युवावस्थाका मानिसमा अचम्मको उत्साह र उमङ्ग हुन्छ । यो उमेरलाई सबैभन्दा आनन्ददायक समय मानिन्छ । तर, हालै गरिएको एक अध्ययनले भने एउटा फरक तथ्य सार्वजनिक गरेको छ । प्रिन्सटन विश्वविद्यालयका अनुसन्धाता ह्यान्स स्वाण्ड र उनको समूहले गरेको अध्ययनमा एकजना मानिस आफ्नो पूरै जीवनकालभरि २३औं र ६९औं वर्षमा सबैभन्दा बढी खुशी हुने तथ्य फेला परेको छ । ‘यसको एक सिद्धान्त के हो भने पूरा नभएका इच्छाहरुले जीवनको मध्य अवधिसम्म दुःख दिइरहन्छ तर उत्तराद्र्धमा भने मानिसहरुले यी सबै इच्छालाई त्यागेर बाँच्न सिकेका हुन्छन्,’ बेलायती पत्रिका डेली मेललाई अनुसन्धाता स्वाण्डले भने ।
स्वाण्ड र उनको समूहले यो अध्ययन जर्मनीका १७ र ८५ वर्ष उमेरका २३ हजार १ सय ६१ मानिसबीच गरेका थिए । अध्ययनकै क्रममा ५५ वर्षमा मानिसको खुशी न्यूनस्तरमा पुग्ने पाइएको छ । त्यो समयमा उनीहरु आफ्नो जीवनकालको अपूरो उपलब्धिबारे नकारात्मक विश्लेषण गर्ने भएकाले त्यो उमेरमा एकदम कम खुशी हुने स्वाण्डले बताए । करीब ६० वर्ष पुगेपछि पश्चाताप गर्न छाडेर विगतका गल्तीहरुलाई स्वीकार गर्न थाल्ने भएकाले खुशीको स्तर पनि बढ्दै जाने बताइएको छ ।
‘५० वर्षका मानिसहरुमा पश्चातापको भावना कम पाइने हुँदा उनीहरुले आफूभन्दा पाको उमेरका मानिससँग सिक्न सक्छन्,’ स्वाण्डले भने । त्यसैगरी, अपूरो चाहनाहरुबाट कुण्ठित हुनुभन्दा पनि समकक्षीका तुलनामा आफ्नो राम्रो अवस्था मनन गरेर खुशी रहने बानी बसाल्नुपर्ने उनले सुझाएका छन् । तर, ७० वर्षपछि भने मानिसको जीवनबाट खुशी पुनः हराउँदै जाने अध्ययनमा पाइएको छ । यो अध्ययन ‘सेण्टर फर इकोनोमिक परफर्मेन्स एट द लण्डन स्कूल अफ इकोनोमिक्स’को पछिल्लो अङ्कमा प्रकाशित भएको थियो ।