ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युतीय सवारी निर्माण गर्न चिनियाँ कम्पनीको ‘एसेम्बल प्लाण्ट’ : रू. ५ अर्बसम्म लगानीको सम्भावना

Nov 27, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । नेपालमा विद्युतीय सवारी सञ्चालनमा चासो बढ्दै गएपछि विदेशी अटो कम्पनीहरूले गाडी उत्पादनका लागि ‘एसेम्बल प्लाण्ट’ स्थापनामा चासो देखाएका छन् । चीनको सेचुवाँ गोहङ अटोमोबाइल्स् कम्पनी (बीएके) सम्बद्ध पदाधिकारीहरू प्लाण्ट स्थापनाको अध्ययनका लागि सोमवार नेपाल आइपुगेको कम्पनीको नेपालस्थित आधिकारिक विक्रेता सुन्दर यातायात प्रालिले जानकारी दिएको छ । सो टोलीमा प्राविधिक र मेकानिकल इञ्जिनीयर पनि भएको कम्पनीले बताएको छ । चिनियाँ कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चियनलिन ल्वो तथा पदाधिकारीहरू वेइहुवा पाई, फिङ फङ र योङगमन लि नेपाल आउने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । उनका अनुसार नेपालमा विद्युतीय गाडीहरू उत्पादन गर्ने विषयमा सो कम्पनीसँग छलफल भइरहेको छ । कम्पनीले काठमाडौं उपत्यकाबाहिर प्लाण्ट स्थापनाका लागि जग्गा पनि खोज्नेछ । चिनियाँ कम्पनीले गाडी उत्पादन प्लाण्ट स्थापना गर्न रू. २ अर्बदेखि रू. ५ अर्बसम्म लगानी गर्ने थापाले जानकारी दिए । कम्पनीले विद्युतीय सवारी साधनको सम्भावित बजारको अध्ययनका साथै प्लाण्ट स्थापनाका लागि आवश्यक जग्गा पनि खोज्ने स्रोतको भनाइ छ । साथै सडकको अवस्थाबारे पनि अध्ययन गर्ने बताइएको छ । अहिले नेपालमा यस्ता तयारी गाडी नै किन्ने गरिएको छ । प्लाण्ट स्थापनाले नेपालमै यस्ता गाडी तयार हुनुका साथै रोजगारीको अवसर पनि सृजना हुने विश्वास गरिएको छ । यसैबीच सुन्दर यातायात प्रालिले सोही कम्पनीबाट ल्याउने भनिएका विद्युतीय बसहरू केही दिनमै काठमाडौं आउने भएका छन् । १५ दिनभित्रै कम्पनीले तीनओटा विद्युतीय बस ल्याउने थापाले जानकारी दिए । सुन्दर यातायातले उक्त चिनियाँ कम्पनीमा निर्मित १३ ओटा विद्युतीय बस नेपाल ल्याउने तयारी गरेको छ । सोहीअनुसार पहिलो चरणमा तीन बस ल्याइने भएको हो । यातायात कम्पनीहरू सार्वजनिक विद्युतीय बसतर्फ आकर्षित हुँदै गएसँगै सुन्दर यातायातले काठमाडौं, पोखरा, बुटवल र चितवनमा गरी १३ ओटा विद्युतीय बस सञ्चालन गर्ने योजना अघि बढाइसकेको छ । प्रत्येक बस ४५ सीट क्षमताका हुनेछन् । ती बसका लागि कम्पनीले रू. २४ करोड ३१ लाख लगानी गरेको छ । विद्युतीय सवारी सञ्चालनमा चासो देखिए पनि अहिले विद्युतीय बस चार्जिङ स्टेशन भने नेपालमा छैन । तर, कम्पनीले चार्जिङ स्टेशन स्थापना गर्दै सोही चिनियाँ कम्पनीबाट नै ७ ओटा चार्जिङ मेशिन नेपालमा ल्याउने तयारी गरेको छ । त्यसमध्ये पाँचओटा चार्जिङ मेशिन केरुङसम्म आएको थापाले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)