ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कार्यक्रमस्थलको बीमा : जोखिम बढी, बीमा न्यून

Nov 21, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । बलिउड कलाकार रणवीर सिंह र दीपिका पादुकोण गत हप्तादेखि वैवाहिक सम्बन्धमा जोडिए । नोभेम्बर १४ र १५ गते इटालीको ‘लेक कोमो’मा उनीहरूको वैवाहिक कार्यक्रम सम्पन्न भयो । नोभेम्बर १४ मा कोंकणी र १५ मा सिन्धी रीतिरिवाजअनुसार उनीहरूको विवाह गरिएको थियो । रणवीर सिन्धी र दीपिका कोंकणी मूलकी भएका कारण दुवै प्रकारको रीतिरिवाजअनुसार विवाह गरिएको थियो । उनीहरूले ‘लेक कोमो’को विवाह कार्यक्रममा मात्र झण्डै २ करोड भारू खर्च गरेका थिए । उनीहरूको विवाहमा संगीत, नाचगानलगायतका कार्यक्रम पनि आयोजना गरिएको थियो । सोअनुसार उनीहरूले विवाहस्थलमा हुनसक्ने विविध जोखिमलाई दृष्टिगत गर्दै बीमासमेत गरेका थिए । उनीहरूले भारतीय बीमा कम्पनी ओरियन्टल इन्स्योरेन्समार्पmत विवाहस्थलको बीमा गराएका थिए । उक्त बीमालेखको अवधि नोभेम्बर १२ देखि १६ सम्म रहेको थियो । बीमालेखले विवाह कार्यक्रममा चोरी, विस्फोट, विमानयात्रा, भूकम्प, बाढी, आँधी र आगजनीजस्ता विपद्बाट हुने नोक्सानीको रक्षावरण गरेको थियो । उक्त बीमालेखले गरगहनाको समेत रक्षावरण गरेको बताइएको छ । यसरी विदेशमा विवाह, पार्टी, प्रदर्शनी, मेला, महोत्सव, कन्सर्टजस्ता कार्यक्रम (इभेन्ट) स्थलको बीमा गर्ने प्रचलन रहेको छ । तर, नेपालमा भने कार्यक्रम स्थलको बीमा गर्ने प्रचलनको अझै विकास हुन सकेको छैन । कार्यक्रम स्थलको बीमामा व्यावसायिक सम्भावना कम भएकाले यसको विकास हुन नसकेको बीमाविज्ञहरू बताउँछन् । बीमाविज्ञ भोजराज शर्माले नेपालमा कार्यक्रम स्थलको बीमा गर्ने भनेर मागसमेत नभएको दाबी गरे । उनका अनुसार नेपालमा समग्रमा कार्यक्रम स्थललाई नै रक्षावरण गर्ने गरी बीमालेख उपलब्ध छैन । यद्यपि, आवश्यक परेको अवस्थामा बीमालेख बनाउन बीमा समिति तयार रहेको उनको भनाइ छ । शर्मा बीमा समितिका सल्लाहकार पनि हुन् । सामान्यतया विवाह, पार्टी, मेला, महोत्सव, कन्सर्टजस्ता ठूला कार्यक्रम उच्च जोखिमयुक्त मानिन्छन् । त्यस्ता कार्यक्रममा हुने मानिसको भीड, हुलदंगा, झगडालगायतका कारणले विद्युतीय, फर्निचर, ध्वनि व्यवस्थाका उपकरणहरूमा क्षति पुगेको देखिन्छ । साथै, आगजनी, विस्फोट, चोरी, अज्ञात समूहद्वारा तोडफोड र मानवीय क्षति हुने सम्भावना पनि उत्तिकै रहन्छ । बीमाविज्ञ शर्मा विविध कारणले कार्यक्रमहरू जोखिमयुक्त हुँदा पनि बीमाको माग नहुनु दुःखद् पक्ष भएको बताउँछन् । उनले भने, ‘सामान्यतया कार्यक्रममा प्रयोग हुने विभिन्न सामग्री बढी मूल्यका हुन्छन् । यदि कुनै कारणवश ती सामग्रीमा क्षति पुग्दा आयोजकले ठूलो मात्रामा नोक्सानी ब्यहोर्नुपर्ने हुन्छ ।’ तसर्थ, त्यस्ता विपद्बाट हुनसक्ने नोक्सानीलाई आर्थिक रूपमा कम गर्न कार्यक्रम स्थलको बीमा अपरिहार्य रहेको उनको भनाइ छ । यस्ता विषयलाई दृष्टिगत गर्दै यस्तो बीमालाई पनि प्रचलन ल्याउनुपर्ने विज्ञहरूको सुझाव छ । विज्ञ शर्माका अनुसार कार्यक्रम स्थलकोे बीमाले भौतिक सामग्रीसँगै दर्शक घाइते भएमा पनि उपचार खर्च भुक्तानी गर्दछ । साथै, अग्रीम रूपमा बुकिङ गरेर होटलमा गरिने कार्यक्रम प्राकृतिक कारणले रद्द भएमा बुकिङ खर्च पनि बीमालेखले ‘कभर’ गर्ने उनको भनाइ छ । तर नेपालमा प्रदर्शनी/मेलाहरूको भने बीमा हुने गरेको पाइन्छ । गत असोजमा सम्पन्न ‘फर्नेक्स एक्स्पो–२०१८’ मा स्थलको पनि बीमा गरिएको थियो । बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले सामान्य रूपमा प्रदर्शनी मेलाहरूको बीमा हुने गरेको बताए । यद्यपि, त्यससम्बन्धी कुनै तथ्याङ्क भने नभएको उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)