ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कहाँ पुग्दैनन् उनीहरू ! गाइड र भरियाका आफ्नै कथाव्यथा

Nov 29, 2018  
रोजगारी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
जीवनमा एक न एकपटक मानसरोवर पुग्नु नेपाल र भारतका साथै अब त विश्वभरका मानिसको पनि सपना हो । हिन्दू तथा बौद्धमार्गीको पवित्र तीर्थस्थल मानिने मानसरोवर पुग्न सके मृत्युपछि सुगति हुने विश्वास गरिन्छ । जवानीमा नसके बुढेसकालमा मर्नैका लागि मात्र भए पनि पुग्न चाहनेहरू पनि छन् । त्यति हुँदा पनि सबैलाई एकै पटकको मानसरोवर यात्रा पनि नजुर्न सक्छ । तर, रमाइलो कुरा यस्तो कुनै विश्वास र प्रयासविनै भरियाको काम गर्ने सोलुका बुद्धिबहादुर मगर ५० पटक मानसरोवर पुगिसकेका छन् । २०५० सालदेखि हालसम्म उनी पर्यटकको भरिया बनेरै यतिका पटक मानसरोवर पुगेका हुन् । त्यहाँ जानेमा सबैभन्दा बढी भारतीय पर्यटक हुने उनको अनुभव छ । विदेशी पर्यटकसँगै मुस्ताङको लोमान्थाङ पुगेका उनी ६५ वर्षको उमेरसम्म यो पेशा गर्न सक्ने आशा गर्छन् । विगत ४ वर्षदेखि ट्रेकिङ रूटबारे गाइड गरिरहेका हस्तबहादुर गुरुङ ३६ वर्षका भए । योबीचमा उनीले लगभग नेपालका सबै ट्रेकिङ रूटहरू छिचोलिसकेका छन् । यो पेशामा उनको भाषागत ज्ञानको महत्त्वपूर्ण भूमिका छ । गाइडको काम गर्न जति धेरै भाषा जान्यो, उति राम्रो हुने उनको अनुभव छ । ४ कक्षासम्म मात्र पढेका उनी भाषाको ज्ञानकै कारण गाइडको काम गर्न पाइरहेका छन् । ‘पहिले त गरेँ नि, भरिया पनि भएँ, क्याम्प खडा गरेर बसेको ठाउँमा खाना पकाउने कूक पनि भएँ, क्लाइम्बिङ गाइडको पनि काम गरेँ,’ आफ्नो मेहनतले भएको प्रगतिमा सन्तुष्टि व्यक्त गर्दै उनी भन्छन्, ‘त्यही बीचमा फ्रेञ्च भाषाको कोर्स गरेर अलिअलि बोल्न सक्ने भएपछि गाइडको काम थालेको हुँ ।’ नेपालमा आउने पर्यटकमध्ये फ्रेञ्च पर्यटकको सङ्ख्या उल्लेख्य रहेकाले उनको पेशा सुरक्षित छ । त्यसमाथि आफूले लिएर हिँडेका पर्यटकलाई बाटो देखाउने मात्रै नभई डाइनिङ हलमा खाना लगिदिने, तातोचिसो पानीको व्यवस्था गरिदिने साथै उनीहरूको आवश्यकतामा घरको सदस्यझैं लागिपर्ने उनको गजबको बानी छ । नम्र स्वभावका उनमा आफूले पढेको छैन भन्ने कुरा मनमा गहिरो गरी गढेको कुराकानीका क्रममा बुझिन्छ, जुन कमी पूरा गर्न उनी पर्यटकलाई कसरी उत्कृष्ट सेवा दिने भन्नेमा तल्लीन भएका देखिन्छन् । आम्दानी र सुविधा ‘कम्पनीले प्रतिपर्यटक २ हजारदेखि २ हजार ५ सय डलर लिन्छ,’ गाइड गुरुङ भन्छन्, ‘त्यसबाट हामी गाइडले पाउने खाना र सुत्नका लागि समेत गरेर दिनको ३ हजार रुपैयाँ हो ।’ भरियाको काम गर्नेहरूले खाने बस्ने सुविधाबाहेक दिनको १ हजार ५ सय पाउँछन् । सुविधातर्फ भरिया होऊन् वा गाइड, घाइते भए उपचार र औषधि खर्च कम्पनीले नै बेहोर्छ । सम्बन्धित घटनास्थलबाट दुवैको सित्तैमा उद्धार गरिन्छ । ‘काममै भएको बेला मृत्यु भयो भने १५ लाख रुपैयाँ बीमाको पैसा परिवारले पाउने व्यवस्था छ,’ भरियाको काम गर्ने सार्की नेकोर (तामाङ) भन्छन् । भरियाका लागि होटलहरूले बस्ने खाने व्यवस्था अत्यन्त कम मूल्यमा गरेका हुन्छन् । होटलवालाहरू पनि चलाख छन्, खाना र वासका लागि पर्यटक र भरियालाई आफ्नो होटलमा ल्याउने गाइडलाई सित्तैमा खान–बस्न दिन्छन् । यो व्यवस्था लगभग सबैजसो ठाउँमा हुन्छ । तर, पनि यो क्षेत्रमा काम गर्ने गाइड वा भरिया, सबैले कमाएका सबै पैसा घर पुग्दैनन् । धेरैजसोको कमाइको ५० प्रतिशत पनि घर नपुग्ने उनीहरू नै बताउँछन् । ट्रेकिङमा हिँड्दा रक्सी खाने, तास खेल्ने गरेर धेरै पैसा सकिन्छन् । आफ्नो यस्तो बानी छाडेर पैसा जोगाउन तिर लाग्नुको साटो बरु आफै विदेशतिर लाग्ने सोचमा छन् केही ।

गर्व पनि छ पेशाप्रति नेपालीहरू हजारौं र विदेशीहरू लाखौं रुपैयाँ खर्च गरेर पुग्ने ठाउँहरू गाइड र भरिया सित्तैमा पुग्छन् । ‘सित्तैमा मात्रै होइन उल्टै पैसा पनि पाइन्छ,’ उपल्लो मुस्ताङको समरबाट उकालो लागेपछि देरालीमा भारी बिसाएको बेला गोरखा लाप्राकका २० वर्षीय हरिमान गुरुङले भने । १२ कक्षा पार गरेका उनी पढाइ पनि अघि बढाउँदै सकेसम्म यसै क्षेत्रमा काम गर्ने सोचमा छन् । दिनभर भारी बोकेर वासमा पुगेपछि पनि गाइडसँगै लागेर पर्यटकको व्यवस्थापनको काममा सघाइरहेका देखिन्थे उनी । ‘एक दुईओटा भाषा सिकेर विस्तारै गाइडको काम गर्ने सोच छ,’ गिलिङमा एउटै होटलमा वास परेका बेला उनले आफ्नो योजना सुनाए । मौसमी पेशाको चुनौती र विदेश भरियाको काम गर्ने रसुवाका २४ वर्षीय छिरिङ लामा कुवेत जाने तयारीमा छन् । उता भए कमाएको पैसा पठाइन्छ र बचत हुन्छ भन्ने उनको आशा छ । गरिरहेको पेशामा कमाइ राम्रो हुने हो भने पनि विदेश गइरहनु नपर्ने उनको धारणा छ । त्यसमाथि पर्यटन मौसमी पेशा भएका कारण यसबाट निरन्तर आम्दानी हुने अवस्था पनि छैन । तर, सोलुका बुद्धिबहादुर मगर भने भरिया पेशाको मौसमी चुनौती सामना गर्न वैकल्पिक पेशाका रूपमा वाल पेण्टिङ गर्छन् । पहिले केही वर्ष खाडी मुलुकमा काम गरेर आएका उनी काम गर्न खाडीभन्दा नेपाल धेरै राम्रो रहेको बताउँछन् । पहिले भारत तथा बङ्गलादेशमा काम गरेर फर्किएका भरियाको काम गर्ने रसुवाका ३२ वर्षीय मिङ्मा छिरिङ पनि अब नेपालमै बस्ने सोचमा छन् । ‘हिँड्न सकुञ्जेल यहीँ काम गर्छु,’ उनले निर्धक्कसाथ भने, ‘कमाइको करीब ७० प्रतिशत जोगिन्छ, यसबाटै यतै केही गर्ने तर विदेश चाहिँ जान्न ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)