ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फूलमा अझै परनिर्भर : वार्षिक आयात भने घट्दो

Nov 4, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । धार्मिक एवम् सांस्कृतिक रूपले नेपाल धनी रहे पनि मठमन्दिर, शुभकार्य, चाडपर्वका बेला प्रयोग हुने फूलमा भने अझै आत्मनिर्भर बन्न सकेको छैन । नेपाल फ्लोरिकल्चर एसोसिएशनका अनुसार वार्षिक रूपमा नेपालले करोडौं मूल्यको फूल आयात गर्दै आएको छ । पछिल्लो तथ्याङ्कले त्यस्तो आयात घट्दै गएको देखाएको छ । गत आर्थिक वर्ष (आव)मा मात्रै रू. ११ करोडको फूल आयात भएको देखिन्छ । फूलमा नेपाल आत्मनिर्भर बन्न नसक्दा भारत, थाइल्याण्ड, फ्रान्स, बेलायत, जापान, नामिबिया, इटालीलगायत मुलुकबाट आयात भइरहेको छ । एशोसिएशनका महासचिव विश्वमणि पोखरेलले पुष्प व्यवसायमा सरकारी लगानी कमजोर हुँदा परनिर्भरता कम गर्न व्यवसायीलाई हम्मेहम्मे परेको बताए । वार्षिक रूपमा फूलको माग १०/१५ प्रतिशतले बढ्दै गएको एशोसिएशनको तथ्याङ्क छ । पुष्प व्यवसायमा हालसम्म ६ अर्बबराबरको लगानी भए पनि यसको प्रवर्द्धनमा सरकार उदासीन रहेको महासचिव पोखरेलको भनाइ छ । पुष्प व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले २०६९ सालमा ‘पुष्प प्रवर्द्धन नीति’ सरकारले ल्याए पनि प्रभावकारी हुन नसकेको उनी बताउँछन् । ‘सरकारले लिएको नीतिअनुसार ५ वर्षे कार्ययोजना बन्यो । तर, त्यहाँ रहेका स्टेकहोल्डरले राम्रो काम गरेनन् । यसबाट पुष्प व्यवसाय प्रवर्द्धन हुन सकेन,’ पोखरेलले भने । हाल नेपाल फ्लोरिकल्चर एसोसिएशनमा ७ सय पुष्प व्यवसायी आबद्ध छन् । तिहारमा २२ लाख माला तिहारलाई ‘फूलको पर्व’ पनि भन्ने गरिन्छ । घर सिँगार्न र दाजुभाइ दिदीबहिनीलाई लगाइदिन फूल, मालाको अत्यधिक माग हुने गरेको छ । गतवर्ष १५ लाख मालाको माग भएकोमा यस वर्ष २२ लाख मालाको माग रहेको छ । यसपालिको तिहारसम्ममा १५ लाख सयपत्रीका र ७ लाख मखमलीका माला बजारमा पुग्ने उनी बताउँछन् । महासचिव पोखरेलका अनुसार तिहारमा प्रयोग हुने मखमलीको मालामा नेपाल आत्मनिर्भर छ । उनले भने, ‘मखमली र गोदावरी फूल उत्पादनमा हामीले माग धान्ने गरेका छौं ।’ मुख्यतः सयपत्री र गुलाफको फूल भारतलगायत अन्य मुलुकबाट आयात गर्नुपरेको छ । उनका अनुसार वार्षिक रूपमा ११ लाख सयपत्री फूलका गुच्छा बाहिरबाट आयात हुने गरेको छ । अहिले गोदावरीको माला सरदर १ सय ५० मा विक्री हुने गरेको छ । अन्य फूलको साधारण मालालाई भने बजारमा न्यूनतम रू. २५ मा विक्री गर्ने गरिएको छ । थोकमूल्य कम्तीमा ५० रुपैयाँ तोकिँदा उपभोक्ताले एउटा मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म तिर्नुपर्नेछ । गतवर्ष ५० देखि ६० रुपैयाँसम्ममा माला किनमेल भएको थियो । काठमाडौं उपत्यकामा सबैभन्दा बढी ४० प्रतिशत माला खपत हुने गरेको महासचिव पोखरेल बताउँछन् । मखमलीको माला भने नेपालबाट विदेशमा निर्यातसमेत हुने गरेको छ । एशोसिएशनका अनुसार वार्षिक रूपमा मखमलीको माला २ लाखसम्म निर्यात हुन्छ । अष्ट्रेलिया र खाडी मुलुकमा मखमली फूलको माग बढी हुने गरेको फ्लोरिकल्चर एशोसिएशनले जानकारी दिएको छ । विदेशमा फूल निर्यात गर्दा विभिन्न कानूनी अड्चन रहेको व्यवसायीहरू बताउँछन् । पोखरेलले भने, ‘कानूनी अड्चनका बारेमा छलफल गर्न सरकार तयार हुनुप¥यो, मुलुकलाई फूलमा आत्मनिर्भर बनाएर हामी, मुलुकबाहिर फूल निर्यात गर्न चाहन्छौं ।’ मुलुकलाई फूलमा आत्मनिर्भर गराई निर्यात गर्न सके मुलुकमा बढ्दो व्यापारघाटा कम गर्न सहयोग पुग्ने पुष्प व्यवसायीहरूको बुझाइ छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदीले पुष्प व्यवसाय प्रवर्द्धनमा राज्यले विगत ४/५ वर्षदेखि विशेष ध्यान दिएको बताए । सुवेदीका अनुसार व्यवसाय प्रवर्द्धनका निम्ति सरकारले पूर्वाधार निर्माणमा सीधै आर्थिक सहयोग गर्ने गरेको छ । पुष्प विकास केन्द्र गोदावरीले यसको सहजीकरण र प्रविधिक सहायतामा समेत ध्यान दिएको मन्त्रालयका सहसचिव सुवेदी बताउँछन् । उनका अनुसार निर्यातमा देखिएको समस्या हल गर्न मन्त्रालय तयार छ । उनले भने, ‘पुष्प व्यवसायी एकीकृत भएर समस्या लिएर आउनुपर्‍यो । उचित माग सम्बोधन गर्न मन्त्रालय तयार छ ।’ व्यवसाय प्रवद्र्धनका निम्ति राज्यले कुनै कसर बाँकी नराख्ने सहसचिव सुवेदीको भनाइ थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)