हामी कार्यालयमा प्रायः खाजा खाँदा साथीसँग बाहिर जान मन पराउँछौं । तर, हालै गरिएको एक अध्ययनमा भने आफ्नो कार्यकक्षमा एक्लै बसेर खाजा खाने कर्मचारीको कार्यक्षमता बाहिर खान जाने व्यक्तिको तुलनामा बढी हुने गरेको पाइएको छ । बर्लिनस्थित हमबोल्ट विश्वविद्यालय र अन्य संस्थाका अनुसन्धानकर्ताको संयुक्त अध्ययनअनुसार दिउँसो खाजा खान साथीसँग बाहिर निस्कने कर्मचारीभन्दा डेस्कमा बसेर एक्लै खाजा खाने कर्मचारीले काममा बढी मन लगाउने गरेको पाइएको छ । यो अध्ययनमा सहभागीको ‘कग्निटिभ कण्ट्रोल’ र ‘न्यूरो फिजिकल मेजरमेण्ट’ को आधारमा मूल्याङ्कन गरिएको हो ।
सहभागीहरुमध्ये केहीले चाहिँ थोरै समयभित्रै कार्यालयको डेस्कमै बसेर एक्लै खाजा खाने गरेको र केहीले भने रेष्टुराँमा साथीसँग खाजा खान जाँदा घण्टौं बिताउने गरेका थिए । डेस्कमा बसेर खाने र रेष्टुराँमा गएर खाने व्यक्तिको खानेकुरा र खानाको मात्रा समान थियो । यद्यपि, डेस्कमा बसेर खाजा खाने व्यक्तिको तुलनामा रेष्टुराँमा गएर खाने व्यक्ति काममा त्यति जागरुक र इच्छुक नभएको पाइयो । त्यस्तै, साथीभाइको उपस्थिति, वरिपरिको वातावरण र समयसीमाको उपलब्धता इत्यादि भिन्नतामध्ये कुनचाहिँले यस्तो प्रभाव पारेको हो भन्ने छुट्ट्याउन भने गाह्रो भएको अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन् । उक्त अध्ययनको रिपोर्ट ‘प्लस वान’ जर्नलको पछिल्लो अङ्कमा प्रकाशित छ ।