो परियोजना सबैभन्दा द्रूत गतिमा निर्माण भइरहेको घिसिङले जानकारी दिए ।
वन तथा जग्गा प्राप्तिको समस्या केही नरहेकाले निर्धारित समयमै काम सकिने कालीगण्डकी प्रसारण कोरिडोर आयोजना प्रमुख चन्दनकुमार घोषले बताए । ‘यो आर्थिक वर्षभित्र यस कोरिडोरको पहिलो चरणको काम सकिनेछ,’ उनले भने, ‘त्यसपछि दोस्रो चरणमा कुश्मादेखि नवलपरासीको रामनगर (८७ दशमलव ८ किमि) प्रसारण लाइनको काम अघि बढ्छ ।’ रामनगरबाट यही प्रसारण लाइन न्यू बुटबल–गोरखपुर प्रसारण लाइनकारूपमा भारतको प्रसारण प्रणालीमा जोडिन्छ ।
हाल कालीगण्डकी प्रसारण परियोजनामा विद्युत् प्रवाह गर्नेगरी १६ ओटा जलविद्युत् आयोजनाले विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमतिपत्र लिई काम अघि बढाइरहेका छन् । उक्त आयोजनाहरूको कुल विद्युत् उत्पादन क्षमता ७ सय ३९ दशमलव ४ मेगावाट (मेवा) रहेको छ ।
उपल्लो मुस्ताङमा जलविद्युत् आयोजना नबन्ने
कालीगण्डकीका प्रमुख दुईमध्ये एक ठूलो नदी काली बग्ने भइकन पनि भौगर्भिक जटिलताका कारण उपल्लो मुस्ताङमा जलविद्युत् आयोजना निर्माण हुने अवस्था छैन । नजिकै रहेका हिमालहरू पग्लिएर आउने स–साना जल प्रवाहको सदुपयोग गरी ठाउँठाउँमा लघु जलविद्युत् आयोजना भने निर्माण हुनसक्ने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी)को अध्ययनले देखाएको छ । ‘यती एयरलाइन्ससँगको सहकार्यमा हामीले उपल्लो मुस्ताङको घमीमा एउटा लघु जलविद्युत् आयोजना विकास गर्न लागेका थियौं,’ उपल्लो मुस्ताङको विद्युतीकरण हेर्ने एईपीसीका ईञ्जिनीयर सन्तोष राई भन्छन्, ‘तर गाउँपालिकाले निजी कम्पनीलाई बनाउन नदिने, बरु आफै बनाउने भनेपछि हामीले छोडिदियौं ।’
वायु ऊर्जाको सम्भावना रहेको भनिएको मुस्ताङको मार्फा, ठिनी र ताङ्वेमा वायु प्रवाह र दिशामापक यन्त्र जडान गरी एईपीसीले सम्भाव्यता अध्ययन गरिरहेको छ । अध्ययनको नतीजाको आधारमा आगामी दुई वर्षपछि उक्त क्षेत्रमा वायु ऊर्जा परियोजना अघि बढाउने राईले जानकारी दिए ।