ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डुइङ बिजनेश प्रतिवेदन २०१९ मा नेपाल : व्यावसायिक वातावरण किन खस्कियो ?

Nov 2, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
काठमाडौं । विश्व बैङ्कले भर्खरै सार्वजनिक गरेको ‘डुइङ बिजनेश प्रतिवेदन २०१९’ले नेपालको व्यावसायिक वातावरण खस्किएको देखाएको छ । प्रतिवेदन सन् २०१७ जुन २ देखि सन् २०१८ मे १ सम्मका गतिविधिका आधारमा तयार गरिएको हो । सन् २०१८ को प्रतिवेदनमा उल्लेख भएभन्दा नेपाल विश्वव्यापी सूचीमा पाँच स्थान तल झरेको छ । उक्त प्रतिवेदनमा १ सय ५औं स्थानमा रहेको नेपाल अहिले १ सय १०औं स्थानमा पुगेको छ । प्रतिवेदनअनुसार नेपालको इज अफ डुइङ बिजनेश सूचक शून्य दशमलव ३२ अङ्कले घटेर ५९ दशमलव ६३ कायम भएको छ । सन् २०१८ को प्रतिवेदनमा नेपालको सूचक २ दशमलव ३५ अङ्कले बढेको थियो । राम्रा काम समीक्षा अवधिमा नेपाल सरकारले महिला कर्मचारीलाई उपलब्ध गराइँदै आएको सुत्केरी बिदाको अवधि बढाएको छ । महिला कर्मचारीलाई ८ हप्ताको सुत्केरी बिदा दिइने गरिएकोमा समीक्षा अवधिमा यसलाई बढाएर १४ हप्ता पु¥याइएको छ । कर्मचारी भर्ना कानून र परीक्षण अवधिमा पनि परिवर्तन गरिएको छ । यस अवधिमा नेपालले स्थायी प्रकृतिको कामका लागि निश्चित अवधिको करारलाई अनुमति दिनुका साथै यसअघि १ वर्ष रहेको परीक्षण अवधि घटाएर ६ महीनामा झारेको छ । काम गर्ने समय र बिरामी बिदा, महिलाका लागि ‘नाइट वर्क’सम्बन्धी कानूनमा पनि सकारात्मक परिवर्तन गरिएको छ । यसअघि १५ दिनसम्म आधा तलब दिने गरी बिरामी बिदा दिँदै आएकोमा अहिले १२ दिन पूर्ण तलबसहितको बिरामी बिदाको व्यवस्था गरिएको छ । लापरबाहीसम्बन्धी मामिलामा तेस्रो पक्षको अनुमति चाहिने आवश्यकता र बेरोजगारका सुरक्षालगायत कानूनमा परिवर्तन गरिएको छ । यति धेरै राम्रा काम हुँदा पनि किन घट्यो त डुइङ बिजनेश सूचक ? किन खस्कियो सूचक ? समीक्षा अवधिमा श्रम ऐनअन्तर्गत कर्मचारीलाई दिइने उपदान, स्वास्थ्य बीमा र दुर्घटना बीमा रोजगारदाताले अनिवार्य बेहोर्नुपर्ने नियम ल्याइएको थियो । प्रतिवेदनअनुसार रोजगारदाता तथा कम्पनीहरूको प्रशासनिक खर्चको भार र कार्यदिन बढ्ने भएपछि व्यावसायिक वातावरणमा नकारात्मक प्रभाव परेको हो । सन् २०१८ को प्रतिवेदनको सूचीमा नेपालभन्दा तल रहेका नामिबिया, श्रीलङ्का र जिबुटीलगायत केही देशले यस वर्षको सूचीमा नेपाललाई उछिनेका छन् । जिबुटी सूचीमा सबैभन्दा धेरै सुधार गर्ने शीर्ष १० देशको सूचीमा समेत गरेको छ । व्यावसायिक वातावरण सूचकाङ्क अघिल्लो वर्षको तुलनामा थोरै घट्दा पनि नेपाल धेरै स्थान तल आएको हो । कसरी तयार पारिन्छ प्रतिवेदन ? विश्व बैङ्कले हरेक वर्ष विभिन्न मापदण्डको आधारमा विश्वका १ सय ९० देशको व्यावसायिक वातावरणको सूची तयार पार्ने गरेको छ । यसमा कुनै पनि देशमा व्यवसाय गर्न कत्तिको सहज छ र यस क्रममा के–कस्ता अप्ठ्याराहरू देखा पर्छ भन्ने कुराको लेखाजोखा राखिन्छ । यसमा सरकारी नियमनको अवस्थालाई बढी ध्यान दिइन्छ । सरकारी नियमनका कारण व्यवसाय गर्न गाह्रो भइरहेको छ कि सजिलो भन्ने कुरा यसमा बढी विचार गरिन्छ । सूचीमा सबैभन्दा धेरै अङ्क प्राप्त गर्ने देशको व्यावसायिक वातावरण विश्वमै सहज मानिन्छ भने कम पाउनेको सबैभन्दा खराब । यस वर्ष सूचीको शीर्ष स्थानमा न्यूजील्याण्ड रहेको छ भने पुछारमा सोमालिया । सूचीमा संलग्न गराइने मापदण्डहरू यस प्रकार छन् : व्यवसायको शुरूआत : यसमा नयाँ व्यवसाय शुरू गर्न लाग्ने समय, लागत, न्यूनतम पूँजीको अध्ययन गरिन्छ । निर्माण अनुमति प्राप्ति : यसमा गोदाम वा भण्डारगृह बनाउन लाग्ने समय, लागत र प्रक्रियाको विश्लेषण गरिन्छ । बिजुलीको उपलब्धता : व्यवसायलाई चाहिने बिजुलीको कनेक्शन जोड्ने क्रममा गुज्रिनु पर्ने प्रक्रिया, समय र लाग्ने लागत, बिजुलीको निरन्तर उपलब्धता पनि महत्त्वपूर्ण पक्ष हो । सम्पत्तिको दर्ता : व्यावसायिक सम्पत्तिको दर्ता गर्न लाग्ने समय, प्रक्रिया र लागतमा पनि व्यावसायिक वातावरण आधारित हुन्छ । कर्जा प्राप्ति : यसमा कानूनी अधिकार, कर्जासम्बन्धी सूचनाको जानकारीलगायत कर्जासम्बन्धी विविध पक्षको विश्लेषण हुन्छ । अल्पसङ्ख्यक लगानी–कर्ताको सुरक्षा : ‘डिस्क्लोजर’, कम्पनीको सञ्चालक समितिका सदस्यहरूमाथिको दायित्व, शेयरधनीहरूको अधिकार, स्वामित्व र नियन्त्रण, संस्थागत पारदर्शितालगायत अल्पसङ्ख्यक शेयरधनीहरूको सुरक्षा प्रावधानसम्बन्धी विवरणहरूको पनि अध्ययन गरिन्छ । सीमापार व्यापार : सीमापार निर्यात गर्न लाग्ने समय र लागत, आयात गर्न लाग्ने समय र लागत, आयात–निर्यातका लागि चाहिने डकुमेण्टहरू आदि पनि व्यावसायिक वातावरण सूचक राख्ने गरिन्छ । करार कार्यान्वयन : कारोबार क्रममा दुई कम्पनीबीच हुने करारसम्बन्धी नियम, करार लागू गर्न लाग्ने समय, लागत र न्यायिक प्रक्रियाको स्तरले पनि देशको व्यावसायिक वातावरण सूचकलाई प्रभावित पार्छ । ‘इन्सल्भेन्सी’ समाधान : कम्पनी वा व्यवसाय टाट पल्टिएर ऋण तिर्न नसक्ने अवस्थामा पुगे भने व्यवसाय बन्द गर्ने प्रक्रिया सम्पन्न हुन लाग्ने समय, लागत, लगानी उठ्ने दर र इन्सल्भेन्सी संरचनाको व्यवस्थाको अध्ययन गरिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)