काठमाडौं । विद्युतीय सवारीसाधन चार्ज गर्ने सुविधाका लागि नेपाल विद्युत् प्राधिकरणले देशभरका २० स्थानमा चार्जिङ स्टेशन राख्ने भएको छ । स्टेशनका लागि आवश्यक जग्गाको खोजी भइरहेको प्राधिकरणले जानकारी दिएको छ । ‘एउटै गाडी चार्ज हुन डेढदेखि १ घण्टा लाग्छ,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘त्यसैले प्रत्येक स्टेशनका लागि बस र कार गरेर कम्तीमा १० ओटा सवारीसाधन एकै पटक चार्ज गर्न मिल्ने स्थान खोजिरहेका छौं ।’ स्टेशन मुख्य शहरभन्दा केही बाहिर पर्नेगरी व्यवस्था गरिने घिसिङले बताए ।
पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र १० र उपत्यकाबाहिर १० ओटा चार्जिङ स्टेशन राख्ने तयारी भइरहेको छ । जग्गाका लागि आफ्नै स्थानीय कार्यालयका जग्गा उपयोग गर्ने योजनामा प्राधिकरण लागेको छ । त्यसैगरी आफ्ना कार्यालय नभएका र नमिलेका स्थानमा नगरपालिकाका साथै केही सार्वजनिक संस्थानहरूसँग छलफल भइरहेको प्राधिकरण स्रोतले बताएको छ । जग्गाभन्दा पनि महत्त्वपूर्ण विद्युत् प्रवाहको व्यवस्था गर्नु रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । ‘प्रत्येक स्टेशनका लागि एक–एक ओटा ट्रान्सफर्मर राख्नुपर्छ,’ उनले भने, ‘यदि नजीकनजीक चारपाँचओटा स्टेशन भए भने सानोतिनो सबस्टेशन खडा गरेर त्यहीँबाट सबैलाई विद्युत् दिने व्यवस्था पनि गर्नुपर्ने हुनसक्छ ।’ जग्गाको टुंगो लागेपछि विद्युत् प्रवाहको व्यवस्था गरिने भएको छ । स्टेशनको क्षमता र त्यहाँ चार्ज गरिने साधनको प्रकारअनुसार फरक क्षमतामा विद्युत् प्रवाह गर्नुपर्नेछ । २० ओटै स्टेशनमा गरी करीब दुई मेगावाट विद्युत् लाग्न सक्ने प्राधिकरणको ऊर्जा दक्षता विभागको पूर्वानुमान रहेको छ ।
साना साधन घरमै चार्ज
विद्युतीय सवारीसाधन चार्जमा स्लो चार्जिङ र फास्ट चार्जिङ गरी दुई प्रकारका व्यवस्था रहेका छन् । स्लो चार्जिङअन्तर्गत घरमै जडान गरिएका १० एम्पियरभन्दा माथिका विद्युतीय मिटरको लोडमा गरिने चार्ज हो । स्लो चार्जिङ प्रक्रियाबाट विद्युतीय स्कूटर तथा जीप, कारजस्ता साना सवारीसाधन चार्ज गर्न सकिन्छ । यस्ता साधन बेलुका चार्जमा जोडिदिने र रातभरिको ५/६ घण्टाको समयमा चार्ज भइसक्छ ।
त्यसैगरी फास्ट चार्जिङअनुसार स्टेशनहरूमा बढीमा २ घण्टाभित्र बसहरू चार्ज गर्न सकिन्छ । यसरी गरिने चार्जबाट दिनभरि गाडी चल्नसक्छ ।
बस कम्पनीलाई प्राधिकरणको सहजीकरण
सार्वजनिक यातायातका रूपमा बस सञ्चालन गरिरहेका कम्पनीहरू पनि विद्युतीय सवारीको चार्जिङ स्टेशन निर्माणमा उत्सुक देखिएका छन् । साझा तथा सुन्दर यातायातजस्ता केही कम्पनीले आफ्ना गाडी चार्जिङका लागि चार्जिङ मेशिन राख्ने तयारी गरेका छन् । साझाले ललितपुरको पुल्चोकस्थित आफ्नै पार्किङ स्थलमा चार्जिङ मेशिन राखी सञ्चालनमा ल्याउन लागेको कम्पनीले जानकारी दिएको छ । त्यसैगरी सुन्दर यातायातले आफ्ना बस सञ्चालन हुने रूटमा पर्नेगरी उपत्यकाभित्र सीतापाइला र सुकेधारामा चार्जिङ मेशिन राख्ने तयारी गरेको छ । सोही यातायातले उपत्यकाबाहिर पोखरा र चितवनमा पनि चार्जिङ स्टेशनका लागि स्थान खोजिरहेको कम्पनीले जानकारी दिएको छ ।
चार्जिङ स्टेशन राख्ने बस कम्पनी स्वयमले आवश्यक ट्रान्स्फर्मरको व्यवस्था गर्नु पर्ने छ । उक्त ट्रान्स्फर्मर जडानका लागि भने प्राधिकरणले प्राविधिक सुविधा उपलब्ध गराउने घिसिङले जानकारी दिए ।