एजेन्सीले उपलब्ध गराउने स्याटेलाइट फोनसहितको टोली पुगेको स्थान, सम्बन्धित ठाउँको जलवायु, यात्राको अवस्था (सहज वा कठिन), टोलीका सदस्यलाई परेको समस्या/अप्ठ्यारो लगायत जानकारी एजेन्सीले लिइरहेको हुन्छ । टोलीले पर्वतारोहणका लागि यात्रा शुरू हुनुअघि सम्बन्धित एजेन्सीले विस्तृत तथ्यांक राख्ने गर्छ ।
पर्वतारोहण व्यवसाय सञ्चालन गर्ने संस्था (एजेन्सी)ले पर्यटकका साथै उसका सहयोगी, शेर्पा (हिमाल आरोहणका सहयोगी), भरिया, पथ प्रदर्शक र सुरक्षाको पूर्ण जिम्मेवारी लिनुपर्ने व्यवस्था छ । आरोहणमा पठाउनुअघि एजेन्सीले आरोहीको स्वास्थ्य स्थिति, उसले त्यसभन्दा अघि आरोहण गरेको उचाइ, अनुभव लगायतको परीक्षण र सोधपुछ गर्दछ ।
आरोहण गर्नुपर्ने पर्वतको उचाइ, जटिलता तथा जलवायुअनुसार आवश्यक पर्ने सर–सामग्री फरक फरक हुन सक्छन् । यसका लागि चाहिने पहिरन (लुगा, जुत्ता, टोपी, आदि), औजार (लौरो, डोरी, पहरा खोप्ने÷ठोक्ने साधन, आदि)को व्यवस्था एजेन्सीले नै गरेको हुन्छ । त्यति मात्रै होइन, होटल नभएका स्थानमा वास बस्न टेण्ट, स्लीपिङ ब्याग, खाना, खाने तथा पकाउने सामग्री, पकाउने, भाँडा माझ्ने मानिस लगायतको प्रबन्ध पनि एजेन्सीले नै गर्दछ । कुनै सामान आरोही आफैले ल्याएको छ भने सोको कार्यक्षमता परीक्षण गर्ने जिम्मेवारी समेत एजेन्सीको हुन्छ ।
प्रत्येक पर्वतारोहण समूह सम्बन्धित पर्वतारोहीले बोल्ने भाषामा राम्रो दख्खल भएको पथ–प्रदर्शक (गाइड)को नेतृत्वमा हुन्छ । उक्त पथ–प्रदर्शक तालीमप्राप्त र पर्वतारोहणको राम्रो अनुभव भएको हुनुपर्ने व्यवस्था छ । पथ–प्रदर्शकले पर्वतारोहीको खानपान तथा स्वास्थ्यको समेत ध्यान दिनुपर्ने हुन्छ ।
एजेन्सीले उपलब्ध गराउने स्याटेलाइट फोनसहितको टोली पुगेको स्थान, सम्बन्धित ठाउँको जलवायु, यात्राको अवस्था (सहज वा कठिन), टोलीका सदस्यलाई परेको समस्या/अप्ठ्यारो लगायत जानकारी एजेन्सीले लिइरहेको हुन्छ । टोलीले पर्वतारोहणका लागि यात्रा शुरू हुनुअघि सम्बन्धित एजेन्सीले विस्तृत तथ्यांक राख्ने गर्छ । पर्यटकको हकमा यात्रा शुरू भएदेखि अन्त्य नभएसम्म विभिन्न स्थानमा पनि तथ्यांक राख्ने गरिन्छ । केही गरी स्याटेलाइट फोनको सम्पर्क भन्दा बाहिर गई पर्वतारोही हराए वा बेपत्ता भएमा उक्त तथ्यांकले यात्राको क्रममा ऊ कुन स्थानसम्म पुगेको छ भन्ने पत्ता लगाउन सहज हुन्छ । पर्वतारोही पर्यटकबाहेक उसको टोलीमा हुने अन्य व्यक्ति पनि उसकै साथ वा १ दिनभित्रको दूरीमा हुने हुँदा उनीहरूको खोजी कार्यलाई पनि पर्यटकको तथ्यांकले मद्दत पुर्याउँछ ।
उद्धार पर्वतारोहणमा आइपर्ने विपद्बाट उद्धारका लागि गत भदौमा ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७५’ तयार भएर कार्यान्वयनमा छ । यो कार्यविधिमा विपद्मा परेका पर्यटक, पथप्रदर्शक वा सहयोगी कामदारलाई मानिस, गाडी, वायुसेवा वा हेलिकोप्टर लगायत साधनबाट सकेसम्म चाँडो सुरक्षित स्थानमा स्थानान्तरण वा उपचारार्थ लैजाने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
कार्यविधिमा साहसिक क्रियाकलापको क्रममा हुने प्राकृतिक तथा अन्य विपद्बाट प्रभावित भई कुनै पर्यटक वा सहयोगी कामदार हराएमा तत्काल खोजी गर्ने प्राथमिक दायित्व सम्बन्धित एजेन्सीको हुने व्यवस्था छ । खोजी गर्न सम्भव नभई छुट्टै खोज तथा उद्धारको आवश्यकता परेमा विशेषज्ञ व्यक्ति, संघसस्था, एजेन्सी, वायुसेवा वा हेलिकोप्टर लगायत दु्रत साधनको सहयोगमा खोजी तथा उद्धार गर्ने/गराउने कर्तव्य पनि सम्बद्ध एजेन्सीकै हुने कार्यविधिमा उल्लेख छ ।
पर्यटकको खोजी तथा उद्धारपश्चात् पर्यटक, सरदार, पथप्रदर्शक वा सहयोगी कामदारलाई आवश्यकता अनुसार प्राथमिक उपचारको प्रबन्ध गर्नुपर्ने प्रावधान छ । प्राथमिक उपचारपछि थप उपचार आवश्यक देखिएमा सो स्थानबाट सबैभन्दा नजिकको सुविधायुक्त अस्पताल वा स्वास्थ्य संस्थामा लगेर उपचार गराउनुपर्ने हुन्छ । तर, पर्यटक आफैले कुनै अस्पताल वा स्वास्थ्य संस्था रोजेको अवस्थामा सोही स्थानमा लगेर उपचार गराउन पनि बाधा नपर्ने कार्यविधिमा उल्लेख छ ।
सम्बन्धित एजेन्सी एक्लैबाट पर्यटकको खोज तथा उद्धार सम्भव नभई छुट्टै खोज तथा उद्धार गर्नुपरेमा सम्वन्धित एजेन्सीले यथाशीघ्र सोको सूचना बीमा कम्पनी वा त्यसको प्रतिनिधि पर्यटक, निजको आफन्त, पर्यटक प्रहरी वा पर्यटन विभागलाई अनिवार्य रूपमा दिनुपर्ने हुन्छ ।
यस कार्यलाई प्रभावकारी बनाउन ‘पर्यटक खोज तथा उद्धार निर्देशक समिति’को व्यवस्था छ । यसले विपद्मा परेका पर्यटकको खोज, उद्धार तथा उपचारसँग सम्बन्धित सम्पूर्ण चरणका काममा शीघ्रता, प्रभावकारिता, औचित्य र विवेकशीलताको अनुगमन गर्छ । त्यसैगरी, अन्य सरकारी निकाय, वायुसेवा कम्पनी, निजी कम्पनी, अस्पताल, सरोकारवाला अन्य संघ संस्थासँग समन्वय तथा सहजीकरण, उक्त कार्यको नियमन, निर्देशन तथा नियन्त्रण पनि यसै समितिले गर्छ ।
गत असोज १ गतेदेखि हालसम्ममा १ सय ७४ पर्यटकको उद्धार गरिएको पर्यटन विभागको तथ्यांक छ । सम्बन्धित एजेन्सीले उपलब्ध गराएका आधारमा मात्रै विभागमा तथ्यांक रहने हुँदा यसलाई नै पूर्ण तथ्यांक भने मान्न नसकिने विभागको भनाइ छ ।
सन्दर्भः विश्व पर्वत दिवस