ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘पर्यटन क्षेत्र’मा पनि विदेशी लगानीकर्ताको आकर्षणः रू. ५ अर्ब लगानी प्रतिबद्धता

Dec 14, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७५/७६ को पहिलो ४ महीनामा विदेशी लगानीकर्ताको आकर्षण पर्यटन क्षेत्रमा देखिएको छ । उद्योग विभागको तथ्यांकअनुसार विदेशी लगानीकर्ताहरूको पहिलो आकर्षण उत्पादनमूलक उद्योग र दोस्रोमा पर्यटन क्षेत्र देखिएको हो । चालू आवको कात्तिक महीनासम्ममा सबैभन्दा बढी परियोजना पर्यटनसँग सम्बन्धित ६० ओटा दर्ता भएका छन् भने उत्पादनमूलकमा २८ ओटा परियोजना दर्ता भएका छन् । संख्यामा उत्पादनमूलक उद्योगका परियोजना पर्यटनमा भन्दा कम देखिए पनि लगानीका हिसाबले उत्पादनमूलक परियोजनामा रू. ६ अर्ब ६ करोड १३ लाख लगानी प्रतिबद्धता आएको छ । पर्यटन उद्योगअन्तर्गतका परियोजनामा भने रू. ५ अर्ब १८ लाख लगानी प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ ।

गतवर्षको तुलनामा चालू आवमा पर्यटन उद्योगमा लगानी प्रतिबद्धता र परियोजना संख्या दुवै बढ्ने संकेत देखिएको छ । गत आवमा पर्यटन उद्योगका १ सय ५७ परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । ती परियोजनामा रू. ४ अर्ब ७९ करोड ९८ लाख लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ । आव २०७०/७१ मा पर्यटन उद्योगमा ८७ परियोजनाको प्रतिबद्धता आएको थियो । त्यसपछिका वर्षहरूमा यस क्षेत्रमा लगानी र परियोजनाको संख्यात्मक अवस्थामा निकै सुधार आएको छ ।

सरकारले पर्यटनलाई अर्थतन्त्रको प्रमुख हिस्सेदार मान्दै आएसँगै लगानीमैत्री वातावरण बन्दा पर्यटन उद्योगमा वैदेशिक लगानी आकर्षित भएको देखिन्छ । होटल एशोसिएशन नेपाल (हान)का अध्यक्ष अमरमान शाक्यले पर्यटन क्षेत्रमा लगानी बढ्नु सकारात्मक भएको बताए । उनले भने, ‘अहिले हामीसँग भएको पर्यटन पूर्वाधारले पनि नेपाल आउने पर्यटकको सत्कार गर्न सक्ने क्षमता छ । सरकारले अघि सारेको ‘नेपाल भ्रमण वर्ष २०२०’का कारण पनि लगानी आकर्षित भएको हुनसक्छ ।’ आन्तरिक रूपमा पनि पर्यटन पूर्वाधारका लागि लगानी भइरहेको उनको भनाइ छ ।

यस्तै प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुनील शाक्य नेपाल भ्रमण वर्ष २०२० र अहिले पर्यटकको संख्यामा आएको वृद्धिका कारण पनि पर्यटन उद्योग क्षेत्रमा वैदेशिक लगानी आकर्षित भएको तर्क गर्छन् । उनी भन्छन्, ‘पर्यटन क्षेत्र लगानीका लागि निकै राम्रो क्षेत्र हो, अहिले समग्रमा लगानीमैत्री वातावरण बनेको र आम्दानी पनि यो क्षेत्रमा हुने भएकाले विदेशी लगानीकर्ता आकर्षित भएका हुन् ।’ अहिले नेपालमा पर्यटनमैत्री पूर्वाधार बन्दै गएको उनले बताए । गौतमबुद्ध विमानस्थलको स्तरोन्नति भइरहेको, नागढुंगा–नारायणगढ सडक पनि निर्माण भएको र सडकको पहुँच पनि विस्तार भएकाले यो क्षेत्रमा लगानी बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)