ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एउटै हात्तीले लियो ७ को ज्यान, जङ्गली हात्तीको आक्रमणबाट त्रस्त दैनिकी, दिशा पिसाब पनि घरभित्रै

Dec 1, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल
मङ्सिर १५, माडी (चितवन) । चितवनको माडी प्राकृतिक दृष्टिले जति शुन्दर र रमणीय लाग्छ, यहाँको दैनिकी त्यति नै त्रासदीमा बाँचेको छ । ४ गाविस गाभेर बनाइएको माडी नगरपालिकाको साविक अयोध्यापुरीका बासिन्दाको त्रासको मुख्य कारण अरू केही नभएर जङ्गली जनावरको आक्रमण हो । चारैतिर घना जङ्गल र पहाडले घेरिएको यो शुन्दर वस्तीका बासिन्दा भने पटकपटक जङ्गली हात्ती र बाघको आक्रमणमा पर्दैआएका छन् । कुनै बेला सुगम जिल्लाको दुर्गम बस्तीको उपनाम पाएको माडीमा अहिले सडक, बिजुली बत्ती, सञ्चार सबै पुगेको छ । दिनभरि हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यतालाई सडकमा दौडिने दर्जनौं सवारी साधनले समाधान दिएका छन् । अहिले सदरमुकाम भरतपुरबाट एक घण्टामा माडी पुग्न सकिन्छ । घरघरमा झिलिमिली बिजुली र हातहातमा मोबाइलले दैनिकीलाई भौतिकरुपमा सहज देखाउँछ । तर, जङ्गली जनावरको आक्रमणबाट ज्यान गुमाउनुपर्ने विडम्वना र पीडा भने उस्तै छ । स्थानीय बासिन्दा पटकपटक जीवन रक्षाको माग गर्दै आन्दोलित हुनु परेको छ । राज्य आश्वासनमात्र दिन्छ । लाग्छ–माडीको पीडामा राज्यको भूमिका रमितेबाहेक अन्य छैन । भनिन्छ–गाउँगाउँमा सिंहदरवार पुगेको छ । स्थानीय सरकारका सञ्चालक नै सुरक्षा माग्दै सडकमा उत्रिनुपरेको दृष्यले यो नारामा मात्र सीमित भएको भान हुन्छ । गत बुधवार चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको हात्तीको आक्रमणमा परी माडी वडा नम्बर ९ का २ जना महिलाको ज्यान गएपछि वडाध्यक्ष शिवहरि सुवेदीले नै सडक आन्दोलनको नेतृत्व लिनु प¥यो । स्थानीयले २ दिनसम्म भरतपुर–माडी–ठोरी सडक अवरुद्ध पारे । निकुञ्ज प्रशासन र स्थानीयबीच सहमति भयो । हात्ती आक्रमणमा परी अकालमै ज्यान गुमाएका ३५ वर्षीया सुशीला भण्डारी र ६२ वर्षीया कृष्णकली पौडेल जैशीको अन्त्येष्टि गरियो । तर, स्थानीयको त्रास भने अझै अन्त्य हुन सकेको छैन । साँझ पर्दा नपर्दै गाउँ पस्ने हात्तीको डरले उनीहरू सम्साँझै आआफ्नो घरमा पस्छन् । कतिपयले शौचसमेत घरभित्रै गर्छन् । भण्डारी र पौडेलमात्र होइनन्, माडीमा जङ्गली जनावरको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या दर्जनौं पुगिसकेको छ । यसवर्षमात्रै हात्तीको आक्रमणमा ३ जनाको मृत्यु भइसकेको छ । केही समयअघि ९ नम्बर वडाकै बगइमा बाघको आक्रमणमा एक जनाको ज्यान गएको थियो । वडाध्यक्ष सुवेदी वर्षौदेखि हात्ती, बाघ र गैंडाले स्थानीयको ज्यान लिएको बताउँछन् । सरोकारका निकाय जनावार नियन्त्रणमा उदासीन भएको आरोप सुवेदीको छ । ‘राज्यले अहिलेसम्म हाम्रो पीडालाई महसुस गरेकै छैन’, वडाध्यक्ष सुवेदीले भने, ‘जीवन रक्षाको माग गर्दै ७/८ पटक निकुञ्ज कार्यालय पनि घेर्यौं, तर समाधान पाइएको छैन ।’ स्थानीयको खेत निकुञ्जसँग जोडिकाले जङ्गली जनावर पसेर खेती सखाप पारेको सुवेदीले बताए । दुःख गरेर लगाएको वालीनाली भित्र्याउन नपाइएकोमात्र होइन, जनावरको आक्रमणमा कुन बेला कसको ज्यान जान्छ भन्ने डरमा बस्नु परेको स्थानीय बताउँछन् । स्थानीय प्रेम आचार्य अयोध्यापुरीका बासिन्दाको जीवन सुरक्षाका लागि राज्यसँग सुरक्षित ठाउँमा स्थानान्तरणको माग गर्छन् । ‘कि जनावर रोकिदिनुप¥यो, होइन भने सुरक्षित ठाउँमा स्थानान्तरण हुन पाउनुप¥यो,’ आचार्यले भने । मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि भन्दै निकुञ्जले सीमाना जोडिएका ग्रामीण क्षेत्रमा उपभोक्ता समिति परिचालन गरेको छ । तर, समितिका अगुवाहरू सञ्चालित कार्यक्रमबाट सन्तुष्ट छैनन् । टम्टा–अनार सामुदायिक वन समितिका अध्यक्ष प्रेमप्रसाद भण्डारी जङ्गली जनावर नियन्त्रणका प्रयास प्रभावकारी नभएको बताउँछन् । ‘जनावर रोक्न लगाइएका काँडेतार र विद्युतीय धरापसमेत सफल भएनन्,’ अध्यक्ष भण्डारीले भने, ‘अब निकुञ्ज र बस्तीको सीमानामा पर्खाल लगाउनुको विकल्प छैन । अहिले ड्याम बाँधेर जाली र विद्युतीय धरापको काम भइरहे पनि नियन्त्रणमा स्थानीय विश्वस्त छैनन् । ‘निकुञ्जलाई शानको विषय बनाएर संरक्षण गरिन्छ । तर, त्यही निकुञ्जका जनावरबाट मानवीय र धनजनको क्षति हुँदा राज्य रमितेमात्र बनेको छ,’ वडाध्यक्ष सुवेदीले भने । पछिल्लो घटनापछि चितवन राष्ट्रिय निकुञ्ज समस्याको निकासमा केही चनाखोजस्तो देखिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले अल्पकालीन र दीर्घकालीन समाधान खोजिने बताए । मृतकका परिवारलाई क्षतिपूर्ति, बालबालिकालाई शिक्षा र प्रभावित परिवारलाई रोजगारी दिने सहमति भएको ढकालले जानकारी दिए । नगरपालिकाले मृतक शुशीलाका २ जना छोराछोरीलाई शिक्षाका लागि ५ लाख रुपैयाँको कोष निर्माण गर्ने वडाध्यक्ष सुवेदीले बताए । आक्रामक हात्तीलाई नियन्त्रण गर्ने सहमति पनि भएको छ । ‘सुरक्षा निकाय र निकुञ्जको पहलमा ड्याटिङ गरेर दारा काट्ने र स्याटलाइट कलर लगाउने सहमति भएको छ,’ संरक्षण अधिकृत ढकालले भने ‘त्यति गर्दा पनि गाउँ पस्यो भने कानूनी प्रक्रिया पु¥याएर हात्तीलाई मार्ने सहमति छ ।’ निकुञ्जका जनावरलाई गाउँ पस्न नदिने खालका वृहत संरचना निर्माणका लागि सरकारलाई आग्रह गरिने भएको छ । माडी क्षेत्रमा अन्य मध्यवर्ती क्षेत्रभन्दा बढी कार्यक्रम लैजाने गरी ऐन कानून संशोधनका लागि पहल गर्ने सहमति पनि भएको प्रमुख संरक्षण अधिकृत ढकालले आर्थिक अभियानलाई बताए । ‘राज्यले दिने क्षतिपूर्तिलाई छरितो बनाउन एक महीनाभित्र क्षतिपूर्ति पाउने व्यवस्था मिलाइनेछ,’ उनले भने । पर्साको पनि उस्तै पीडा :- निकुञ्जसित जोडिएको पर्साको ठोरी गाउँपालिकाको मुख्य समस्या जङ्गली जनावर नै भएको निर्मल–ठोरी उपभोक्ता समतिका अध्यक्ष स्वस्थानी बिष्टले बताए । एक महीनामै ठोरीमा जङ्गली हात्तीले ३ जनाको ज्यान लिएको उनले बताए । जङ्गली जनावर बस्तीमा पसेर आतङ्क मच्चाउने र बालीनाली सखाप पार्दा संरक्षणको औचित्यमै प्रश्न उठेको विष्टको दाबी छ । ७ जनाको ज्यान लिने हात्ती एउटैः- चितवन र पर्सामा ७ जनाको ज्यान लिने हात्ती एउटै भएको पर्सा निकुञ्जले बताएको छ । सहायक संरक्षण अधिकृत अशोक रामले गणेश नाम गरेको हात्ती गाउँ पसेको र आक्रमण गरेको बताए । हात्तीले केही दिनघि ठोरीमा तीन जना, पर्साकै घोडेमसानमा एक र चितवनको माडीमा ३ जनालाई मारेको छ । उत्तेजित हात्तीलाई नियन्त्रणको प्रयास भइरहेको सहायक संरक्षण अधिकृत रामले बताए । हात्तीकै बारेमा विद्यावारिधी गरिरहेका उनले अक्रामक हात्तीलाई नियन्त्रणमा लिई स्याटलाइट कलर हाल्ने प्रयास भइरहेको बताए । ‘यो हात्ती अहिले निकुञ्जमा बसेको सूचना आएको छ । स्याटलाइट कलर हालेपछि यसको अवस्थिति पत्ता लगाएर नियन्त्रण सहज हुन्छ,’ उनले भने ।  
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)