ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशी कम्पनी लक्षित टेण्डर आह्वान प्रकरण : विवाद सर्वोच्च अदालतमा

Nov 18, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
काठमाडौं । कञ्चनपुरस्थित कमला सडक निर्माणको लागि नेपालको कम्पनीलाई बाहेक गर्नेगरी टेण्डर आह्वान गरिएको कार्य विवादित बनेको छ । सो टेण्डर आह्वान गर्दा विदेशी कम्पनीलाई मात्र लक्षित गरी सूचना प्रकाशित गरिएको थियो । यो विवाद सर्वोच्च अदालतसम्म पुगेको छ । कञ्चनपुरस्थित कमला सडक आयोजना, आयोजना निर्देशनालय, काठमाडौंद्वारा सो बोलपत्र आह्वान गरिएको थियो । त्यसका लागि नेपाललगायत ६७ मुलुक योग्य भएका उल्लेख गरिएको भए पनि ६ अर्ब ३६ करोड ९० लाख रुपैयाँ वार्षिक कारोवार गर्ने कम्पनीले मात्र सो आयोजनामा भाग लिनसक्ने उल्लेख गरिएको थियो । नेपालका कुनै पनि कम्पनीले सो रकम बराबरको कारोवार नगरेकाले उक्त आयोजनामा नेपाललाई बाहेक गर्न खोजिएको भनी आलोचना भएको हो । जनकपुर उपमहानगरपालिकामा दर्ता भएको रमण कन्स्ट्रक्शन प्रालिका सञ्चालक पवन महतोले दायर गरेको रिट निवेदनमा यस्तो प्रकारबाट टेण्डर आह्वान गरिएको कार्य संविधान तथा कानून विपरीत भएको दाबी गरिएको छ । उक्त आयोजना एशियाली विकास बैङ्कको ऋण सहयोगमा सरकारले निर्माण गर्न लागेको प्रक्रियागत दस्तावेजमा उल्लेख छ । टेण्डर प्रक्रिया सार्वजनिक खरीद ऐनको दायरभन्दा फरक किसिमबाट आह्वान गरिएको रीट निवेदनमा दाबी गरिएको छ । ऐनको दफा ५१ मा राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गर्दा बोलपत्र नपरे वा वैदेशिक सहायता वा स्रोतबाट विदेशी मालसामान खरीद गर्नु परेमा मात्र अन्तरराष्ट्रिय स्तरमा बोलपत्र आह्वान गर्नुपर्ने उल्लेख छ । रिट निवेदनमा उक्त सडकको लागि गरिएको टेण्डरबाट एकातिर नेपालका निर्माण कम्पनीले भाग लिन नसक्ने अवस्था भएको छ भने अर्कोतिर ठूलो धनराशि नेपालबाट बाहिरिने अवस्था देखिएको दाबी गरिएको छ । नेपालका कम्पनीहरूले सो सडकभन्दा लामो सडक निर्माण गरिसकेका रिट निवेदनमा उल्लेख छ । रिट निवेदनमा ती सडकहरू निर्माणका लागि टेण्डर आह्वान गर्दा नेपालका कम्पनीहरूलाई बाहेक गर्ने गरी शर्त नराखिएको तर यसपटक भने नेपालका कम्पनीलाई टेण्डर प्रक्रियामै भाग लिन नसक्ने गरी शर्त राखिएका बताइएको छ । सो सडक दुई चरणमा सम्पन्न हुने गरी योजना बनाइएको छ । पहिलो चरणमा हालको दुई लेनलाई चार लेनको बनाउने र दोस्रो चरणमा त्यसलाई सुधार गर्ने रहेको छ । सो सडक जम्मा ८७ किलोमिटरको रहेको तर धेरे नै लामोजस्तो देखाइएको बताइएको छ । नेपाली कम्पनीलाई बाहेक गर्ने गरी भएको सो कार्यले नेपालमा विदेशीहरूको चलखेल भएको दाबी रिट निवेदनमा गरिएको छ । नेपालमा पनि दक्ष जनशक्ति भएका कारण यसअघि विभिन्न आयोजनामा नेपाली कम्पनी तथा उनीहरूको सहभागितामा ‘ज्वाइन्ट भेन्चर’मा काम गरेका उदाहरणहरू रिट निवेदनमा प्रस्तुत गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)