ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्राधिकरणको कुशल व्यवस्थापन : विनालोडशेडिङ बित्यो तेस्रो तिहार

Nov 12, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
काठमाडौं । डेढ दशकसम्म लोडशेडिङको मार खेपेका नेपाली नागरिकले यो वर्षसमेत गरी तेस्रो तिहार लोडशेडिङरहित भएर मनाएका छन् । नेपाल विद्युत् प्राधिकरणको कुशल व्यवस्थापनका कारण झिलीमिली बत्तीको चाड तिहार अँध्यारोमा मनाउनु नपरेको हो । तिहारको बेला उद्योगधन्दा बन्द हुन्छन् भने घर तथा व्यावसायिक केन्द्रहरूको विद्युत् खपत उच्च हुन्छ । यही वस्तुस्थितिलाई ध्यानमा राखी प्राधिकरणले वर्षभरिकै उच्च विद्युत् माग हुने (लक्ष्मीपूजा)लगायत तिहारका सबै दिनमा मागअनुरूप आपूर्ति व्यवस्थापन गरेको हो । अनुमानभन्दा १६५ मेगावाट कम माग यस वर्षको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पीक डिमाण्ड) १ हजार १ सय ५ मेगावाट (मेवा) रहेको थियो । लक्ष्मीपूजाका दिन उद्योगधन्दा बन्द रहने हुँदा उक्त माग औद्योगिक क्षेत्रबाहेकको हो । उक्त दिन उच्च माग १ हजार २ सय ७० मेवा पुग्ने पूर्वानुमान प्राधिकरणले सार्वजनिक गरेको थियो । तर, अनुमानभन्दा १ सय ६५ मेवा कममै वर्षकै उच्च माग धानिएको छ । माग पूर्तिका लागि प्राधिकरणका विद्युत्गृहको ४ सय ३९ मेवा र निजीक्षेत्रको ३ सय ४१ मेवा उत्पादनका साथै भारतबाट आयात गरिएको ३ सय २५ मेवासमेतबाट व्यवस्थापन गरिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । गत वर्ष लक्ष्मीपूजाको पीक डिमाण्ड १ हजार १ सय ६५ मेवा थियो । गर्मी सकिएको तर जाडो शुरू पनि भइनसकेको, विद्युत् चोरी नियन्त्रणमा चालिएका प्रभावकारी कदम, लिड बल्बजस्ता ऊर्जा दक्षताका विद्युतीय उपकरणको प्रयोगलगायतका कारण यस वर्ष पीक डिमाण्ड घटेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । पीक डिमाण्ड घट्नुले आयात कम गर्न सहजता हुने उनको भनाइ छ । ‘पीक डिमाण्ड घट्नु भनेको प्रणालीलाई एकदमै राम्रो हो,’ उनले भने, ‘यसले आगामी दिनमा हिउँदको विद्युत्को माग व्यवस्थापनका लागि भारतबाट कम विद्युत् आयात गरी आफ्नै उत्पादनबाट माग धान्न सकिने अवस्था देखाएको छ ।’ फर्किएर हेर्दा दैनिक ८ घण्टा लोडशेडिङ रहेकै अवस्थामा ३ वर्षअघि (२०७३)को लक्ष्मीपूजाका दिन राजधानीमा अनवरत विद्युत् प्रवाह गर्दै लोडशेडिङ मुक्तिको अभियान शुरू भएको हो । त्यही वर्षको भदौदेखि कार्यकारी निर्देशकको पदमा बहाली भएका कुलमान घिसिङको नेतृत्वमा प्राधिकरणले उपत्यकावासीलाई दीपावलीको उपहार दियो । त्यसपछि राजधानीमा लोडशेडिङ अन्त्य नै भयो । यसले एकातर्फ देशको बाँकी क्षेत्रबाट ‘देश भनेको राजधानी मात्रै हो ?’ भन्ने जस्ता आलोचना आइरहे भने अर्कातर्फ प्राधिकरण व्यवस्थापन देशभरिबाटै लोडशेडिङ अन्त्य गर्ने अभियानमा जुटिरह्यो । सञ्चारमाध्यममा घिसिङले देशलाई लोडशेडिङमुक्त गर्ने आफूहरूको अभियानका बारेमा बताइरहँदा प्राधिकरणका पूर्व प्रशासकहरू यो असम्भव रहेको अभिव्यक्ति दिन्थे । केहीले त देशबाट लोडशेडिङ हटे आफ्नो कान काटेर फाल्ने, आत्महत्या गर्नेसम्मका अभिव्यक्ति दिए । काठमाडौंपछि पोखरा र चितवनको लोडशेडिङ अन्त्य गरेको प्राधिकरणले गतवर्ष (२०७४)को लक्ष्मीपूजाबाट देशै लोडशेडिङमुक्त भएको घोषणा ग¥यो । घरायसी उपभोक्तालाई लोडशेडिङमुक्त गरे पनि प्राधिकरणले औद्योगिक उपभोक्ताका हकमा अधिकतम दिनको ६ घण्टा (पीक आवरमा) लोडशेडिङ हटाउन सकेको थिएन । उक्त वर्गका उपभोक्तालाई पनि यसै वर्ष (२०७५)को जेठदेखि लोडशेडिङमुक्त गर्ने योजनामा प्राधिकरण जुटेको थियो । तर, वर्षको पहिलो (वैशाख) महीनाबाटै देशबाट लोडशेडिङ अन्त्य गरेको सन्देश दिने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले १ दिन भए पनि वैशाख छुवाइदिन प्राधिकरणसँग आग्रह गरे । यसअनुरूप गएको वैशाख ३१ गतेदेखि उद्योगका साथै देशैभरकै लोडशेडिङ अन्त्य भएको छ । सामाजिक सञ्जालमा धन्यवाद तिहारमा अवरोधरहित विद्युत् प्राप्त गरेको खुशीमा सर्वसाधारणदेखि विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्त्वहरूले समेत सामाजिक सञ्जालमार्फत प्राधिकरण र यसको नेतृत्वकर्ता कार्यकारी निर्देशक कुलमान घिसिङलाई धन्यवाद दिएका छन् । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले त गोरु जसरी जोतिएर असम्भव भनिएको कामलाई सम्भव तुल्याएको भन्दै गोरु तिहारको दिन घिसिङलाई धन्यवादका साथै शुभकामना दिए । त्यसपछि सामाजिक सञ्जालमार्फत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई गोरु भनेर शुभकामना र धन्यवाद दिने क्रम चलिरह्यो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)