ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लगानी कहाँ गर्ने ?

Dec 14, 2018  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

सरकार लगानी गर भन्या भन्यै छ । तर धेरै लगानीकर्ता कहाँ, कसरी र केमा लगानी गर्ने भन्ने थाहा नपाएर रनभुल्लमा परेका देखिन्छन् । अर्कोतिर, लगानी गरिसकेकाहरु भने लगानी सुरक्षित भएन भनेर जिल्ल परिरहेका छन् । शेयर बजारका एकथरी लगानीकर्ता सरकारका कारण धेरै घाटा भयो भनेर अनसन बसेरै हारगुहार गरिरहेका छन् ।

त्यसैगरी नेउवा महासंघ, सीएनआईतिरका अर्काथरी ठूला र संस्थागत लगानीकर्ताहरु बैंकको ब्याज धेरै भएको कारण उद्योग व्यवसायमा लगानी गर्ने वातावरण भएन भन्दै सरकार भा ठाउँमा डेलिगेशन गएका गयै छन् । उता विश्व बैंक भन्छ, ‘नेपालमा लगानी गर्न अझ असहज बन्दै गयो ।’ तर सरकार भन्छ, ‘विश्वबैंकको ठहर नै गलत छ । लगानीकर्ताका लागि अहिले इतिहासमै स्वर्णकाल हो ।’ वास्तवमा सरकार सही छ । लगानी गर्ने सुवर्ण अवसरहरु कहाँ कहाँ रहेछन् भनेर यसो सोच्नुस् त, जताततै लगानी गर्ने ठाउँ पो देखिन्छन् ।

लगानीका लागि सबैभन्दा राम्रो क्षेत्र त बैंकिङ नै हो । ऋणी अर्थात् उद्योग व्यवसायीले नाफा कमाउन् वा ‘भाडमा जाऊन्’, बैंकको नाफा भने सुनिश्चित । लगानीको शतप्रतिशत भन्दा धेरै नाफा गर्न सकिने ठाउँ हो यो । अहिले नै हेर्नुस् न, रु. ८ अर्ब चुक्तापूँजी भएका कतिपय बैंकको नाफा रु. ४ अर्ब सम्म छ । रु. ३ करोड लिएर खोलिएका बैंकहरुले रु. ३ अर्बभन्दा बढी त नगद नै लगिसके । संसारमा कतै यति नाफा कमाउन सकिने देश वा क्षेत्र ? यूरोप, जापान जस्ता मुलुकमा त ऋण पनि शून्य वा १ प्रतिशत ब्याजमै पाउन सकिन्छ । भनेपछि नेपाल त बैंकिङका लागि स्वर्ग हो– नाम पनि ठूलै हुने, दाम पनि ठूलै आउने । अन्यत्र त केन्द्रीय बैंकको यति सूक्ष्म निगरानी र नियन्त्रण हुन्छ कि, त्यहाँ बैंकले धेरै नाफा गरम्ला, कुनै नीति नियमविरुद्ध केही गरम्ला भन्ने कुराको कल्पनासम्म पनि गर्न सकिन्न । तर, नेपालमा त बैंकहरुका केही अध्यक्षहरुकै इशारामा राष्ट्र बैंक चलिदिन्छ । त्यसो भएसी नेपालमा धेरै नाफा कमाउन खोल्नुपर्ने चैं बैंक नै रहेछ । तर, बैंक खोल्न त अब धेरै पैसो चाहिने भो । तैपनि चिन्ता नगर्नुस्, बैंक खोल्न दमडी पुग्दैन भने अन्य क्षेत्र पनि थुप्रै छन् है ।

अन्य क्षेत्रमा सबैभन्दा आकर्षक चैं शिक्षा वा स्वास्थ्य क्षेत्र नै देखिन्छ । संसारभरि शिक्षा र स्वास्थ्य सरकारले जनतालाई निःशुल्क प्रदान गर्छन् । तर, नेपालमा भने काम गर्ने मानिसलाई ‘गरिखाऊ’ भनेर सरकारले यो क्षेत्र छाडिदिएको छ । त्यसैले, प्रत्येक टोलैपिच्छे स्कूल र कलेज खुल्न पाएका छन् । नर्सरी वा १ कक्षा पढ्नेबाट पनि बीसौं हजार शुल्क ठटाउन पाइन्छ । स्वीमिङ पुल, जीम, लाइब्रेरी, क्यान्टिन आदि शीर्षकमा जति पैसो फी लगाइदे पनि हुन्छ । आफ्ना छोराछोरीले गलामा टाई र पिठ्युँमा १० किलाको ब्याग झुन्ड्याएर डैडी र ममीलाई बिहानै ‘बाई’ भनेर स्कूल जाँदा कम्ता खुशी हुँदैनन् नेपाली अभिभावक ।

यता, स्वास्थ्य क्षेत्र पनि लगानीका लागि झन् आकर्षक हुँदै गएकोे छ । एउटा बिरामी कुनै सानो समस्याले अस्पतालभित्र छिरिहाल्यो भने भएजति सबै खालका परीक्षण गराएर ठूलै बिल बनाउन पाइन्छ । गाउँतिर कतै लडेर कसैलाई यसो केही भयो भने ज्यान जोगाउन हेलिकोप्टर चार्टर गर्ने भनेर फोन आउँछ । अनि २–४ लाख डिपोजिट नराखी उपचार शुरु नै हुँदैन । उता खातामा लाख डिपोजिट हुन्छ, यता बिरामीको कपडा उतार्न शुरु । तरकारी, फलफूलमा विषादी, धूलो धूँवा र गाडी दुर्घटनाले देशैभरि बिरामी फालाफल । अनि भइन्न त अस्पताल खोले मालामाल ?

यसरी अस्पताल, स्कूल, कलेजका भव्य भवनहरुकै कारण त शहर, शहरजस्ता भएका छन् । नेताहरुले त्यै देखाएर समृद्धिको गुड्डी हाँक्न पाएका छन् । बैंकिङ, स्वास्थ्य, शिक्षा आदिमा लगानी गर्ने पैसो पनि छैन र कम्पनी दर्ता गरेर सरकारी विभिन्न झन्झट झेल्न सक्ने धैर्य पनि छैन भने शेयर बजारमा लगानी गरे पनि भो । लगानी डुब्न लाग्यो भने यसो एउटा संगठन बनायो अनि हडताल, अनसन आदि गरेर भए पनि बजार उकास्ने उपाय निस्कन सक्छ ।

अर्को छ अटो व्यवसाय अर्थात् बसको धन्दा । जनता सिण्डिकेट भयो भनेर कराउँदै गर्छन्, साथमा सरकार छँदै छ । सीटमुनि र छतमाथि मान्छे कोचेर हुन्छ कमाइ, दिन दुई गुणा रात चौगुणा । अटोकै अर्को नगदे व्यापार छ ट्याक्सी सेवा । ग्राहकसँग जति पैसा ठटाए पनि हुन्छ । मिटरमा चल्नुपर्ने होइन । मन लागे ट्याक्सी चलाए भो, नलागे गोडा झ्यालबाहिर राखेर गाडीभित्रै सुतेर बसे पनि हुन्छ । ग्राहकले जाऊँ भन्दा ट्याक्सी चलाउनै पर्छ भनेर संविधानमा लेखेको छैन क्यारे ।

होइन, विनालगानी चाँडै पैसा कमाउने इच्छा छ भने त्यो पनि पूरा हुन्छ नेपालमा । त्यो हो चाचु व्यवसाय । त्यसका लागि एउटा काम भने गर्न जान्नुपर्छ । मन्त्री, नेता (मने)कोमा चाचु अर्थात् चाकडी र चाप्लुसी गर्न जान्नुपर्छ । आफू मनेका नजरमा एकपटक परेपछि काम कुरो बनिहाल्छ । न लगानी गर्न पैसो चाहिन्छ, न कम्पनी दर्ता गरिरहने झन्झट, न कर तिरिरहने कचकच, न त अन्य कुनै विशेष ज्ञान र बुद्धिकै आवश्यकता पर्छ । केवल चाचु गर्न जानेसी पुग्छ । यो विगत २ दशकयता नेपालमा निकै फस्टाएको व्यवसाय भएको छ । चाचु गर्न जानेसी कुनै सार्वजनिक संस्थान, आयोग वा समितिमा कुनै ठूलै पद पक्का हुन्छ । त्यसपछि त ठूलै कोषमा ‘तपाईंको हात जगन्नाथ’ । अनि अरु काम किन गरिरहनु प¥यो ? सरकार रहुन्जेल, चाचु आपूर्ति पर्याप्त हुन्जेल तपाईंको कमाइ पक्का ।

त्यसैले, कसैसँग लगानी गर्ने वातावरण भएन भनेर गुनासो गरिरहने काम छैन । माथि उल्लेख गरिएका वा त्यस्तै कुनै क्षेत्रमा लागेर आप्mनो व्यवसाय सुरक्षित गरिहाल्नुस् र सकारको समृद्ध नेपालको नारालाई सघाउनुस् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)