ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूर्ण अनलाइन कारोबार प्रणालीमा अन्योल

Nov 13, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । लामो प्रतीक्षापछि भित्रिएको पूर्ण अनलाइन कारोबार प्रणाली प्रभावकारी नहुँदा सर्वसाधारण लगानीकर्ता यतिबेला अन्योलमा परेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले कात्तिक २० गते उद्घाटन गरेको विश्वस्तरीय भनिएको अनलाइन प्रणालीमा सोही दिनदेखि नै समस्या आएको थियो । सम्भवतः नयाँ प्रणालीलाई ‘सपोर्ट’ नगरेका कारण अनलाइन शुरू भएको दिनदेखि नै नेप्सेको वेबसाइटले काम गरेको छैन । केही ब्रोकर कम्पनीमा नयाँ सफ्टवेयर सञ्चालनमा समस्या देखिएकाले पनि लगानीकर्ताले कारोबार गर्न समस्या भएको गुनासो गरेका छन् । लगानीकर्ता स्वयम्ले आफ्नै हातबाट कारोबार गर्न पाउने प्रणाली लागू भए पनि यतिबेला धेरै लगानीकर्ताको हात खाली भएको अवस्था छ । तिहारको ३ दिनसहित ४ दिनको बिदापछि आइतवार खुलेको नेप्सेमा पुनः पहिलेकै समस्या देखिँदा लगानीकर्ता आक्रोशित भए । अनलाइन कारोबार प्रणालीलाई सञ्जीवनी बुटीका रूपमा लिएका लगानीकर्ता यसको फितलो कार्यान्वयनले निराश बनेका हुन् । पूर्ण अनलाइन लागू हुनुपूर्व मक ट्रेडिङसमेत गरी परीक्षण गरेको यो प्रणाली कार्यान्वयन भएकै दिनदेखि प्रभावकारी नहुनुमा लगानीकर्ताले प्रणाली निर्माण गर्ने कम्पनी र पूँजीबजारसम्बद्ध नियामक निकायको कमजोरी औंल्याएका छन् । समस्या समाधान भइसकेको छ : नेप्से नेप्सेले सोमवार विज्ञप्ति जारी गर्दै नयाँ प्रणाली स्थापनापछि लगानीकर्ताले सामना गरेको कारोबारको विवरण ‘रियल टाइम’मा हेर्न नपाउने मुख्य समस्या समाधान भइसकेको जानकारी दिएको छ । यो समस्या कारोबार प्रणालीसँग नभई कारोबारको विवरण प्रसारण गर्ने माध्यममा भएको नेप्सेले प्रस्ट्याएको छ । कारोबार प्रणाली र वेबसाइट छुट्टाछुट्टै डाटा सेण्टरमा सञ्चालन हुने उसको भनाइ छ । विज्ञप्तिअनुसार नेप्से कारोबार प्रणालीमा भएको विवरण एप्लिकेशन प्रोग्राम इण्टरफेसमार्पmत नेप्से वेबसाइटमा डिस्प्ले गर्दा डाटा एक्सचेञ्जमा केही समस्या भएकाले कारोबार विवरण पठाउन नसकिएकाले सर्वसाधारणले वेबसाइटबाट अद्यावधिक सूचना प्राप्त गर्न नसकेको हो ।
अम्बिकाप्रसाद पौडेल अध्यक्ष नेपाल इन्भेष्टर्स फोरम अनलाइन कारोबार प्रणाली सञ्चालन भएको तेस्रो दिनसम्म पनि लगानीकर्ताले सहज रूपमा कारोबार गर्न पाएका छैनन् । यसले लाखौं लगानीकर्ताको सम्पत्तिमाथि खेलबाड भएको छ । १४ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी पूँजीकरण भएको र १५ लाखभन्दा बढी लगानीकर्ता आबद्ध बजारमा हचुवाको भरमा काम हुनु दुःखद हो । जिम्मेवार निकायले यसको जिम्मेवारी लिई देखिएका प्राविधिक समस्या तत्काल समाधान गर्नुपर्छ । राधा पोखरेल अध्यक्ष नेपाल पूँजीबजार लगानीकर्ता सङ्घ लागू भएकै दिनदेखि नेप्सेलगायत ब्रोकर कम्पनीहरूमा समस्या देखिँदासमेत सम्बन्धित पक्ष मौन छ । नयाँ प्रणालीसँगै पुरानो प्रणालीलाई पनि लगेको भए तिहारको मुखमा लगानीकर्ताहरूले शेयर बेचेर खर्च जोहो गर्ने थिए होला । तर, यसो हुन सकेन । कसको कारणले यस्तो भएको हो, पहिचान गरी यथाशीघ्र कारबाही गर्नुपर्छ । नेप्से र धितोपत्र बोर्ड अभैm पनि कानमा तेल हालेर बसिरहन्छ भने १५ लाख लगानीकर्ता एकजुट भई कठोर कदम चाल्न बाध्य हुनेछन् । नवराज सुवेदी अध्यक्ष नेपाल पूँजीबजार सङ्घ अनलाइन कारोबार प्रणालीमा देखिएका थुप्रै गम्भीर त्रुटिलाई यथाशीघ्र सच्याउन अनुरोध गरेका छौं । नयाँ प्रणालीमा संस्थागत लगानीकर्ता ‘अपडेट’ नभएको पाइएको छ । उनीहरू सहभागी नभए बजारमा नराम्रो प्रभाव पर्छ । लाखौं लगानीकर्ताको अर्बौं लगानी रहेको पूँजीबजारलाई खेलौनाको रूपमा प्रयोग गरेको भान लगानीकर्तामा परेको छ । देखिएका समस्यालाई तत्काल समाधान नगरिए त्यसको विरुद्ध पूँजीबजार सङ्घ सशक्त रूपमा अघि बढ्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)