ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशी लगानी सपना : खर्बौंको आशय, अर्बमा प्राप्त

Dec 17, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । नेपालमा पर्याप्त सम्भावना रहेको भन्दै विदेशबाट खर्बौं लगानीको आशय आउने गरे पनि वास्तविक लगानी भने केही अर्बमै सीमित देखिएको छ । आशय र प्रतिबद्धताका तुलनामा प्राप्त हुने लगानी अत्यन्तै न्यून रहेको तथ्यांक छ । २०७३ फागुनमा भएको लगानी सम्मेलनमा करीब १४ खर्ब रुपैयाँ लगानीको आशय प्राप्त भए पनि अहिलेसम्म सो लगानी भित्रन नसक्नु यसको ज्वलन्त उदाहरण हो ।

नेपाली साझेदारसँगको सहलगानीमा स्थापित होङ्शी शिवम् सिमेन्ट नै अहिलेसम्म प्राप्त भएको सबैभन्दा ठूलो विदेशी लगानी हो । चिनियाँ लगानीकर्ताको रू. ३६ अर्ब लगानी रहेको उक्त उद्योग अहिले सञ्चालनमा रहेको छ । अरूण तेस्रो, माथिल्लो कर्णाली, पश्चिम सेतीलगायत जलविद्युत् आयोजनामा ठूलो परिमाणमा विदेशी लगानीको प्रतिबद्धता आए पनि हालसम्म निकै कम मात्र प्राप्त भएको लगानी बोर्डको तथ्यांक छ ।

कतिपय ठूला आयोजनाको निर्माण कार्य शुरू भइसकेको र विस्तारै विदेशी लगानी बोर्ड पुनः लगानी सम्मेलन गर्न जुटेकाले पहिलाको पनि ‘फलोअप’ हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको धारणा छ । लगानी बोर्ड र अर्थ मन्त्रालयको दाबीअनुसार यो सरकार बनेपछि भने अहिलेसम्मकै धेरै वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । तर, प्रतिबद्धताअनुरूपको लगानी भने एक प्रतिशत पनि भित्रिन नसकेको उनीहरू नै स्वीकार्छन् । विस्तारै प्राप्ति बढ्ने बोर्डका सहसचिव उत्तमभक्त वाग्लेले जानकारी दिए । ‘सम्मेलन हुँदैमा तत्कालै लगानी भित्रिहाल्छ भन्ने होइन, त्यसले त विदेशी लगानीकर्तालाई बाटो देखाउने मात्र हो,’ उनले भने, ‘जबर्जस्ती गर्ने कुरा होइन ।’

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७५/७६को साउनदेखि मंसिर १६ गतेसम्म ७४ परियोजनामा विदेशी लगानी भित्रिएको छ । विदेशी लगानी ल्याउन चाहने कम्पनी विदेशी मुद्रा भित्र्याउने स्वीकृतिका लागि केन्द्रीय बैंकमा जाने गरे पनि रकम नेपाल भित्रिएको वा नभित्रिएको भने बैंकमा रकम जम्मा भएपछि मात्र थाहा हुन्छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार चालू आवको साढे ४ महीनामा करीब १२ अर्ब ३३ करोड ९० लाख रुपैयाँ भिœयाउन स्वीकृति मागिएको छ । यस्तो रकम प्रत्येक दिन बैंकिङ प्रणालीमा थपिँदै जाने राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले जानकारी दिए ।

तथ्यांकले भने गतवर्षको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४ अर्ब ५३ करोड रुपैयाँ कम विदेशी लगानी प्राप्त भएको देखाउँछ । चालू आवको असोज मसान्तसम्म रू. १ अर्ब ५४ करोड मात्र विदेशी लगानी प्राप्त भएको छ । गत आवको सोही अवधिमा यस्तो लगानी रू. ६ अर्ब ७ करोड रहेको थियो ।

यद्यपि, विदेशी लगानी भित्र्याउन सरकारले आगामी चैतमा लगानी सम्मेलन गर्ने तयारी गरेको छ । केही मुलुकमा विदेशी लगानी भित्र्याउनैका लागि पटकपटक सम्मेलन आयोजना गर्ने गरेको लगानी बोर्डको भनाइ छ । कतिपय मुलुकमा ५/७ पटकसम्म सम्मेलन गरेपछि मात्र विदेशी लगानी भित्रिन थालेको बोर्ड स्रोत बताउँछ । नेपालमा एउटा सम्मेलनमा आशय आएको तर लगानी भित्रिएन भनेर गुनासो गर्नु उचित नहुने बोर्डको धारणा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)