सामान्यतया केही उच्चपदस्थ व्यक्तिलाई जेल सजाय तोकिँदा उनीहरुलाई अनेकन सुविधा उपलब्ध गराइनेबारे त हामीले सुन्दै आइरहेका छौं । तर, अमेरिकाको उत्तर क्यालिफोर्निया राज्यमा भने पैसावाल सामान्य कैदीहरु पनि तोकिएको निश्चित रकम तिरेर तारे होटलको जस्तो कोठामा बस्दै आइरहेका छन् । क्यालिफोर्नियाको फ्रिमोण्टस्थित एक जेलमा कैदीले प्रतिरात १ सय ५५ डलर तिरेपछि सुविधासम्पन्न कोठामा बस्न पाउँछन् । स्थानीय टेलिभिजन डब्ल्यूटीकेआरका अनुसार कैदीहरुले तिर्ने रकम तीनतारे होटलको जस्तै महँगो भएको बताइएको छ । ‘यस्ता कोठामा केबल टीभी पनि हुनेछ, तर कैदीहरुले तातो खानेकुरा भने पाउने छैनन्, ’फ्रिमोण्टको प्रहरी विभागका लेफ्टिनेण्ट मार्क डिभाइनले भने ।
यो कारागारमा अति शानदार कैदी पलङ्ग, साझा बाथरुम र सावरसमेत रहेको बताइएको छ । कैदी बस्ने कोठाहरुमा ‘एचडी वाइडस्क्रीन टीभी’लगायतका विभिन्न मनोरञ्जनात्मक साधनको समेत व्यवस्था गरिएको छ । यो कारागार सन् २००० मा निर्माण गरिएको हो । यसमा ५४ ओटा बेड राखिएको र यहाँ एकचोटिमा ९६ जनासम्म कैदी अटाउन सक्ने अपराधीले मात्र यस कारागारमा बस्न पाउने प्रावधान रहेको छ । यस्तोखाले कारागार अचम्मलाग्दो भए पनि दक्षिण क्यालिफोर्नियास्थित एनाहेइम र वेभर्ली हिलमा समेत पैसा तिरेर बस्ने यस्तैखाले योजनाहरु सञ्चालन भइरहेको फ्रिमोण्ट प्रहरी विभागले बताएको छ ।
न्य जेलहरुमा जस्तै गरी बस्नलाई कैदीले त्यत्रो ठूलो रकम किन तिर्ने भन्ने सवालमा यहाँको कारागार सानो र शान्त हुने तथा यसैका लागि बढी पैसा तिर्नुपर्ने डिभाइनले डब्ल्यूटीकेआरलाई बताए । क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनलाई राज्यस्थित कारागारमा बढ्दो कैदीको बोझलाई केही कम गर्ने प्रणालीको विकास गर्न गरेको आग्रहपछि उनले यो जुक्ति निकालेको बताइएको छ । यसले स्थानीय आर्थिक विकासमा उल्लेख्य टेवा पुर्याउने उनको भनाइ छ । कम्तीमा पनि १६ जना कैदीले हप्ताको दुई रात यो सुविधासम्पन्न कारागारमा बिताउँदा शहरलाई २ लाख ४४ हजारको वार्षिक लाभ हुने डिभाइनले क्यालिफोर्नियाको दैनिक पत्रिका स्याक्रोमेण्टो बीलाई बताएका छन् । यद्यपि, पैसा तिरेर सुविधासम्पन्न कोठामा बस्ने यस व्यवस्थाले धनाढ्य कैदीलाई प्राथमिकता दिने भन्दै अमेरिकाको स्वतन्त्र नागरिक सङ्घले यसको तीव्र आलोचना गरेको छ ।