ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशी लगानीकर्ताको आकर्षणमा परेन ‘निर्माण उद्योग’

Dec 19, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
  • विश्लेषण गर्न आवश्यक छ : महानिर्देशक सिंह
  • २ दशकसम्म पनि लगानीमा देखिएन सुधार
काठमाडौं । पूर्वाधार विकास तथा निर्माण क्षेत्र लगानीकर्ताका लागि आकर्षणका स्रोत भए पनि यो क्षेत्रमा लगानीको अवस्था भने निराशाजनक देखिएको छ । निर्माण उद्योगमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरू आकर्षित नहुँदा मुलुकको विकासको आधार मानिनेमध्येको एक निर्माण उद्योगमा लगानीको अवस्था कमजोर देखिएको छ । उद्योग विभागको विगत २ दशकभन्दा बढीको अवधिको तथ्यांकले यसको पुष्टि गर्छ । अहिले नेपालले यी पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । विसं २०७३ फागुनमा भएको ‘नेपाल लगानी सम्मेलन’मा पनि पूर्वाधार निर्माण क्षेत्रलाई लगानीको प्रमुख क्षेत्रको रूपमा प्रस्तुत गरिएको थियो । निर्माण उद्योगमा लगानी गर्दा विदेशी लगानीकर्ताले आफै कुनै परियोजनामा लगानी र सञ्चालन गरी सेवा प्रवाह गर्नुपर्ने प्रावधान रहेको छ । औद्योगिक व्यवसाय ऐन– २०७३ अनुसार भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्ने उद्योगहरू निर्माण उद्योग हुने भनिएको छ । त्यसअन्तर्गत सडक, पुलदेखि हवाई धावनमार्ग/विमानस्थल, व्यापारिक कम्प्लेक्स, सभासम्मेलन केन्द्र हुँदै सुरुङमार्ग, मोनोरेल, केबलकारसम्म लगानी गर्न सकिने उल्लेख छ । उद्योग विभागका एक अधिकारीले भने, ‘नेपालको निजीक्षेत्र पनि यस क्षेत्रमा लगानी गर्न खासै इच्छुक देखिएको छैन । आव २०४६/४७ देखि २०७५/७६ सम्मको अवधिमा निर्माण उद्योगसम्बन्धी कुल ४७ ओटा परियोजनामात्र उद्योग विभागमा दर्ता भएका छन् ।’ ती परियोजनामार्फत रू. ४ अर्ब ८२ लाख वैदेशिक लगानीको प्रतिबद्धता निर्माण उद्योगमा आएको तथ्यांकले देखाउँछ । तर, दर्ता भएका उद्योग सञ्चालनमा आए नआएको तथ्यांक भने विभागसँग हुँदैन । समीक्षा अवधिभित्रका कतिपय वर्षमा यस शीर्षकमा वैदेशिक लगानी नै नआएको पनि पाइन्छ । अधिकांश वर्षमा यस क्षेत्रका १/२ ओटा परियोजनामात्रै दर्ता भएका छन् । केही नीतिगत तथा ऐनका कारण पनि निर्माण उद्योगमा लगानी भित्रन नसकेको विभागका महानिर्देशक विनोदप्रकाश सिंहको भनाइ छ । उनले कामदार अभाव, करप्रणाली, लगानीको सुनिश्चितताजस्ता कारणले निर्माण उद्योगमा लगानी भित्रन नसकेको हुन सक्ने बताए । उनले भने, ‘अहिले हामी केही ऐन/नियम बनाउने क्रममा छौं, त्यसपछि यस क्षेत्रमा लगानी आकर्षित गर्न लागि केही सुधार गर्न सकिन्छ ।’ उनका अनुसार अहिलेसम्म वर्गीकरण गरिएका निर्माण उद्योगमा लगानी आउन नसक्नाका कारणको मूल्यांकन तथा विश्लेषण भने नगरिएकाले विश्लेषणको खाँचो देखिएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणको प्रारम्भिक चरणमा रहेकाले नेपालमा वैदेशिक लगानीको आवश्यकता भए पनि त्यसका लागि स्पष्ट ‘मोडालिटी’को खाँचो रहेको छ । ‘नेपाली लगानीकर्ताले मात्रै पूर्वाधार निर्माणमा लगानी गरेर सम्भव छैन । यसका लागि विदेशी लगानी आउनुपर्छ,’ उनले भने, नेपाललाई फाइदा हुने गरी र स्वदेशी निर्माण कम्पनीलाई प्राथमिकतामा राखी वैदेशिक लगानी भित्र्याउनुपर्छ ।’
औद्योगिक व्यवसाय ऐनले एफडीआई स्वीकारेका निर्माण क्षेत्र
  • सडक, पुल, सुरुङ
  • रोपवे, रेलवे, ट्राम, ट्रलिबस, केबुलकार, मोनोरेल र स्लाइडिङ कार
  • हवाई धावन मार्ग र विमानस्थल
  • औद्योगिक संरचना एवं पूर्वाधार कम्प्लेक्स
  • सभासम्मेलन केन्द्र
  • ढल तथा ढल निकास
  • खानेपानी आपूर्ति तथा वितरण
  • सिँचाइ पूर्वाधार
  • खेलकुद गृह, रंगशाला
  • सवारी पार्किङस्थल
  • निर्यात प्रशोधन क्षेत्र
  • विशेष आर्थिक क्षेत्र
  • कार्गो कम्प्लेक्स
  • पानी प्रशोधन केन्द्र
  • टेलिफोन टावर, अप्टिकल फाइबर नेटवर्क, भू–उपग्रह, भू–उपग्रह प्रसारण केन्द्र
  • घर तथा आवास भवन
  • फिल्म सिटी र स्टुडियो निर्माण
  • व्यापारिक कम्प्लेक्स
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)