ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उचाइ लिँदै उड्डयन क्षेत्र : उडान क्षमतासँगै सेवाग्राहीको संख्या बढ्दो

Dec 7, 2018  
प्रोडक्ट गृह पृष्ठ
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । अन्तरराष्ट्रिय उड्डयन क्षेत्रमा सहज प्रवेश नपाएको नेपालको उड्डयन क्षेत्रले आन्तरिक रूपमा भने बलियो पकड बनाउँदै आएको छ । निजी सेवा प्रदायक एयरलाइन्स कम्पनीहरू र नेपाल वायुसेवा निगम (एनएसी)ले वार्षिक रूपमा गर्दै आएको उडानबाट लाभान्वित सेवाग्राही बढेका छन् । यसले नेपालको उड्डयन क्षेत्र विस्तार हुँदै गएको देखाएको हो । अहिले नेपालका विमान सेवा प्रदायक कम्पनीमार्फत वार्षिक करीब १ लाखपटक (९३१०७) उडान भएको देखिन्छ भने उक्त उडानबाट वार्षिक २४ लाख ५१ हजार ३ सय ९० हवाई यात्रुले सेवा लिएका छन् । यो तथ्यांक सन् २०१७ को हो । २०१८ को १० महीना अर्थात् अक्टोबर अन्तिमसम्ममा नेपाल एयरलाइन्स कम्पनीहरूले ७७ हजार ९ सय ९ पटक आन्तरिक उडान गर्दै २३ लाख ८ सय ५६ यात्रुलाई सेवा दिएका छन् । यो तथ्यांक हेर्दा हवाई उडान संख्या र यात्रु संख्या पनि थप विस्तार हुने स्पष्ट रहेको नागरिक उड्डयन प्राधिकरणको विश्लेषण छ । आन्तरिक उडानको अवस्थामा थप सुधार आएको प्राधिकरणले बताएको छ । यस्तै, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयको ३ वर्षको तथ्यांकअनुसार २०१८ को २ महीना बाँकी रहेकाले उडान गर्ने र यात्रु संख्या थप बढेर १ लाखसम्म पुग्ने प्रक्षेपण छ । नेपालमा वायु सेवातर्फ पनि नयाँ कम्पनी थपिँदै गएको र हाल उडानमा रहेका कम्पनीले नयाँ विमान थप्दै गएकाले वार्षिक उडान क्षमता पनि विस्तार भएको छ । यसबाट उड्डयन क्षेत्रले उचाइ लिएको देखिन्छ । २०१४ मा १७ ओटा विमान कम्पनीसहित अन्यले वार्षिक ६८ हजार ५ सय ३६ पटक उडान गरेका थिए । सोही समयमा १४ लाख ५० हजार ५ सय ५८ यात्रुले विमान सेवा लिएका थिए । उक्त संख्या अहिले दोब्बर भएको छ । कार्यालयको तथ्यांकअनुसार २०१८ को अक्टोबरसम्ममा भीभीआईपी, चार्टरसहित २२ ओटा कम्पनीले सेवा दिएका छन् । आन्तरिक उडान क्षमतामा विस्तार भएसँगै यस क्षेत्रमा लगानीको चासो पनि बढ्दै गएको छ । साथै, निजी कम्पनी तथा नेपाल वायु सेवा निगम पनि ठूलो सीट क्षमताका विमान ल्याउने अभ्यासमा छन् । ४८ देखि ५० सीटसम्म सेवा दिएका एयरलाइन्स कम्पनीले अहिले क्षमता विस्तार गर्दै ८२ सीट क्षमतासम्मका विमान सञ्चालन गर्ने योजनामा छन् भने विमान पनि थप्दै छन् । हाल सञ्चालनमा रहेका अधिकांश वायुसेवा कम्पनीको सीट क्षमता ४८ देखि ५० सम्म छ । यसैगरी प्रतिस्पर्धी बन्दै गएको आन्तरिक उड्डयन क्षेत्रमा अहिलेसम्म पनि बुद्ध एयरकै वर्चस्व छ । यती, नेपाल वायुसेवा निगम, तारा, श्रीएयरलाइन्स, सौर्य एयरलाइन्स लगायत कम्पनी अहिले नेपालको वायु सेवा क्षेत्रमा सक्रिय छन् । सन् २०१५ मा १८ ओटा एयरलाइन्स कम्पनीले ६५ हजार ८ सय ६५ पटक उडान गर्दै १३ लाख ६४ हजार ४८ यात्रुलाई सेवा दिएका थिए । यसैगरी २०१६ मा १९ ओटा कम्पनी र अन्यगरी ७३ हजार ८ सय ७६ पटक उडान गर्दै उक्त वर्ष १७ लाख ५७ हजार ५ सय ९६ यात्रुले हवाइसेवा लिएका थिए । सुधारोन्मुख अवस्थामा अन्तरराष्ट्रिय उडान पर्यटन, वैदेशिक रोजगारी, स्वास्थ्य उपचार, तीर्थाटन लगायतमा हुने अन्तरराष्ट्रिय उडानको अवस्था भने सुधारोन्मुख अवस्थामा छ । २०१४ देखि २०१६ सम्म लगभग स्थिर अवस्थामा देखिएको अन्तरराष्ट्रिय उडानको अवस्था २०१७ सम्ममा निकै सुधार देखिएको छ । २०१४ मा राष्ट्रिय र विभिन्न अन्तरराष्ट्रिय कम्पनीले २७ हजार २ सय ८ पटकको उडानमा ३५ लाख ११ हजार ६ सय ४७ यात्रुलाई सेवा दिएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणको तथ्यांकअनुसार २०१७ सम्म आइपुग्दा उक्त उडान संख्या ३३ हजार ३ सय ६२ पटक हुँदै ३८ लाख ८७ हजार ८ सय ४५ यात्रुले सेवा लिएका छन् । तर, यो तथ्यांक हेर्दा अहिले उडान संख्या तीव्र बढे पनि यात्रु संख्या भने तुलनात्मक रूपमा २०१४ मा भन्दा कमी देखिएको छ । २०१५ मा अन्तरराष्ट्रिय उडान आगमन र प्रस्थान गरी कुल २६ हजार ५ सय ६३ पटक उडान गरिएकोमा उक्त अवधिमा ३२ लाख १७ हजार १ सय १६ पुगेको देखिन्छ । प्राधिकरणको तथ्यांकअनुसार २०१६ मा २७ हजार १ सय १८ पटक उडान हुँदा ३५ लाख १० हजार ७ सय ४२ यात्रुले सेवा लिएको देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)