अमेरिकाको सिनसिनाटी राज्यस्थित एक क्यासिनोले विजेताको नाम घोषणा गर्दा ध्यान नपुर्याएकाले दोब्बर पुरस्कार दिनुपरेको छ । सिनसिनाटीस्थित हर्ससु क्यासिनोमा विजेताको नाम घोषणामा भएको त्रुटिका कारण केभिन लुइस नाम गरेका दुई व्यक्तिले १०–१० लाख डलर प्राप्त गरेका छन् । ‘जब मैले भीडमा, चिच्याहटमा मेरो नाम विजेताका रुपमा सुनेँ तब भगवानले मलाई अन्ततः सही समय र सही ठाउँमा ठूलै उपलब्धि दिएजस्तै लाग्यो र खुशी पनि लाग्यो, ’सिनसिनाटीका स्थानीय बासिन्दा ५२ वर्षीय केभिन लुइसले स्थानीय टेलिभिजन स्टेशन डब्ल्यूसीपीओलाई बताए । विजेताको फोटोसेसन र उत्सव सकिएपछि क्यासिनो टीमले आफूहरुले विजेताको नाम घोषणा गर्न गल्ती गरेको अनुभव गरेका थिए । वास्तविक विजेता ५० वर्षीय सिनसिनाटीका केभिन लुइस त घरमै पो रहेछन् ।
‘यो हाम्रो ठूलो गल्ती हो, ’हर्ससु क्यासिनोका वरिष्ठ अध्यक्ष तथा महाप्रबन्धक केभिन क्लाइनले टेलिभिजनलाई बताए । यो घटनाले फाइदा भने दुवैलाई भएको बताइएको छ । क्यासिनोले दुवै जनालाई १०–१० लाख डलर पुरस्कार दिने र अर्को यस्तो पुरस्कार घोषणा गर्नु पहिले विजेताको जाँच गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । ‘दुवै पुरूषमा धेरै कुराको समानता भएकाले हामीलाई भ्रम भएको छ, ’क्यासिनोका प्रवक्ता जेनिफर क्लुजिकीले बताए । ‘यो मानवीय भूल हो, ’उनले थपे । त्यस्तै, क्यासिनोले विजेताको परिचयको दुई चरणमा पुष्टि गरेको भएपनि त्रेस्रो चरणमा मात्र त्रुटि भएको थाहा भएको बताएको छ ।