ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वायुसेवा प्रदायक कम्पनी : आन्तरिक उडान क्षमता वार्षिक १ लाख

Dec 2, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
  • बुद्ध एयरको वर्चस्व, गति लिँदै यती
  • कम्पनीहरू थपिँदै जाँदा हवाई सेवा विस्तार
काठमाडौं । नेपाली वायुसेवा कम्पनीहरूको वार्षिक आन्तरिक उडान क्षमता १ लाखको हाराहारीमा देखिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयको तथ्याङ्कअनुसार त्यस्तो देखिएको हो । तथ्याङ्कअनुसार विमान तथा हेलिकोप्टर कम्पनीहरूले सन् २०१७ मा ९३ हजार १ सय ७ पटक उडान गरेका छन् । यस्तै सन् २०१८ को १० महीनामा विभिन्न कम्पनीले ७७ हजार ९ सय ९ पटक उडान गरेका छन् । उक्त कार्यालयका अनुसार सन् २०१८ को २ महीना बाँकी नै रहेकोले उडान सङ्ख्या बढ्ने निश्चित छ । त्यसबाहेक विशिष्ट व्यक्तिहरूको उडान (भीभीआइपी) का साथै नेपाली सेना र चार्टर उडानलाई समेत जोड्दा वार्षिक उडान १ लाख पुग्छ । नयाँ वायुसेवा कम्पनीहरू थपिँदै जानु र पुराना कम्पनीहरूले पनि जहाज थप्नुका कारण वार्षिक उडान क्षमता बढेको हो । सन् २०१४ मा १७ ओटा विमान कम्पनीसहित अन्यले वार्षिक ६८ हजार ५ सय ३६ पटक उडान गरेका थिए । सो वर्ष १४ लाख ५० हजार ५ सय ५८ यात्रुले हवाई सेवा प्रयोग गरेका थिए । तथ्याङ्कअनुसार सन् २०१८ को अक्टोबरसम्ममा भीभीआइपी, चार्टरसमेत गरी २२ ओटा कम्पनीमार्फत ७७ हजार ९ सय ९ पटक उडान भएको छ ।

यस अवधिमा २३ लाख ८ सय ५६ यात्रुले हवाई सेवा लिएका छन् । यो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने प्रस्थान र आगमनको तथ्याङ्क हो । आन्तरिक उडान क्षमतामा विस्तार भएसँगै यस क्षेत्रमा लगानीका लागि चासो पनि बढ्दै गएको छ । अहिले सौर्य, यती, बुद्ध, नेपाल वायुसेवा निगमलगायत विमानसेवा कम्पनीहरू सीट क्षमता विस्तार गर्ने क्रममा छन् । केही कम्पनी ८२ सीट क्षमताका जहाजहरू सञ्चालन गर्ने योजनामा छन् । हाल सञ्चालनमा रहेका अधिकांश वायुसेवा कम्पनीको जहाजको सीट क्षमता ४८ देखि ५० सम्म रहेको छ । तथ्याङ्कले आन्तरिक उडानमा बुद्ध एयरलाइन्सको वर्चस्व रहेको देखाउँछ । सन् २०१७ मा २९ हजार ६ सय ७२ पटक उडान गरेको बुद्धले सन् २०१८ को अक्टोबरसम्ममा २३ हजार ५ सय ९४ पटक उडान गरेको छ । यती एयरलाइन्सले पनि उडान क्षमता बढाउँदै लगेको छ । सन् २०१७ मा ६ हजार १ सय ६ पटक उडान गरेको यतीले सन् २०१८ को १० महीनामा १५ हजार ८ सय ४० पटक उडान गरिसकेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)