ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युतीय सवारीको एसेम्बल प्लान्टः बुटवल औद्योगिक क्षेत्र र बर्दघाट सम्भावित स्थान

Dec 11, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको एसेम्बल प्लान्ट स्थापना गर्न पहल शुरू भएको छ । विद्युतीय सवारी सञ्चालनमा चासो बढ्दै गएपछि चीनको सेचुवाँ गोहङ अटोमोबाइल्स् कम्पनी (बीएके)ले प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएको हो । मङ्सिर १० गते काठमाडौं आएको उक्त कम्पनीको अध्ययन टोलीले प्लान्ट स्थापनाका लागि अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्डलगायत निकायसँग छलफल गरिसकेको छ ।

बीएकेको नेपालका लागि आधिकारिक वितरक तथा सञ्चालक सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले प्लान्ट स्थापनाका लागि स्थानहरूको प्रारम्भिक छनोट प्रक्रिया शुरू भइसकेको जानकारी दिए । उनका अनुसार त्यसका लागि बीएकेले तराई क्षेत्र र खासगरी बिजुलीको पहुँच पुगेको स्थान खोजेको छ । सोअनुसार नवलपरासीको बर्दघाट र बुटवल औद्योगिक क्षेत्र सम्भावित स्थानका रूपमा रहेको उनले बताए । विद्युतीय सवारीसाधन उत्पादनका लागि बर्दघाटलाई प्राथमिकता दिइएको छ । तर, उक्त स्थानमा प्लान्ट स्थापनाका लागि जग्गा उपलब्ध नभए बुटवल औद्योगिक क्षेत्रमा प्लान्ट स्थापना गर्न सकिने गरी ५ नम्बर प्रदेशले आश्वासन दिएको स्रोतले बताएको छ । यी २ स्थानमध्ये एउटामा प्लान्ट स्थापना हुनेछ ।

थापाले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग छलफल भइसकेको जानकारी दिए । ‘सीईओले पनि सकारात्मक जवाफ दिनुभएको छ,’ उनले भने, ‘कम्पनीले लगानी बोर्डसँग प्लान्ट स्थापनाका लागि प्रस्ताव गरेको छ, उहाँहरूले कम्पनीमार्पmत आर्थिक प्रस्ताव लिएर आउन भन्नुभएको छ ।’ प्लान्ट स्थापनाका लागि प्रस्ताव बनाउन बीएकेले ३ सदस्यीय समिति बनाइसकेको थापाले जानकारी दिए । सरकारले जतिसक्दो छिटो जग्गा उपलब्ध गराउछ, उत्तिनै छिटो प्लान्ट स्थापना गर्न सकिने उनको भनाइ छ । बीएके प्लान्टमा लगानी गर्न तयार रहेकाले यसका लागि बोर्ड तथा सरकारले सहकार्य तथा सहजीकरण गर्नु आवश्यक भएको उनले बताए ।

लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीले आधिकारिक रूपमा बीएकेले प्लान्ट स्थापनाका लागि कुनै प्रस्ताव नहालेको जानकारी दिए । लगानी बोर्डमार्फत प्लान्टमा लगानी गर्ने बीएकेले नेपालमा एसेम्बल प्लान्ट स्थापना गरी दक्षिण एशिया क्षेत्रलाई आफ्नो बजार बनाउने रणनीति लिएको छ ।

अहिले विश्वभर नै विद्युतीय सवारीसाधनको प्रयोग र माग बढिरहेका बेला नेपालमा पहिलोपटक प्लान्ट स्थापनाको पहल भएको हो । उक्त कम्पनीले पार्टपुर्जा आयात गरी नेपालमै विद्युतीय सवारी उत्पादन गर्नेछ । काठमाडौं, बुटवल र चितवनमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको सुन्दर यातायात प्रालिले विद्युतीय बसहरू बीएके कम्पनीबाट नेपालमा आउने क्रममा रहेको जानकारी दिएको छ ।

कम्पनीका बसहरू करीब २० दिनमा काठमाडौंमा आइपुग्ने कम्पनीले जानकारी दिएको छ । यातायात कम्पनीहरू सार्वजनिक विद्युतीय बसतर्फ आकर्षित हुँदै गएसँगै सुन्दर यातायातले काठमाडौं, पोखरा, बुटवल र चितवनमा गरी १३ ओटा विद्युतीय बस सञ्चालन गर्ने योजना अगाडि सारेको छ । ती बसका लागि कम्पनीले रू. २४ करोड ३१ लाख लगानी गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)