काठमाडौं । सिक्टा सिँचाइ परियोजनाअन्तर्गत पश्चिम खण्डको मूल नहरको निरीक्षण गरेर अस्ट्रेलियन विज्ञहरू शनिवार आफ्नो देश फर्किएका छन् । अस्ट्रेलियाबाट आएका दुई र नेपाली दुई गरी चार सदस्यीय विज्ञ टोलीले नहरको फुटेको खण्डको परीक्षण गरेको थियो । मंगलवार बाँके पुगेको टोलीले बिहीवारसम्म स्थलगतरूपमा विभिन्न अध्ययन गरेको आयोजना प्रमुख कृष्ण नेपालले जानकारी दिए । ‘टोलीले स्थलगतरूपमा गर्न सकिने परीक्षणहरू गर्यो,’ उनले भने, ‘माटोको ल्याब टेस्ट गरेर रिपोर्ट पठाइदिनु भनेर उहाँहरू भने फर्किनुभएको छ ।’
अस्ट्रेलियन विज्ञहरूले परीक्षणका लागि माटो नै लैजान खोजेका थिए । तर, दुवैतिरको विमानस्थलमा पेश गर्नुपर्ने कागजात निर्माणको प्रक्रिया लामो हुने भएपछि उनीहरू माटो नलिई गएको नेपालले जानकारी दिए । ‘स्थलगत अध्ययन टोलीमा रहेका हाम्रा माटोसम्बन्धी प्राविधिकलाई गर्नुपर्ने परीक्षणका बारेमा उहाँहरूले बताएर जानुभएको छ,’ नेपालले भने, ‘जतिसक्दो चाँडो ल्याब टेस्ट सकेर त्यसको प्रतिवेदन पठाउनेछौं ।’ माटो परीक्षण प्रतिवेदनका आधारमा अस्ट्रेलियन विज्ञहरूबाट आउने सुझाव उक्त परियोजनामा उत्पन्न समस्या समाधानमा सहयोगी हुने आशा राख्न सकिन्छ ।
पृष्ठभूमि
गत ७ साउनमा परीक्षणका लागि पानी छोड्दा उक्त परियोजनाअन्तर्गत पश्चिम खण्डको मूल नहर फुटेको थियो । नहर फुट्नुको कारणका सम्बन्धमा छानविन गर्न गठित समितिले माटोको उच्च घुलनशीलता कारक रहेको निष्कर्ष निकालेको छ । समितिको निष्कर्ष पत्रकार सम्मेलन गरी बताइए पनि अध्ययन प्रतिवेदन भने सार्वजनिक गरिएको छैन ।
नहरको करीब ६ किलोमिटर भागमा यस्तो समस्या रहेको आयोजना स्रोतको भनाइ छ ।
यसअघि १४ असार २०७३ मा पनि आयोजनाको मुख्य नहर परीक्षणको क्रममा भत्किएको थियो । त्यतिबेला अत्यधिक पानी छोड्दा नहर फुटेको प्रतिवेदन तयार गरिएको थियो । नहरको पूर्ण पानी वहन क्षमता ५० क्युमेक हो तर ४ क्युमेक पानी छोड्दा नै नहर फुटेको थियो ।
यसरी बारबार नहर फुट्नुले आयोजनासँग जोडिएका पक्षहरूको काममाथि नै प्रश्न उठ्न थालेको छ । त्यसैले पनि नहर फुट्नुको कारण पत्ता लगाउन आयोजनाले अस्ट्रेलियाका विज्ञ बोलाएको थियो । अस्ट्रेलियामा पनि यस प्रकारको घटना भई समाधान निकालेको अनुभव रहेका कारण अध्ययनका लागि विज्ञ बोलाएको आयोजना प्रमुख नेपालले बताए ।