ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समृद्धि पहिले माथिबाट ल्याऊ

Nov 23, 2018  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
राष्ट्रपतिका लागि यसो एउटा १८/२० करोड पर्ने गाडी किनेर दिने कि भन्ने प्रसङ्ग के चल्याथ्यो, सबै तिरबाट यसको विरोध पो शुरू भयो बा ! अब राष्ट्रपति जस्तो देशको प्रमुखलाई के साइकल किनेर दिने त ? देशलाई समृद्धितिर डोर्‍याउने भनिरा बेला देशमा एक जनालाई जाबो एउटा लामो गाडी किन्दिने कुरा मात्र गर्दा यत्रो कोकोहोलो किन होला ? ३ करोड जनतामा प्रत्येकले ६ रुपैयाँ दिए पनि एउटा राष्ट्रपतिका लागि एउटा नयाँ गाडी आइहाल्ने रैछ । त्यसैले, यति सानो कुरालाई पनि किन ठूलो बनाइरा होलान् गणतन्त्रका जनताले ? त्यस्तै, राष्ट्रपति बाटोमा गुड्दा जनतालाई अलि दुःख भयो भन्ने ठानेर सकेसम्म उड्ने नै व्यवस्था गर्ने पवित्र उद्देश्यले मौसुफका लागि हेलिकोप्टर ल्याण्ड गर्न पुलिसको तालीम केन्द्र अलि पर सार्ने कुरा मात्रै गर्दा त्यसको पनि त्यस्तै विरोध गर्छन् मानिसहरु । हुँदाहुँदा उपराष्ट्रपतिका लागि ठाउँ साँघुरो भएर समाज कल्याण परिषद् खाली गराउने कुरा गर्दा पनि त्यस्तै रोइकराइ छ । अब जनताकै बलिदानले बनेको संविधानअनुसार जनताकै छोराछोरी मध्येबाट बनाइएका राष्ट्रपति उपराष्ट्रपतिलाई यसो सुत्ने, उठ्ने, उड्ने र गुड्ने राम्रो व्यवस्था गर्न लाग्दा पनि यत्रो विरोध किन होला ? सोचाइ नै गरीबजस्तो भएपछि देशमा समृद्धि चैं कसरी आउला र खै ? अध्यात्ममा अरूलाई जति दियो उति आफूलाई आउँछ भन्छन् । पहिलेका मानिसहरु धार्मिक थिए र अध्यात्ममा धेरै विश्वास राख्थे । त्यसैले उनीहरु अरूलाई खुब दान दिन्थे रे । आफूसँग भएको सम्पत्ति सरकारलाई पनि दिन्थे रे । हिजोआज मानिसहरु अलि कम धार्मिक हुँदै गए जस्ता छन् । त्यसैले, आफ्नो सम्पत्तिबाट अलिकति दिन प¥यो भने साह्रै गाह्रो मान्छन् । त्यै भएर होला सरकारले जबर्जस्ती कर उठाउन शुरू गर्नु परेको । सरकारी कर्मचारीहरुले फाइल अघि बढाउन पनि जबर्जस्ती अतिरिक्त पैसा लिनु परेको । त्यसैले, दुःखका साथ भन्नुपर्छ देशमा दानवीरहरुको कमी हुँदै गएकोले तानवीर (अर्काको जबर्जस्ती तान्ने)हरु बढ्दै गएका हुन् ।
३ करोड जनतामा प्रत्येकले ६ रुपैयाँ दिए पनि एउटा राष्ट्रपतिका लागि एउटा नयाँ गाडी आइहाल्ने रैछ । यति सानो कुरालाई पनि किन ठूलो बनाइरा होलान् गणतन्त्रका जनताले ?
देशमा साँच्चिकै समृद्धि ल्याउने नै हो भने विगतदेखि हामीले गरेको रणनीति फेर्नुपर्छ । विगतमा बीपीदेखि मदन भण्डारीसम्मले वा विश्व बैङ्कदेखि कृषि विकास बैङ्कसम्मले गरीब र किसानलाई सहयोग गरेर माथि उठाउने कुरा गरे । महेन्द्रले गरीबीका रेखा मुनिकालाई माथि उकास्ने कुरा गरे, बीपीले हलो र झुपडीकालाई हेरेर नीति बनाउने कुरा गरे । पछिका सरकारहरुले त ‘गरीबसँग विश्वेश्वर’जस्ता कार्यक्रम नै ल्याए । तलबाट समृद्धि माथि ल्याउने भन्ने ती नीति नै गलत थिए भन्ने अहिले प्रष्ट भएको छ । अब ‘टप डाउन एप्रोच’ अर्थात् समृद्धि तलबाट माथि लाने नभई माथिबाट तल ल्याउन शुरू गर्नुपर्छ । त्यसअनुरूप राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु, ठूला व्यापारी, धनी मानिसहरु आदि हुँदै पछि तल गाविसको तल्लो कर्मचारीसम्मलाई पहिले धनी बनाउँदै लानुपर्छ । त्यसपछि बल्ल जनतामा जानुपर्छ । जनतामा पनि पढेलेखेका, पहुँच भएका, मन्त्री, नेताका अघिपछि गर्न सक्नेहरुलाई राजदूत, कुनै आयोग वा आयोजनाको प्रमुख पदहरु दिँदै, ठेक्कापट्टा सुम्पँदै उनीहरुलाई नै धनी बनाउँदै लानुपर्छ । त्यसमा मन्त्री, नेताका छोरा, छोरी, साला, साली, भाञ्जा, भाञ्जी आदि त स्वतः प्राथमिकतामा परिहाल्छन् । एवम् रितले समृद्धि माथिबाट तलतल झर्दै एक दिन सबै समृद्ध हुनेछन् । अहिले समृद्धिका महान् स्वप्नद्रष्टा वर्तमान प्रधानमन्त्री पनि ठीक यै मोडलमा समृद्धिलाई डोर्‍याउन चाहिरहेका छन् भन्ने देखिन्छ । तर, उनको यो महान् लक्ष्यलाई धेरैले बुझ्न सकिरहेका छैनन् । त्यसैले, उनले बेलाबेला ‘सरकारलाई कसैले पनि सहयोग गरेन’ भनेर दुखेसो पोखिरहेका हुन्छन् । समृद्धिका लागि यो ‘टप डाउन’ मोडल बुझाउन प्रमलाई गाह्रो परिरहेको भान हुन्छ । त्यसैले, देशमा कतिपय कुरामा समस्या परेजस्तो देखिन थालेको छ । उदाहरणका लागि, नेवानिले दुईओटा ‘वाइड बडी’ जहाज खरीद गर्दाकै कुरा हेरौं न ! विगतमा शानेवानि हुँदादेखि नै त्यहाँ सबैलाई मिलाएर खाने बानी थियो । जहाज किन्दा खाने बानी परेका कारण खाएर पनि जहाज चल्थ्यो र एक प्रकारले राम्रै चलिरहेको थियो । तर, अहिले वाइड बडी खरीद गर्दा भने खाने र ख्वाउने कुरामा ब्यालेन्स बिग्रिए जस्तो छ । स्वयम् मन्त्रीले जहाज खरीदका धेरै कुरा थाहा छैन भनिरहेका छन् । यसको मतलब उनले खानै पाएनन् वा खोजेजति पाएनन् । त्यसैले, अहिले नेवानि निकैै समस्याग्रस्त बनेको छ । ऊ समस्यामा पर्नु भनेको देशको ध्वजावाहक मात्र समस्यामा पर्ने नभई देशको पर्यटनलगायत अन्ततः देशको अर्थतन्त्रमै नकारात्मक असर पर्ने कुरा हो । अहिले नेवानिमा जस्तै समृद्धिको उल्टो यात्रामा गइरहेका थुप्रै उदाहरण छन् । किनकि, ती सबैमा एप्रोच नै गलत थियो । त्यसैले, अब तल्लो वर्गलाई धनी बनाउँदै लाने पुरानो नीति परिवर्तन गरेर माथिल्लो वर्गलाई पहिले धनी बनाउँदै लगेर पछि मात्र तल्लो वर्गमा जाने रणनीतिमा लाग्नुपर्छ । त्यसका लागि प्रत्येक नेपालीले आफूसँग भएको सम्पत्ति माथिल्ला पदका, माथिल्ला वर्गका मानिसहरूलाई दिन शुरू गर्नुपर्छ । बरु राष्ट्रपतिका लागि नयाँ गाडी किन्नकै लागि भनेर चन्दा उठाउन शुरू गरेर माथिबाटै समृद्धि ल्याउन शुरू गर्ने पो हो कि ?
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)