ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तिहार बजार : भाइमसलाको भाउमा अत्यधिक वृद्धि

Nov 2, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । तिहारमा दिदीबहिनीले दाजुभाइलाई दिने ‘भाइमसला’को भाउ गतवर्षको तुलनामा यस वर्ष अत्यधिक बढेको छ । खुद्रा व्यापार सङ्घका अनुसार कुनै वस्तुको भाउ गत वर्षको तुलनामा तेब्बरसम्म बढेको हो । गतवर्ष रू. ३ सय ५० मा पाइने मखना अहिले प्रतिकेजी रू. १ हजार पुगेको सङ्घले जानकारी दिएको छ । सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार गतवर्षको तुलनामा यस वर्ष किसमिस, नरिवललगायत केही वस्तुको भाउ दोब्बर बढेको छ । यस्तै, अलैंचीको भाउ पनि उत्तिकै बढेको छ । गतवर्ष १ हजारमा पाइने अलैंचीको भाउ यस वर्ष प्रतिकेजी १५ सय र गतवर्ष २ सय ५० मा पाइने नरिवलको खुद्रा भाउ बजारमा अहिले दोब्बर बढेर ५ सय पुगेको छ । त्यस्तै, गतवर्ष ओखर प्रतिकेजी ३ सय ५० मा विक्री भएकोमा अहिले ७ सय ५० सम्म पुगेको छ । सुकुमेल गतवर्षको तिहारमा प्रतिकेजी १६ सयमा पाइन्थ्यो तर यो वर्ष भाउ बढेर २५ सय पुगेको छ । थोकमा आफूहरूले उक्त वस्तु किन्दा बिलबीजक नपाएको सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । उनले भने, ‘खुद्रा व्यापारीले काजु १५ सयमा किन्नुपरे पनि सही रूपमा बिलबीजक पाएका छैनौं । ८/९ सयको बिलबीजक हामीलाई दिइन्छ ।’ भाइमसलाको मूल्य अत्यधिक बढेपछि उपभोक्ता ठूलो मारमा परेका छन् । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले सरकारले चाडपर्वको बेलामा प्रभावकारी रूपमा बजार अनुगमन नगर्दा उपभोक्ताको ढाड सेकिएको बताए । उनले भने, ‘चाडपर्वमा कुनै पनि वस्तुको बजारभाउ छोइसक्नु छैन । यस्तो अवस्थामा बजार अनुगमन गर्ने सरकारी संयन्त्र रमिते बस्नु लज्जास्पद हो ।’ बजारमा कालोबजारी मौलाउनुमा सरकारको ठूलो हात रहेको उनको आरोप छ । उनले भने, ‘अनुगमन गर्ने सरकारी संयन्त्र कमजोर भएकै कारण बेतिथि मौलाएको हो ।’ पछिल्ला दिनमा बजार अनुगमन ठप्प छ । हालै जारी भएको उपभोक्ता संरक्षण ऐन–२०७५ मा बजार निरीक्षण अधिकृतका सम्बन्धमा भएको केही अस्पष्टताका कारण विवाद उठेपछि विभागले केही दिनयता बजार अनुगमन गरेको छैन । गत महीना संसद्को उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता समिति र अर्थ समितिले सरकारलाई चाडपर्वको बेला हुने महँगी रोक्न निर्देशन दिएको थियो । विभिन्न संसदीय समितिले सरकारलाई निर्देशन दिए पनि सरकार अनुगमन नगरी रमिते बनेर बसेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)