ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४ शहरमा १३ विद्युतीय बस सञ्चालन गरिने

Oct 31, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । नेपालमा निजी तथा व्यक्तिगत प्रयोजनका लागि मात्रै प्रयोग हुँदै आएका विद्युतीय सवारीसाधन अब सर्वसाधारणले पनि प्रयोग गर्न पाउने भएका छन् । यातायात कम्पनीहरू सार्वजनिक विद्युतीय बसतर्फ आकर्षित हुँदै गएसँगै सुन्दर यातायात प्रालिले काठमाडौं, पोखरा, बुटवल र चितवनमा १३ ओटा विद्युतीय बस सञ्चालन गर्ने बताएको छ । कम्पनीका अध्यक्ष भेषबहादुर थापाले मुख्य चार शहरमा विद्युतीय बस सञ्चालन गर्ने तयारीअनुसार पहिलो चरणमा काठमाडौंमा सञ्चालन हुने जानकारी दिए । उनले भने, ‘हामीले काठमाडौंमा ४५ सीट क्षमताका विद्युतीय बस सञ्चालन गर्ने तयारीअनुसार आफ्नै लगानीमा काठमाडौंको सीतापाइला र सुकेधारामा चार्जिङ स्टेशन स्थापना गरेका छौं ।’ उनका अनुसार १ महीनाभित्रै काठमाडौंमा विद्युतीय बस सञ्चालन हुनेछ । त्यसका लागि गृहकार्य अन्तिम चरणमा पुगेको बताइएको छ । ती बस सुन्दर यातायात कम्पनीले चीनको सेचुवाँ गोहङ अटोमोबाइल्स् कम्पनी लिमिटेड (बीएके)सँग खरीद गर्न लागेको हो । सञ्चालन गरिने बसमध्ये तीनओटा केही दिनमै काठमाडौंमा आउनेछन् भने अन्य बस निर्माणको अन्तिम चरणमा रहेका छन् । ती बस किन्न कम्पनीले रू. २० करोड १५ लाख लगानी गरेको छ । त्यसबाहेक काठमाडौंसम्म ल्याउँदा लाग्ने ढुवानी, भन्सार, भ्याटलगायत शुल्क तिर्दा कम्पनीको लगानी रू. २४ करोड ३१ लाख पुग्ने थापाले जानकारी दिए । उनका अनुसार पोखरा, चितवन र बुटवलमा भने चार्जिङ स्टेशन बनाएपछि करीब ३ महीनाभित्र तीन÷तीनओटा बस सञ्चालन हुनेछन् । काठमाडौंमा चारओटा बस सञ्चालन हुनेछन् । किनिने बसमध्ये सातओटा ४५ र पाँचओटा ३६ सीट क्षमताका हुनेछन् । कम्पनीका अनुसार एउटा बस किन्न रू. १ करोड ५५ लाख लाग्छ । भ्याट, भन्सार र ढुवानी भाडासहित सञ्चालन गर्दासम्म एउटा बसका लागि रू. १ करोड ८७ लाख लगानी पुग्ने अध्यक्ष थापाले बताए । काठमाडौंका दुई स्थानमा निर्माण हुँदै गरेका चार्जिङ स्टेशनमा आवश्यक पूर्वाधार निर्माणको भइरहेको छ । चार्जिङ मेशिनका लागि मात्रै रू. १२ लाख लगानी भएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार स्टेशनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्दासम्म रू. ५५ लाख लगानी हुनेछ । पछिल्लो समय साझा यातायातले विद्युतीय बस सञ्चालन गर्ने भनेर केही दिनअघि उद्घाटन गरे पनि अहिले विद्युतीय बस चार्ज गर्न काठमाडौंमा चार्जिङ स्टेशन भने छैनन् ।
भेषबहादुर थापा अध्यक्ष, सुन्दर यातायात प्रालि सीतापाइला र सुकेधारामा हामी दुई चार्जिङ स्टेशन बनाउँदै छौं । प्राधिकरणले त्यसका लागि आवश्यक बिजुली उपलब्ध गराएमा ती दुवै सञ्चालनमा ल्याउन सकिन्छ । सीतापाइलाको त १ सातामै सञ्चालन गर्न सकिन्छ । सरकार र प्राधिकरणले पनि छिटै आवश्यक स्थानमा बस चार्जिङ स्टेशन स्थापना गरे मुख्य शहरमा विद्युतीय बस सञ्चालन छिटो गर्न सकिन्छ । कुलमान घिसिङ कार्यकारी निर्देशक नेपाल विद्युत् प्राधिकरण विद्युत्को खपत र विद्युतीय सवारी सञ्चालन गर्न विद्युत् प्राधिकरणले हरसम्भव सहयोग गर्छ । तर, धेरै विद्युतीय गाडी एकैपटक सञ्चालनमा आउँदा मागबमोजिम बिजुली उपलब्ध गराउन तत्काल भने गाह्रो हुन्छ । १÷२ वर्षमा विद्युत् उत्पादन बढ्दै जाँदा बिजुली सहज रूपमा उपलब्ध हुन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)