ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सगरमाथाको उचाइ नाप्दै नेपाल

Dec 11, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

नेपालमा २०७२ सालको भूकम्पले सगरमाथाको उचाइ तथा अवस्थिति परिवर्तन भएको विज्ञहरूले अनुमान गरेका थिए । त्यसैले, वास्तविक तथ्य पत्ता लगाउन मापन शुरू गरिएको हो ।

काठमाडौं । नेपाल आफैले सगरमाथाको उचाइ नाप्न शुरू गरेको छ । प्राविधिक टोलीले सिराहाको माडरबाट सोलुखुम्बुको पतालेसम्म प्रारम्भिक (लेबलिङ) कार्य गरिरहेको नापी विभागले जानकारी दिएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागको १३ सदस्यीय प्राविधिक टोलीले सगरमाथाको उचाइ नाप्न गत वर्षदेखि नै प्रक्रिया थालेको थियो ।

नेपालमा २०७२ सालको भूकम्पले सगरमाथाको उचाइ तथा अवस्थिति परिवर्तन भएको विज्ञहरूले अनुमान गरेका थिए । त्यसैले, वास्तविक तथ्य पत्ता लगाउन मापन शुरू गरिएको नापी विभागका निर्देशक तथा सूचना अघिकारी दामोदर ढकालले जानकारी दिए । नेपालले अन्तरराष्ट्रिय समुदायको समेत सहभागिता र समर्थनमा सगरमाथाको उचाइ मापनको गृहकार्य अघि बढाएको उनको भनाइ छ । विभागले मापन शुरू गर्नुअघि गतवर्ष मङ्सिर २५ र २६ गते विभिन्न देशका वैज्ञानिकलाई काठमाडौमा बोलाएर सोसम्बन्धी गोष्ठी आयोजना गरेको थियो । भारत, चीन, जापान, अमेरिका, स्वीडेन, स्वीट्जरल्याण्ड, इटलीलगायत देशका वैज्ञानिक सम्मिलित उक्त गोष्ठीबाट सगरमाथाको उचाइ मापनको कार्यविधि तयार पारिएको थियो । गोष्ठीले तयार पारेको कार्यविधि अनुरूप अहिले नेपाली टोलीले प्रारम्भिक कार्य गरिरहको बताइएको छ ।

यसरी नापिँदै छ सगरमाथाको उचाइ सगरमाथाको उचाइ ‘डाइरेक्ट मेजरमेण्ट, ‘ट्रेंगुलेशन’ र जीपीएस प्रणालीबाट मापन गरिएको विभागले जानकारी दिएको छ । ‘डाइरेक्ट मेजरमेण्ट’ विधिमा प्रत्यक्ष रूपमा अगाडि/पछाडि गरेर चुचुरोसम्मको उचाइ नापिन्छ । ‘ट्रेंगुलेशन’ विधिमा शुरूमा निश्चित बिन्दुलाई आधार बनाएर त्यसको कोण पत्ता लगाइन्छ र सोही आधारमा क्रमशः अन्य बिन्दुको कोण बनाउँदै उचाइ मापन गरिनेछ । यस्तै, जीपीएस प्रविधिले गुरुत्वलाई आधार बनाएर उचाइ मापन गरिन्छ । सगरमाथाको उचाइको तथ्य विश्वसनीय बनाउन यी विधि अवलम्बन गरिएको सचिवालयका संयोजक एवम् विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले जानकारी दिए । ‘उचाइ मापन विश्वभर स्वीकार्य होस् भनेर अन्तरराष्ट्रिय दक्ष विज्ञलाई सहभागी गराइएको छ,’ उनले भने ।

हाल प्रमाणित सगरमाथाको उचाइ ट्रेंगुलेशन’ विधिबाट गरिएको डंगोलले बताए । हालसम्म लेबलिङको काम सकिएकाले विभिन्न स्थानको रेखांकन अघि बढाइएको उनले जानकारी दिए । माथिल्लो भेगमा अहिले जाडो शुरू भएकाले फागुनपछि त्यस क्षेत्रमा काम शुरू गरिने उनले बताए । पहिलो चरणको लेबलिङ सर्भेको १ सय १७ किलोमिटर काम सकिएको, ग्लोबल नेभिगेशन स्याटेलाइट (जीएनएसएस)का लागि १ सय २ प्वाइण्ट (स्थान) र ग्य्राभिटी सर्भेका लागि काम अघि बढेको उनले जानकारी दिए । आउने १ वर्षमा सर्भेको सबै काम सक्ने योजना रहको उनको भनाइ छ ।

बजेट २५ करोड, समय २ वर्ष सगरमाथाको उचाइ पूर्ण मापनका लागि थप १ वर्ष लाग्ने विभागले जानकारी दिएको छ । यस्तै, सगरमाथाको उचाइ मापन गरेर त्यसको प्रतिवेदन तयार पार्न २५ करोड रुपैयाँ खर्च हुने पनि उसले बताएको छ । सा कामका लागि गत आवमा सरकारले २ करोड विनियोजन गरेको थियो भने चालू आवमा १५ करोड बजेट छुट्ट्याएको छ । यसअघि सन् १९५४ मा तत्कालीन सर्भे अफ इण्डियाले सगरमाथाको उचाइ मापन गरी ८ हजार ८ सय ४८ मिटर भएको निष्कर्ष निकालेको थियो । नेपाल सरकारले ८ हजार ८ सय ४८ मिटरलाई आधिकारिक उचाइ मान्दै आएको छ ।

सन्दर्भः विश्व पर्वत दिवस
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)