ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषिबाटै करोडपति

Nov 1, 2018  
रोजगारी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । कृषिप्रधान मुलुक भनिए पनि देशका युवामा कृषि पेशाप्रति उतिसारो विश्वास छैन । आवश्यक प्रविधि, शीप तथा तालीमको अभाव, सिँचाइ, मलखाद, अनुदानलगायत सुविधा नहुँदा यस क्षेत्रमा भविष्य देखेरै लाग्नेहरू कमै छन् । त्यसैले, अधिकांश युवा यिनै कारण देखाउँदै रोजगारीका लागि विदेश जाने प्रवृत्ति बढ्दो छ । तर, देशका कतिपय ठाउँमा यस्ता उद्यमी छन्, जो कृषिमै लागेर राम्रो आयआर्जन गर्नुका साथै घरजग्गा जोड्न समेत सफल छन् । त्यस्तै प्रनिधिनि पात्र हुन् बेनी नगरपालिका–२ का चन्द्रबहादुर कार्की । आजभन्दा ४० वर्षपहिले ‘विदेश पनि जान्न, जागीर पनि खान्न’भन्ने अडानका साथ १ हजारको लगानी कार्कीले कृषि पेशा थालेका थिए । उनको त्यही सानो लगानीले अहिले उनलाई १ करोडभन्दा बढी सम्पत्तिको मालिक बनाएको छ । सहपाठी साथीहरू अहिले कृषि वैज्ञानिक, वरिष्ठ कृषि विकास अधिकृतलगायत निजामती सेवाको उच्च तहमा पुगे तापनि आफ्नो प्रगति देखेर उनीहरू पनि आश्चर्यचकित हुने गरेको कार्कीले सुनाए । २०३४ सालमा (१८ वर्षको उमेरदेखि) कृषिमा लागेका उनी अहिले जिल्लाका नमूना कृषक र कृषि पेशाबाटै सामाजिक सेवामा सक्रिय व्यक्तिको रूपमा चिनिन्छन् । आफ्नो १८ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका कार्की जिल्लामा मिश्रित खेती प्रणालीका पहिलो कृषकसमेत हुन् । उनको खेतबारीमा बाह्रैमास आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायत तरकारीका साथै केरा, सुन्तला, कागती, अम्बालगायत फलफूल हुन्छन् । भैंसी, बाख्रा, मौरी तथा माछापालनबाट पनि कार्कीले लाखौं आम्दानी गर्दै आएका छन् । ‘१८ वर्षको उमेरदेखि तरकारीखेती शुरू गरेको हुँ,’ विगत सम्झँदै उनले भने, ‘त्यतिबेला मलाई जागीर खान वा विदेश जान धेरै अनुरोध आएका थिए, तर जागीर पनि नखाने र विदेश पनि नजाने अड्डी लिएर कृषिकर्ममा लागेँ । अहिले उनी त्यतिबेला आफूले सही निर्णय गरेको ठान्छन् । तरकारी विक्रीबाट आएको आम्दानीले कार्कीले बेनीबजारको मङ्गलाघाटमा घडेरी किनेर घरसमेत बनाइसकेका छन् । त्यसैगरी पर्वत बेनीमा समेत घडेरी जोडेका छन् । उनले कृषिउपजको पसलसमेत सञ्चालन गरेका छन् । बेनीको मङ्गलाघाटमा रहेको उहाँको पसलमा अर्गानिक कृषिउपज, फलफूल तथा तरकारीका बिरुवा (बेर्ना) वर, पिपल, समी, तुलसीलगायत धार्मिक महत्त्वका वृक्षका बिरुवासमेत पाइन्छ । कृषि पेशाबाट भएको आम्दानीले उनले गाउँमा जग्गा किनेका छन् । कृषिबाट मात्र आफूले वार्षिक १२ लाख रुपैयाँभन्दा आम्दानी गर्दै आएको उनले बताए । माटोसँग खेल्दा र माटोमा पसिना चुहाउँदा निकै आनन्द मिल्ने कार्कीको अनुभूति छ । ‘यही माटोमा गरेको परिश्रमले मलाई यहाँसम्म ल्याइपु¥यायो,’ उनले भने, ‘यही मेहनत विदेशी भूमिमा गरेको भए न मैले यत्तिको कमाउन सक्थेँ, न मलाई आत्मसन्तुष्टि नै हुन्थ्यो ।’ कृषिबाट आफूले पैसा मात्र नभई इज्जत र सम्मानसमेत पाएको उनको भनाइ छ । खबराको पिपल डाडाँको तल्लोपट्टि पर्यटकीय स्थल (लभ्लीहिल)को नजीकै रहेको कार्कीको घर र खेतबारी कृषिको प्रयोगशालाजस्तो देखिने स्थानीय भरत कार्कीले बताए । सधैंभर तरकारी र फलफूलले हरियाली देखिने कार्कीको नर्सरी, तरकारी खेती र केराबारी लभ्लीहिल पुगेका आन्तरिक तथा बाह्य पर्यटकले समेत अवलोकन गर्ने गरेका छन् । कार्कीको प्रगति देखेर त्यहाँ पुग्ने धेरै मानिस कृषिका लागि अभिप्रेरित हुने गरेका छन् । आफ्नो कामको अनुसरण गरेर अरूले पनि कृषिमा भविष्य खोजून् भन्ने चाहना उनको पनि छ । ‘आधारभूत ज्ञान, शीप र प्रविधिका साथ गर्न सके कृषिबाटै करोडपति बन्न सकिन्छ,’ आफ्नो अनुभवसहित उनले भने, ‘कृषिमा भविष्य खोज्नेलाई स्वदेशमै पर्याप्त अवसर छन् ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)