ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बढ्दो छ नेपालको गौरव

Dec 7, 2018  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
जसले जेसुकै भने पनि नेपालको गौरव दिन प्रतिदिन बढ्दो छ । खासगरी वर्तमान सरकार र यसका प्रमुख नेता प्रधानमन्त्री श्री ३ ओलीले नेपालीको शिर उँचो बनाउन कुनै कसर छाडिबक्सेको छैन । सरकारमा पदासीन भएयता उहाँले प्रत्येक हप्ता केही न केही क्रान्तिकारी घोषणा गरेर नेपालको गौरव बढाउने काम गरिरहनु भएकै छ । अघिल्लो हप्ता पत्रिका र बिजुलीका पोलमार्फत श्रमिकका लागि सामाजिक सुरक्षा योजना घोषणा गर्नुभएका ओलीले यो हप्ता एउटा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको सम्मेलन भव्य रूपमा सम्पन्न गराउन पूर्ण रूपमा दिलोज्यान दिएर व्यक्तिगत र सरकारी सहयोग जुटाउनुभयो । त्यसो गरिदिए बापत १ लाख डलर राशिको ‘लीडरशिप एण्ड गभर्नेन्स अवार्ड’ समेत पड्काउनुभयो । यसले नेपालीको शान देशमा मात्र नभई सात समुद्रपारि र विश्वभरि नै फैलिएको छ ।
कति त्यही बुद्ध र सीता जन्मिएको देश भनेर चिनाइरहने नेपाललाई ? अब नेपाल सन मुनले आशीर्वाद दिएको देश भनेर विश्वभर चिनिनेछ । कम्ता गौरवपूर्ण कुरा छ त यो ?
सरकारको यो कदमले नेपाल सांस्कृतिक रूपमा अझ सम्पन्न हुँदै गएको सन्देश दिन सफल भएको छ । यसले नेपालको शिर गर्वले सगरमाथा भन्दा माथि उठेको छ । त्यत्रो अन्तरराष्ट्रिय सम्मेलन नेपालमा भव्य रूपमा हुनुले सन्तान, दरसन्तानले लामो समयसम्म वर्तमान सरकार र ओली महाराजलाई सम्झिरहनेछन् । कुनै बेला नेपाल जम्माजम्मी पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म मात्र फैलिएको थियो । तर आज नेपालको गौरव विश्वभर फैलँदो छ । नेपालीहरू संसारका कुना कुनामा पुगेका छन्, कोलम्बसले अमेरिका पत्ता लगाउन घुमेजस्तै नेपालीहरू कहाँ कहाँ जागीर पाइन्छ भनेर घुमिरहेका छन् । यो क्रम अब झन् बढ्नेछ । किनकि हामीले ‘जिसस क्राइष्टकी एकमात्र छोरी’ को आशीर्वाद पनि पाइसकेका छौं । हिजो हामी पछि पर्नुको कारण हामीले विगतमा यस्ता आशीर्वाद पाउन सकेका थिएनौं । तर अब दुःखका ती दिन गए । अब नेपाल तल्लो आय हुने देशबाट उठेर मध्यम आय भएको देशमा छिट्टै उक्लनेछ । कति त्यही बुद्ध र सीता जन्मिएको देश भनेर चिनाइरहने नेपाललाई ? अब नेपाल सन मुनले आशीर्वाद दिएको देश भनेर विश्वभर चिनिनेछ । कम्ता गौरवपूर्ण कुरा छ त यो ? ओली सरकार बन्नुभएयता देशले धेरै कुरामा काँचुली फेरिसकेको छ । मन्त्रीहरू ‘पेपरलेस’ भएका छन् । सबै मन्त्रीहरूसँग कम्तीमा एक एक म्याकबुक छन् । प्रम ओलीले मोबाइल एप्स मार्फत ‘ई–गभर्नेन्स’ थालेको नि धेरै समय भैसक्यो । सरकारका गृहमन्त्रीले ‘सेक्युरिटी चिप्स’ सहितको ‘राष्ट्रिय परिचयपत्र’ रूपी स्मार्टकार्ड वितरण अभियान शुरू गरिसकेका छन् । अब बिस्तारै यस सम्बन्धी कानून बनाउने कुरो पनि छ रे । सरकारले स्मार्ट लाइसेन्स अभियान पनि शुरू गरिसकेकै हो । खालि त्यो प्रिण्टर र सर्भर बिग्रिएर बेलाबेलामा समस्या आएको मात्र हो । नत्र अहिलेसम्म हरेक बालक वृद्धका हातमा समेत त्यो स्मार्ट ड्राइभिङ लाइसेन्स भइसक्थ्यो । प्रम ओलीले काठमाडौंमा दुई थान बिजुली बसको उद्घाटन गरेर वायु प्रदूषण कम गर्ने योजना शुरू गरिसकेका छन् । ती बसको चार्जिङ स्टेशन लुम्बिनीमा भएकाले मात्र तिनको चुरीफुरी काठमाडौंमा देख्न नसकिएको हो । गुडेर नभए हिंडेर, हिंडेर भए ट्र्याक्टरमा घिसारिएर भए पनि एक दुई वर्षमा ती बस लुम्बिनी कसो नपुग्लान् ? इतिहासकै शक्तिशाली कहलिएको यो सरकारले देशको गौरव उँचो राखिरहन गरिरहेका यी तमाम प्रयत्न साँच्चै गौरवशाली छन् भन्ने यो पंक्तिकारलाई पनि लाइराछ है !
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)