ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५ महीनामा ६ हजार मोबाइल हराए, मोबाइल धनीलाई नै धम्की

Dec 17, 2018  
प्रविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । काठमाडौंमा ५ महीना अवधिमा ६ हजार थान मोबाइल फोन हराएका छन् । महानगरीय प्रहरी परिसर, टेकुमा परेको उजुरीको तथ्यांकले काठमाडौंमा दैनिक ४० ओटा मोबाइल फोन हराउने वा चोरी हुने गरेको देखाउँछ ।

मोबाइल हराएको उजुरी मात्र गत साउनदेखि मङ्सिर मसान्तसम्ममा ६ हजार १ सय १९ ओटा परेको महानगरीय प्रहरी परिसर, टेकुले जानकारी दिएको छ । यसमध्ये हालसम्ममा ८ सय २ ओटा मात्र मोबाइल फोन फेला परेका छन् ।

मोबाइल हराएको गुनासो गर्न परिसरमा आउनेहरू दैनिक ५० भन्दा बढी हुन्छन् । तर, परिसरले अहिले मोबाइलको बिल वा खरीद गरेको बक्स साथमा भए मात्र उजुरी लिन थालेको छ । उक्त बिल सुरक्षित नराखेकाहरू मोबाइल हराएको उजुरी दर्ता नहुँदा निराश हुँदै प्रहरी परिसरबाट फर्कन बाध्य छन् ।

हराएका मोबाइलमध्ये निकै कम मात्र भेटिने गरेको देखिन्छ । यस अवधिमा हराएकामध्ये १३ प्रतिशत मोबाइल मात्र भेटिएको प्रहरीको तथ्यांक छ ।

परिसरमा आव २०७४/७५ मा १५ हजार ७ सय ८७ जनाले मोबाइल हराएको निवेदन दिएका थिए । तीमध्ये हालसम्म १ हजार ५ सय १८ जनाको मात्र मोबाइल फेला परेका छन् । गत आवमा हराएका मोबाइलमध्ये करीब १० प्रतिशत मात्र फेला परेको देखिन्छ । यद्यपि, बाँकी १४ हजार २ सय ७९ ओटा मोबाइलको खोजी भइरहेको परिसरको भनाइ छ ।

मोबाइल भेटेपछि स्विचअफ गर्ने, त्यसमा सिमको प्रयोग नगर्ने जस्ता कारण मोबाइल फेला पार्न समस्या भएको परिसरको भनाइ छ । उसका अनुसार स्थानीय सवारीसाधनमा यात्रा गर्दा चोरी भएको उजुरी गर्नेहरूको संख्या सबैभन्दा धेरै छ । बाँकीको बाटोमा हराएको, चोरी भएको वा लुटिएको उल्लेख छ ।

मोबाइल हराउँदा प्रहरी परिसरमा उजुरी गर्न खरीद बिलसँगै आईएमईआई नम्बर अनिवार्य रूपमा हुनुपर्ने व्यवस्था छ । आईएमईआई उल्लिखित मोबाइलको बट्टा वा कुनै कागज भए खोजी अघि बढाउन सकिने प्रहरीको भनाइ छ । तोकिएको आवश्यक कागज तथा आईएमईआई नम्बर नहुँदा धेरैले मोबाइल हराएको निवेदन दर्ता गराउन नसकेको परिसरले बताएको छ ।

मोबाइल धनीलाई नै धम्की

यस्तै, कतिपयले मोबाइल माग्दा पाउने व्यक्तिले थर्काउने गरेको पनि पाइएको छ । एक महिलाले हराएको मोबाइलमा फोन गर्दा विभिन्न धम्की दिएर थर्काएको आइतवार परिसरमा गुनासो गरिन् । धम्काउने व्यक्तिको भाषामा उनले भनिन्, ‘मैले प्रहरी, नेता सबै चिनेको छु । तैंले प्रहरीमा गएर उजुरी दिएर मलाई केही फरक पर्दैन ।’

यस्तो थर्काइ प्रहरीलाई पनि आउने गरेको परिसरमा कार्यरत एक प्रहरीले बताए । शुरूमा थर्काउन खोजे पनि पछि संयमित हुने गरेको अनुभव पनि उनको छ । प्रहरीले हराएको मोबाइल पाउन विभिन्न उपाय अपनाउने गर्छ । महानगरीय प्रहरी परिसर, टेकुका अनुसार हराएको मोबाइल प्रयोग गर्नेले सबैभन्दा बढी फोन गरेको नम्बरमा र स्थानीय प्रहरी कार्यालयलाई समेत जानकारी दिने गरिन्छ । त्यसपछि पनि मोबाइल बुझाउन अटेरी गरेमा पक्रेर चोरी मुद्दा चलाइन्छ । यसरी फिर्ता लिएको मोबाइल सम्बन्धित व्यक्तिलाई दिने गरिएको महानगरीय प्रहरी परिसर, टेकुले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)