ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समूहमार्फत आत्मनिर्भर बन्दै महिला

Nov 15, 2018  
रोजगारी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल
रौतहट । रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरकी ३६ वर्षीया तसलिमा खातुन अहिले आत्मनिर्भर बनेकी छिन् । स्ट्रोम फाउण्डेशन नर्वेको आर्थिक सहयोग र साहस नेपाल रौतहटको समन्वयमा चुरा व्यवसाय गरेकी खातुनले अहिले दैनिक २ हजार कमाउने गरेकी छिन् । आशा स्वावलम्बन समूहमा रहेकी उनले साहस नेपालले ऋण दिएपछि व्यवसाय थालेकी थिइन् । पहिलोपटक ५ हजार, दोस्रोपटक ८ हजार र पछिल्लोपटक १४ हजार ऋण लिएर उनले चुरा व्यवसाय गरेकी हुन् । घरायसी काममा मात्र सीमित हुनुपर्ने महिलाले आर्थिक सहयोग पाए स्वरोजगारमूलक उद्यम गर्न सक्ने खातुनको बुझाइ छ । आफू करीब ४ वर्षदेखि समूहमा रहेकाले अहिले वित्तीय कारोबारसँगै आफ्नै व्यवसाय गर्न सक्षम भएको उनले बताइन् । ‘घरायसी काममा मात्र सीमित रहनुभन्दा व्यवसाय गर्नु उचित लाग्यो,’ उनले भनिन्, ‘परिवारको साथ र सहयोग पाएकाले साहस नेपालको समूहमा आबद्ध भएको हुँ ।’ उक्त समूहमा रहेर व्यवसाय थालेकी खातुनले नियमित बचतसमेत गर्दै आएकी छिन् । साथै, व्यवसायबाट प्राप्त आम्दानीले उनले छोराछोरीलाई शिक्षा दिनुका साथै विवाह गरी घरसमेत बनाइदिएकी छिन् । साहस नेपालले थोरै रकम दिएर ‘साहस’ नै दिएको उनले बताइन् । सानो रकमबाट थालेको उद्यमले आफ्नो जीवनमा उल्लेख्य परिवर्तन ल्याएको उनको अनुभव छ । मुस्लिम समुदायमा महिलालाई व्यवसायमा लाग्ने वातावरण नहुने भन्दै खातुनले यस्ता संस्थाले निर्माण गरेको समूह यस्ता चुनौतीको सामना गर्दै अघि बढेको बताइन् । सोही गाउँकी २२ वर्षीया अञ्जना चौधरी पनि साहस नेपालले गठन गरेको सृजनशील महिला समूहमा आबद्ध छिन् । उक्त संस्थाबाट १२ हजार ऋण लिएर सिलाइकटाइ पसल शुरू गरेको चौधरीले दैनिक २ हजारदेखि ३ हजारसम्म कमाउने गरेकी छिन् । आफ्नो पसलमा अहिले १ लाखभन्दा बढी लगानी भइसकेको उनले बताइन् । महिलाको आत्मनिर्भरता र जीविकोपार्जनका लागि साहस नेपालले काम गरिरहेको छ । अहिले समूहमा आबद्ध भएकाहरू वित्तीय पुहँचसम्म पुगेका छन् । उनीहरूको दिनचर्यामा परिवर्तन आउनुका साथै व्यक्तित्व विकाससमेत भएको सामाजिक परिचालक महेन्द्र माझीले बताए । घुम्ती कोषमा १५ देखि २५ हजार र व्यवसायमा १० हजारदेखि २५ हजार दिने गरेको उनको भनाइ छ । साहस नेपालले २१ ओटा समूह निर्माण गरेको छ । समूहमा आबद्ध अधिकांशको जीवनमा परिवर्तन आएको साहस नेपाल, रौतहटका फिल्ड अधिकृत मङ्गल साहले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)