ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक रोजगार : कामदार घट्दै, विप्रेषण बढ्दै

Nov 29, 2018  
रोजगारी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । केही वर्षयता वैदेशिक रोजगारमा जाने नेपाली कामदारको सङ्ख्या घटेको देखिए तापनि विप्रेषण (रेमिट्यान्स) आप्रवाह भने बढेको छ । नेपाल राष्ट्र बैङ्कले आइतवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) २०७५/७६ को पहिलो त्रैमासिक तथ्याङ्कले यस्तो देखाएको हो । उक्त तथ्याङ्कअनुसार केही वर्षदेखि वैदेशिक रोजगारमा जाने नेपाली कामदारको सङ्ख्या घट्दै गएको छ । तर, वैदेशिक रोजगारबाट आउने रेमिट्यान्समा भने वृद्धि भएको छ । तथ्याङ्कअनुसार चालू आवको ३ महीनामा वैदेशिक रोजगारमा जाने नेपाली कामदार ३६ दशमलव ७ प्रतिशत घटेका छन् । गत आवको सोहीअवधिको तुलनामा विदेशिने कामदारको सङ्ख्यामा कमी देखिएको हो । आव २०७४/७५ को पहिलो त्रैमासिक अवधिमा वैदेशिक रोजगार विभागबाट ९२ हजार ७ सय २२ जनाले श्रम स्वीकृति लिएका थिए । तर, चालू आवको समीक्षा अवधिमा भने वैदेशिक रोजगारीका लागि ५८ हजार ७ सय १३ जनाले श्रम स्वीकृति लिएका छन्, जुन गत आवको समीक्षा अवधिको तुलनामा ३६ दशमलव ७ प्रतिशत कम हो । गत आवको समीक्षा अवधिमा पनि विदेशिने नेपाली कामदारको सङ्ख्या २ दशमलव ६ प्रतिशत घटेको थियो । पछिल्लो समय नयाँ पुस्ताका जनशक्ति विद्यार्थी भिसामा अमेरिका, जापान, अष्ट्रेलिया, यूरोपलगायत देश जाने गरेकाका छन् । यसले पनि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेको सङ्ख्या घटेको देखिएको बताइएको छ । तथ्याङ्कले अन्तिम श्रम स्वीकृतिका आधारमा विदेश जाने नेपाली कामदारको सङ्ख्या घटेको विश्लेषण गरेको हो । यद्यपि, यही आधारमा विदेशिने नेपाली कामदार घट्यो भनेर विश्लेषण गर्न नहुने जानकारहरू बताउँछन् । वैदेशिक रोजगारका लागि प्रत्येक दिन सयौं नेपाली कामदार बाहिरिने गरेका छन् । तीमध्ये न्यून सङ्ख्यामा मात्र नेपाली कामदार स्वदेश आउने गर्छन् । यसले गर्दा नेपालमा विदेश जानयोग्य (उमेर, शीप, क्षमतालगायत न्यूनतम मापदण्ड पुगेका) जनशक्तिको कमी छ । त्यो अवस्थामा विदेश जाने नेपाली कामदारको सङ्ख्या घटेको विश्लेषण गर्नु उपयुक्त नभएको विज्ञहरूको तर्क छ । यस्ता विषयलाई दृष्टिगत गर्दै स्वदेश फर्किने नेपाली कामदारको पनि तथ्याङ्क सङ्कलन गर्नुपर्ने वैदेशिक रोजगार विहरूले सुझाएका छन् । विप्रेषण आप्रवाह बढ्दो समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३७ दशमलव ३ प्रतिशत बढेको छ । अघिल्लो आवको समीक्षा अवधिको तुलनामा विप्रेषण आप्रवाह बढेको हो । समीक्षा अवधिमा विप्रेषणमार्फत रू. २ खर्ब ४२ अर्ब १७ करोड रकम नेपाल भित्रिएको छ । गत आवको समीक्षा अवधिमा पनि विप्रेषण आप्रवाह २ दशमलव ६ प्रतिशत बढेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ दशमलव ५ प्रतिशत वृद्धि भएको छ । गत आवको समीक्षा अवधिमा यस्तो आप्रवाह ६ दशमलव ६ प्रतिशत बढेको तथ्याङ्कमा उल्लेख छ । यस्तै, समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३ दशमलव ४ प्रतिशत वृद्धि भएर रू. २ खर्ब ७० अर्ब ७३ करोड पुगेको तथ्याङ्कमा उल्लेख छ । नेपाली कामदार : कतारमा बढी, इजरायलमा कम तथ्याङ्कअनुसार वैदेशिक रोजगारमा जाने नेपाली कामदारमध्ये सबैभन्दा बढी कतार गएका छन् । यस समीक्षा अवधिमा २१ हजार ८ सय ७३ जना नेपाली कामदार कतार गएका छन् । जुन, यस समीक्षा अवधिमा वैदेशिक रोजगारमा जाने कुल कामदारको ३७ दशमलव ३ प्रतिशत हिस्सा हो । यस्तै, उक्त अवधिमा इजरायलमा सबैभन्दा कम नेपाली कामदार गएका छन् । प्रतिवेदनअनुसार यस अवधिमा इजरायलमा १५ जना नेपाली कामदार गएका छन् । मलेशिया जानेहरू घटे समीक्षा अवधिमा मलेशिया जाने नेपाली कामदारको सङ्ख्या ९२ दशमलव ४६ प्रतिशत घटेको छ । गत आवको समीक्षा अवधिमा ३१ हजार ५ सय २९ जना नेपाली कामदार मलेशिया पुगेका थिए । तर, चालू आवको समीक्षा अवधिमा भने २ हजार ३ सय ७७ जना मात्र त्यहाँ पुगेका छन् । उक्त समयमा नेपाल र मलेशियाबीच श्रम सम्झौता हुन नसक्दा त्यहाँ जाने नेपाली कामदारको सङ्ख्या घटेको बताइएको छ । यद्यपि, गत आवसम्मको तथ्याङ्कअनुसार मलेशिया जाने कामदारको सङ्ख्या सबैभन्दा बढी छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)