अस्तव्यस्त र फोहोर डेस्कमा बसेर काम गर्न कसलाई पो मन लाग्ला र ? काम गर्ने वातावरण स्वच्छ र सफा होस् भन्ने हामी सबैको चाहना हुन्छ । तर, सफा र व्यवस्थित डेस्कमा बसेर काम गर्दाभन्दा अव्यवस्थित डेस्कमा बसेर काम गर्नाले रचनात्मक सोचाइ र प्रेरक विचारलाई प्रोत्साहन मिल्ने हालै गरिएको एक अध्ययनले देखाएको छ । अमेरिकास्थित मिन्नेसोटा विश्वविद्यालयका मनोवैज्ञानिक क्याथलिन भोस र उनका समकक्षीले गरेको संयुक्त अध्ययनमा यस्तो पाइएको हो । काम गर्ने कोठा व्यवस्थित र अव्यवस्थित हुँदा हुने फाइदा पनि फरक हुने उनीहरुको ठहर छ ।
‘सफा ठाउँमा बसेर काम गर्ने मानिसहरु आपराधिक गतिविधिमा संलग्न नहुने, राम्रो कामप्रति मात्र ध्यान दिने र बढी उदार खालका हुन्छन्,’ भोसले भनिन् । तर, अव्यवस्थित ठाउँमा बसेर काम गर्नाले महत्वपूर्ण परिणामहरु निस्कने अध्ययनले देखाएको उनले बताइन् । अध्ययनका क्रममा शृङ्खलाबद्ध प्रयोगहरु गरिएका थिए । यसैक्रममा सहभागीहरुलाई केही प्रश्नावलीहरु भर्न लगाइएको थियो । यसो गर्दा केही सहभागीहरु सफा र व्यवस्थित स्थानमा त केहीले चाहिँ फोहोर, चारैतिर कागजपत्र छरिएको अव्यवस्थित ठाउँमा बसेर प्रश्नावलीहरु भरेका थिए । दोस्रो प्रयोगमा उनीहरुलाई च्यारिटीमा दान गर्न लगाइएको थियो भने तेस्रोमा चाहिँ उनीहरुलाई खाजाका रुपमा चकलेट र स्याउ खान लगाइएको थियो । फोहोर कोठामा बसेर काम गर्ने व्यक्तिको तुलनामा सफा कोठामा बसेर काम गर्ने व्यक्तिले बढी दान दिन चाहेको अध्ययनमा पाइएको छ । त्यस्तै, उनीहरुले खाजामा पनि चकलेटको सट्टा स्याउ रोजेका थिए ।
यसैक्रममा गरिएको अर्को परीक्षणमा सहभागीहरुलाई टेनिस बललाई नयाँ तरीकाले प्रयोग गर्न भनिएको थियो । सफा डेस्क र फोहोर डेस्कमा बस्ने सहभागीहरुको अवधारणा सङ्ख्यात्मक हिसाबमा उस्तै रहे पनि फोहोर डेस्कमा बस्नेले अघि सारेको अवधारणा बढी रचनात्मक र चाखलाग्दो पाइएको थियो । ‘अव्यवस्थित वातावरणमा काम गर्ने बढी रचनात्मक पाइएको छ, यो कम्पनी, उद्योग र समाज सबैले चाहने कुरा हो, ’भोसले भनिन् । त्यसैगरी, सहभागीहरुलाई नयाँ र पुरानो उत्पादन छान्न लगाइएको थियो, जसमा अस्तव्यस्त कोठामा बसेर काम गर्नेले नयाँ उत्पादन रोजेका थिए । यसले अस्तव्यस्त वातावरणले मानिसहरुलाई परम्परा तोड्न प्रेरणा दिनुका साथै नयाँ अवधारणाहरु सृजना गर्न प्रोत्साहन दिने देखाएको भोसको दाबी छ । उता, सफा कोठामा बस्नेहरुले परम्परालाई निरन्तरता दिन चाहेको उनले बताइन् । यो अध्ययनसम्बन्धी प्रतिवेदन ‘एशोसिएशन फर साइकोलोजिकल साइन्स’को पछिल्लो अङ्कमा प्रकाशित भइसकेको छ ।