ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जोखीम न्यूनीकरण र अग्निबीमा अपरिहार्य

Nov 2, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । नेपालीले मनाउँदै आएका धेरै पर्वमध्ये तिहार पनि एक हो । सबै पर्वका आआफ्नै विशेषता भएजस्तै तिहारका पनि आफ्नै विशेषता र महत्त्व छ । त्यही मौलिक विशेषता र महत्त्वका कारण तिहार अन्य पर्वभन्दा फरक मानिन्छ । मालबत्तीसहित विभिन्न किसिमका बत्ती तथा दियो बाल्ने कार्यले तिहारको बेला गाउँशहर झिलीमिली देखिन्छ । सयपत्री फूलको मालासहित भाइटीका लगाउने र द्यौसीभैलो खेल्ने कार्य तिहारका मौलिक विशेषता हुन् । तिहारमा पटाका पड्काउने र झिरझिरे बाल्नेजस्ता मनोरञ्जनात्मक क्रियाकलाप पनि गरिन्छ । तिहारलाई रमाइलो गरी मनाइरहँदा विभिन्न किसिमका विपद्का सम्भावना पनि उत्तिकै हुन्छन् । पटाका पड्काउने र क्षमताभन्दा बढी बिजुलीका सामानको प्रयोगले तिहार जोखीमयुक्त पनि बन्दै गएको छ । पटाका पड्काउने क्रममा एकातिर बालबालिकाले ज्यान गुमाउनु परेको छ भने बिजुलीका सामानको अत्यधिक प्रयोगले विद्युत् ‘सट’ भई घरलगायत भौतिक सम्पत्तिमा आगलागी पनि हुने गरेको पाइन्छ । काठमाडौं महानगरपालिकाको तथ्याङ्कअनुसार २०७४ सालको तिहारमा काठमाडौंमा आगलागीका २६ घटना भएका थिए । त्यस्तै २०७३ सालको तिहार ताका पनि आगलागीका घटना निकै भएको जुद्ध वारुणयन्त्रका कार्यालय प्रमुख बद्रीमान नगरकोटीले जानकारी दिए । उनका अनुसार सामान्यतया १ महीनामा १५ ओटासम्म आगलागीका घटना हुने गरेको पाइए पनि तिहारको समयमा यस्ता घटना दोब्बर हुने गरेका छन् । तिहारको समयमा हुनसक्ने आगलागीलाई कम गर्न सबै सतर्क हुनुपर्ने उनी बताउँछन् । ‘घर झिलीमिली बनाउने नाममा दियो, धूप र बत्ती जथाभावी नबालौं । सम्भावित आगलागीलाई ध्यानमा राखी अग्नि नियन्त्रण उपकरण प्रयोग गरौं,’ उनले भने । आगलागीका घटनालाई कम गर्न बिजुलीका उपकरण प्रयोग गरिसकेपछि बन्द गरेर राख्नुपर्ने उनको सुझाव छ । अग्निबीमा अपरिहार्य आगलागीका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । कतिपय आगलागीमा घर पूर्णरूपमै खरानी हुने गरेको छ । राति हुने आगलागीमा मानवीय क्षति पनि हुने गरेका छन् । गतवर्ष असोज ५ गते राति ३ बजे मोरङका चन्द्रकुमार राईसहित परिवारका चार जनाले घरमा आगलागी भएका कारण ज्यान गुमाउनुप¥यो । यसरी हुने भौतिक क्षतिपछि घरधनीसँग घरको मर्मतसम्भार तथा पुनर्निर्माण गर्न आवश्यक रकम नहुन सक्छ । सरकार र सङ्घसंस्थाबाट सहयोग पाउने सम्भावना भए पनि त्यो पर्याप्त हुँदैन । यस्तो समस्यालाई ध्यानमा राखेर सर्वसाधारणले जोखीम कम गर्न घरको अग्निबीमा गर्नुपर्ने बीमाविज्ञहरू बताउँछन् । त्यस्ता घटनाबाट हुने नोक्सानीलाई आर्थिक रूपमा कम गर्न परिवारका सदस्यको दुर्घटना बीमा र घरको अग्निबीमा अपरिहार्य रहेको उनीहरूको भनाइ छ । त्यसो गरिएमा बीमा कम्पनीबाट आउने रकमले घरको मर्मतसम्भार र घाइतेको उपचार गर्न सकिन्छ । बीमाविज्ञ भोजराज शर्माले तिहारको हुने सम्भावित आगलागीलाई ध्यानमा राखी घरको अग्निबीमा गर्नुपर्ने बताए । उनले भने, ‘तिहारमा विद्युत् खपत बढी हुने भएकाले आगलागीको सम्भावना बढी हुन्छ ।’ उनका अनुसार घरको भौतिक संरचना र सम्पत्तिको आधारमा सहुलियत रूपमा अग्निबीमा गर्न सकिन्छ । चेतनामूलक कार्यक्रम गर्दै महानगर काठमाडौं महानगरपालिका जुद्ध वारुणयन्त्र कार्यालयले तिहारमा हुनसक्ने सम्भावित आगलागीको जोखीमलाई कम गर्न चेतनामूलक कार्यक्रम गर्ने भएको छ । शुक्रवारदेखि शुरू हुने उक्त कार्यक्रम १ सातासम्म सञ्चालन हुनेछ । कार्यक्रमअन्तर्गत र्‍याली आयोजना गरिने बताइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)