स्वार्थी हुँदा क्षणिक लाभ पाउन सकिने भए पनि दीर्घकालमा स्वार्थीपना हानिकारक हुने एक अनुसन्धानले देखाएको छ । अमेरिकास्थित मिसिगन विश्वविद्यालयका अनुसन्धाता डा. क्रिष्टोफ अदामी र उनका सहकर्मीद्वारा गरिएको अनुसन्धानले मानिसलाई सहयोगी हुन सुझाएको छ । अध्ययनका क्रममा ‘प्रिजनर्श डिलेमा’ (कैदीको द्विविधा) नामक ‘गेम थ्योरी’को मोडल अपनाइएको थियो । द्धन्द्ध र सहकार्यको अवस्था सृजना गरेर मानवीय व्यवहारको अध्ययन गर्न गेम थ्योरी अपनाउने गरिन्छ । यसले अनुसन्धानकर्तालाई मानिसमा किन खास प्रकारको व्यवहार उत्पन्न हुन्छ भन्ने तथ्य बुझ्न सहयोग पुर्याउँछ । स्वार्थी व्यवहारमात्र देखाएमा त्यसले आफ्नो अस्तित्व नै लोप गराउने यस अनुसन्धानमा संलग्न अनुसन्धाताहरु बताउँछन् । डा. अदामी र उनको समूहले पत्ता लगाएअनुसार स्वार्थी व्यवहार गर्ने प्राणीहरु संसारबाटै लोप भएका छन् । प्रिजनर्श डिलेमा खेलमा दुई जना संदिग्ध अपराधीलाई छुट्टाछुट्टै कोठामा राखेर विभिन्न प्रश्न सोध्दा के हुन्छ भन्ने अध्ययन गरिन्छ । मानौं, त्यस्तै संदिग्ध अपराधीलाई छुट्टै कोठामा राखेर प्रहरीले उसलाई अर्को व्यक्ति पनि अपराधमा संलग्न थियो भन्न लगाउने प्रयास गर्छ । त्यो कैदीले अर्को कैदी पनि अपराधमा संलग्न थियो भनेर बयान दियो भने उसलाई छुटकारा दिलाउने वा अर्कोलाई फाँसी दिइने बताउँछन् । त्यस्तै रणनीति प्रहरीले अर्को कैदीसँग पनि अलग्गै गर्छ ।
यदि दुवै कैदीले एकअर्कालाई अपराधमा संलग्न भएको बताए भने दुवै फस्छन् । त्यसकारण राम्ररी विचार पुर्याउने कैदीले आफू छुटिहाल्छु भन्ने स्वार्थ बिर्सेर अर्को साथीलाई पनि बचाउने रणनीति लिन्छ । ‘स्वार्थी बन्दा मानिसलाई फाइदा हुने भए पनि त्यो दिगो हुँदैन, यसबाट व्यक्तिको अस्तित्व नै हराएर जान्छ, ’अदामीले भने । त्यसैले सहकार्य नै विकासको मूल मन्त्र भएको उनको जिकीर छ । उनले भने, त्यसैले सहयोगी व्यक्तिहरुले मात्र सफलताको शिखर भेट्टाउँछन् ।