काठमाडौं । ७ सय २६ मेगावाट (मेवा)का पाँच जलविद्युत् आयोजना नेपालीको १ खर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेका छन् । यसले स्वदेशी लगानीबाट पनि ठूलो परिमाणमा जलविद्युत् उत्पादन सम्भव छ भन्ने पुष्टि गरेको छ ।
सबैभन्दा ठूलो माथिल्लो तामाकोशीमा नेपाल विद्युत् प्राधिकरण, सञ्चय कोषका कर्मचारी र सञ्चयकर्ता, नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थान, दोलखाली जनता, सर्वसाधारण नागरिकलगायतको लगानी रहेको छ । त्यसैगरी मध्यभोटेकोशी, रसुवागढी र साञ्जेनका दुवै आयोजनामा पनि प्राधिकरण, चिलिमे, सञ्चय कोषका कर्मचारी र सञ्चयकर्ता, तत्कालीन गाउँ र जिल्ला विकास समितिहरू, स्थानीय कम्पनीहरू, स्थानीय बासिन्दा, सर्वसाधारणलगायतको लगानी रहेको छ ।
उक्त पाँच आयोजनामा कुल रू. १ खर्ब नेपाली लगानी हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । थप जलविद्युत् विकासका लागि पनि देशभित्रबाटै लगानी जुटाउन सकिने उनको धारणा छ । ‘२२ मेगावाटको चिलिमेले कुल २ सय ७० मेगावाट क्षमताका चारओटा आयोजना अघि बढाउन सक्यो,’ उनले भने, ‘यो भनेको स्थानीय रूपमै लगानी जुटाउन सकिन्छ भन्ने प्रमाण हो, यसैगरी क्रमशः बनाउँदै जाने हो भने हजारौं मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ ।’
माथिल्लो तामाकोशी सञ्चालनमा आएपछि त्यसले अन्य आयोजना विकासमा लगानी गर्न ठूलो बल दिने घिसिङको भनाइ छ । प्राधिकरणले तामाकोशी– ५, अपर अरुण, दूधकोशीलगायत रू. ३ खर्ब लगानीका आयोजना अघि बढाइरहेको छ ।
देशभित्रबाट लगानी जुटाएर आयोजना विकास गर्न सकिने विश्वास ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई पनि छ । त्यसैले उनी कुल ३ हजार मेवा जनताकै लगानीमा बनाउने योजनामा अघि बढिरहेका छन् ।
तिहारमा बिजुलीको समस्या हुँदैन
यो वर्ष तिहारमा बिजुलीको समस्या नहुने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । ‘हामी यो वर्ष गतवर्षभन्दा पनि सजिलोमा छौं,’ उनले भने, ‘आवश्यकता अनुसार बिजुली दिन कुनै समस्या छैन ।’ लक्ष्मीपूजा लगायतका दिनमा बिजुलीको माग १ हजार २ सय ७० मेवासम्म हुने प्राधिकरणको पूर्वानुमान छ । तर, १ हजार ३ सय ५० मेवासम्म माग आए पनि धान्न सक्ने अवस्था रहेको प्राधिकरणले जानकारी दिएको छ ।