ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एच–वनबी भिषामा आवेदन प्रक्रियामा परिवर्तनको प्रस्ताव : बढी दक्ष र धेरै तलब पाउने विदेशीलाई मात्रै भिषा

Dec 4, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले एच–वनबी भिषाको आवेदन प्रक्रियामा महत्त्वपूर्ण परिवर्तन गर्ने प्रस्ताव गरेको छ । शुक्रवार गरिएको सो प्रस्तावमा विदेशी कामदार ल्याउने चाहने कम्पनीहरूले तोकिएको अवधिभित्र आफ्नो आवेदन अमेरिकाको आप्रवासन प्रणाली हेर्ने निकाय नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस)मा अनलाइन दर्ता गर्नुपर्नेलगायत प्रावधान छ । यसअघि भने आवेदन कागजमै बुझाउनुपथ्र्यो । बढी दक्षता भएका र सबैभन्दा धेरै तलब पाउने विदेशी कामदारलाई मात्रै उक्त भिषा दिने उद्देश्यले पछिल्लो परिवर्तन प्रस्ताव पेश गरिएको हो । अमेरिकी संसद्ले एच–वनबी भिषा कार्यक्रमअन्तर्गत १ वर्ष बढीमा ६५ हजार भिषाको सीमा राखेको छ । यसमा अमेरिकाको उच्च शिक्षाप्रदायक निकायबाट डिग्री वा उच्च शिक्षा प्राप्त गरेका विदेशीका तर्पmबाट दिइएको पहिलो २० हजार आवेदनलाई ६५ हजार भिषाको सीमामा छूट दिइँदै आएको छ । यसअघिका वर्षहरूमा एच–वनबी भिषाको लागि आवेदन शुरू भएको ५ दिनमै एच–वनबीको सीमा र उच्च शिक्षासम्बन्धी छूट दुवैको निर्धारित सङ्ख्याभन्दा धेरै आवेदन आउने गर्थे । उच्च शिक्षासम्बन्धी छूट पाउने भिषाको चयन एच–वनबीको सीमा नाघ्नुभन्दा पहिला नै भइसक्थ्यो । तर, पछिल्लो प्रस्तावले चयन प्रक्रिया उल्ट्याउनेछ । निर्धारित सङ्ख्या पुग्ने गरी एच–वनबी भिषाको आवेदन आएपछि मात्रै डिग्री छूटका लागि आवेदन चयन शुरू गरिनेछ । नयाँ प्रस्तावअनुसार अमेरिकाबाट उच्च शिक्षा प्राप्त गरेको आवेदकलाई ६५ हजारको भिषा सीमामा छूट दिने वा नदिने भन्ने अधिकार यूएससीआईएसमा निहित हुनेछ । यसले अमेरिकी संस्थाबाट उच्च शिक्षा प्राप्त भएकाहरूको चयन हुने सम्भावना पनि बढाउने अमेरिकाको गृह मन्त्रालय (डीएचएस)ले एक विज्ञप्तिमा भनेको छ । डीएचएसका अनुसार पछिल्लो प्रस्तावले एच–वनबी भिषामा अमेरिकी डिग्री भएकाहरूको सङ्ख्या १६ प्रतिशतसम्म अर्थात् ५ हजार ३ सय ४० बढाउनेछ । पछिल्लो प्रस्तावमा सार्वजनिक रूपमा टीकाटिप्पणी गर्ने म्याद डिसेम्बर ३ देखि जनवरी २ सम्म राखिएको छ । विद्युतीय दर्ताले आवेदकहरूको आवेदन लागत घटाउनेछ । यसले एच–वनबी भिषाको सीमालाई प्रभावकारी पनि बनाउने आशा गरिएको छ । ट्रम्पले गतवर्ष नै डीएचएसलाई नयाँ कानून ल्याउन आदेश दिएका थिए । अमेरिकामा नेपाली प्रविधि कम्पनीहरू नगण्य छन् । तर, हालैका वर्षमा अमेरिकामा नेपाली पढ्न जाने क्रम बढेसँगै त्यहाँका प्रविधि कम्पनीहरूले एच–वनबी भिषाका लागि नेपालीको चयन गर्ने क्रम पनि बढेको छ । पछिल्लो परिवर्तनले हाल अमेरिकामा उच्च शिक्षा प्राप्त गरिरहेका नेपाली पनि लाभान्वित हुने देखिएको छ ।

के हो एच–वनबी भिषा ? एच–वनबी भिषा अस्थायी भिषा कार्यक्रम हो । यस भिषाको प्रयोग गरी अमेरिकी प्रविधि कम्पनीहरूले अमेरिकी कामदार अभाव रहेको सैद्धान्तिक वा प्राविधिक विज्ञताको खाँचो पर्ने पेशामा विदेशी जनशक्ति ल्याउन सक्छन् । हरेक वर्ष अमेरिकी कम्पनीहरूले यही कार्यक्रमको आडमा भारत, चीनलगायत देशहरूबाट हजारौं कर्मचारी भर्ती गर्दै आएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)