ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आजदेखि नेप्सेमा पूर्ण अनलाइन कारोबार प्रणाली

Nov 6, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पूर्ण अनलाइन कारोबार प्रणाली मङ्गलवारदेखि शुरू गर्दै छ । अर्थमन्त्री डा. युवराज खतिवडाले औपचारिक रूपमा यसको उद्घाटन गर्दै छन् । नेप्सेले साउन १ गतेदेखि नै अनलाइनको पूर्ण परीक्षण गर्दै आएको छ । प्रणालीको प्रयोग गर्न लगानीकर्तालाई सहज होस् भनी नेप्सेले मक ट्रेडिङ अभ्याससमेत सञ्चालन गरेको थियो । काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा विशेष कार्यक्रमका साथ नेप्सेले सो प्रणाली शुरू गर्न लागेको हो । यो प्रणाली लागू भएपछि शेयरको किनबेच घरबाटै पनि गर्न सकिन्छ, ब्रोकर अफिस धाइरहनु पर्दैन । हाल विद्यमान परम्परागत प्रणाली हटाएर मङ्गलवारदेखि नयाँ अनलाइन प्रणाली लागू गर्न लागेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । नयाँ अनलाइन प्रणालीमा परम्परागत प्रणालीका विशेषतासमेत रहेकाले इण्टरनेटको प्रयोग गर्न नजान्ने लगानीकर्ताले पनि पहिलेकै प्रक्रियाबाट ब्रोकरको सहयोगले लगानी गर्नसक्ने उनले जानकारी दिए । पूर्ण अनलाइन प्रणाली प्रयोग गर्न सबै ब्रोकर कम्पनी तयार रहेको स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले बताए । उनका अनुसार पुरानो प्रणालीको अन्त्य भए पनि लगानीकर्ताले ब्रोकरको सहयोग लिएर कारोबार गर्न सक्नेछन् । पूर्ण अनलाइन प्रणालीले आम लगानीकर्तालाई सहजता प्रदान गर्ने नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारको विश्वास छ । पहिलो डिम्याट सञ्चालनको बेला पनि यस्तै अन्योल लगानीकर्तामा सृजना भएको स्मरण गर्दै उनले जसरी डिम्याटको प्रयोग अहिले सहज भएको छ, त्यसरी नै सहज हुँदै जाने बताए । उनले सबै लगानीकर्तालाई प्रणालीमा आबद्ध हुन पनि अनुरोध गरे । पूर्ण अनलाइन प्रणाली लागू भएपछि आम लगानीकर्ताले इण्टरनेटको पहुँच भएको कुनै पनि स्थानमा रहेर आपैmले कारोबार गर्न सक्नेछन् । पूँजीबजारमा लगानी गर्न सहज वातावरण निर्माणका लागि सम्बद्ध निकायले प्रविधि सुधारमा जोड दिइरहेको अवस्थामा नेप्सेले सञ्चालनमा ल्याउन लागेको पूर्ण अनलाइन कारोबार प्रणालीबाट नेपालमा बचत खाता र हितग्राही खाता खोली ब्रोकर कम्पनीमा दर्ता भएका देश तथा विदेशमा रहेका नेपालीले शेयर किनबेच गर्न सक्नेछन् । यस प्रणालीमा आबद्ध हुन सबैभन्दा पहिले लगानीकर्ताले आफूआबद्ध ब्रोकर कम्पनीबाट युजर नेम र पासवर्ड लिनुपर्छ । अनलाइन प्रणालीमार्फत शेयर किन्न चाहने लगानीकर्ताले ब्रोकर कम्पनीको खातामा रकम जम्मा गरेपछि सो रकमबराबरको शेयर किन्न सक्छन् । यस्तै विक्री गर्न चाहेको शेयरको विवरण विद्युतीय निर्देशन पूर्जी भरेर ब्रोकरलाई उपलब्ध गराउनुपर्छ । नेप्सेको यस प्रणालीसँग ब्रोकर कम्पनीसँगै सीडीएस एण्ड क्लियरिङ लिमिटेड र नेपाल क्लियरिङ हाउससमेत आबद्ध रहेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)