ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर दबाब समूहको आमरण अनशन : माग पूरा नभएसम्म जारी रहने

Dec 18, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । सरकारको गलत नीतिका कारण शेयरबजार घटेको भन्दै अनशन थालेको शेयर लगानीकर्ता दबाब समूहले सोमवारदेखि आमरण अनशन शुरू गरेको छ । आफ्नो समूहले राखेको माग पूरा नभएसम्म आमरण अनशन जारी रहने समूहले बताएको छ । समूहका तर्फबाट हरि ढकाल र तिलक कोइराला आमरण अनशनमा बसेका छन् । समूहले सरकार र पूँजीबजारसम्बद्ध निकायहरूले यसअघि नै गर्ने भनेका कामहरू कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । साथै समूहले सम्बद्ध निकाय गैरजिम्मेवार भएको आरोप पनि लगाएको छ । समूहले अर्थमन्त्रीका साथै पूँजीबजारसम्बद्ध निकायका प्रमुखहरूको बर्खास्तीको मागसमेत गरेको छ । बर्खास्तीपछि मात्र समूहले राखेका १४ बुँदे मागका विषयमा छलफल हुनसक्ने दबाब समूहका संयोजक हरि ढकालले बताए । पूँजीबजारका क्षेत्रमा देखिएका समस्या अध्ययन गरी १ हप्ताभित्र प्रतिवेदन बुझाउन सरकारले गत साता नै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो । सो समितिमा गत शुक्रवार दबाब समूहको प्रतिनिधिका रूपमा ३ जनालाई पनि सहभागी गराइएको छ । दबाब समूहले अघि सारेको १४ मध्ये १२ बुँदालाई प्रतिवेदनमा समेट्ने सहमति गरेर उत्तम अर्याल, नयन बास्तोला र तिलक कोइरालालाई समितिमा सहभागी गराइएको हो । दबाब समूह र समितिबीचको सहमतिअनुरूप आइतवारसम्ममा प्रतिवेदन बुझाई माग कार्यान्वयनका लागि आधिकारिक निर्देशन दिने भनिए पनि त्यसो नभएपछि दबाब समूहले आमरण अनशन थालेको हो । दबाब समूहको माग र अनशनलाई नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, राजपा, नेपाली कांग्रेस बीपी, राप्रपा नेपाल, राप्रपा राष्ट्रवादीका साथै लगानीकर्तासम्बद्ध विभिन्न संघ र संगठनले पनि समर्थन गरेका छन् । आमरण अनशनअघि समूहले मङ्सिर २३ गतेदेखि रिले अनशन गर्दैआएको थियो । बन्दको आह्वान गरे पनि बजारमा उछाल आमरण अनशनको घोषणासँगै दबाब समूहले सोमवारदेखि कारोबारमा सहभागी नहुन लगानीकर्तालाई अपील गरेको थियो । त्यसको असरस्वरूप सोमवार बजार खुलेको आधा घण्टासम्म कारोबारमा सहभागी नभएका लगानीकर्ता त्यसपछि भने उत्साहपूर्वक कारोबारमा सहभागी भएका थिए । फलस्वरूप नेप्से परिसूचक १५ दशमलव १७ अंकले उकालो लाग्यो । समितिमा दबाब समूहको प्रतिनिधित्व गरिरहेका नेपाल पूँजीबजार संघका महासचिव नयन बास्तोलाले सोमवारको आमरण अनशनका कारण आम लगानीकर्ताको माग सम्बोधन हुने आशमा लगानीकर्ता कारोबारमा सहभागी भएको टिप्पणी गरे । ‘हामीले लगानीकर्तालाई कारोबार नै बन्द गर्न भनेका होइनौं । सम्पूर्ण लगानीकर्ताको हितका लागि दबाब समूहले आफ्नो ज्यान जोखीममा राखेर आमरण अनशन बसिरहेको अवस्थामा कारोबारमा सहभागी नहुन अपील गरेका हौं,’ उनले भने । सुरक्षा प्रबन्धका लागि आग्रह शेयर कारोबार गरिरहेका व्यवसायीहरूको कार्यालयमा केही व्यक्तिहरूको समूहले हूलहुज्जत गरी कर्मचारी र कार्यालयको भौतिक सम्पत्तिमा क्षति पुर्‍याउनुका साथै धम्क्याउने र हातपातसमेत गरेकोमा स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालले घोर भर्त्सना गरेको छ । सो संस्थाले सोमवार एक पे्रस विज्ञप्ति प्रकाशित उक्त समूहले कारोबार रोक्न र मंगलवारदेखि कारोबार नगर्न भनेको तथा गरेमा भौतिक कारबाही गर्नेसमेत धम्की दिएको उल्लेख गरेको छ । साथै सो संस्थाले व्यवसायीहरूको मुख्य र शाखा कार्यालयहरूमा शान्तिसुरक्षाको प्रबन्ध मिलाइदिन पनि सरकारसँग आग्रह गरेको छ । संघका अध्यक्ष भरत रानाभाटले हस्ताक्षर गरेको सो विज्ञप्तिमा अनलाइन प्रविधिमार्फत सम्भावित स्थानहरूमा दोस्रो बजारको पहुँच तथा विस्तार गर्न संघ र सदस्यहरूका तर्फबाट प्रतिबद्धता व्यक्त गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)