विश्वव्यापीकरणका कारण अहिले कुनै पनि देशका चाखलाग्दा विषय अर्काे देशमा पुगेकै हुन्छन् । तिनैमध्ये एक हो, शिक्षा प्रणाली । एक देशबाट अर्काे देशमा रूपान्तरण हुँदै जाँदा नेपालमा पनि यस्तो शिक्षा प्रणालीको उपस्थिति बाक्लिँदै गएको छ ।
नेपालको शिक्षा प्रणालीमा सुधार गर्नुपर्ने माग दरिलो बन्दै गएको छ । यो अवस्थामा यससम्बन्धी निजी संस्थाले विदेशी विश्वविद्यालय वा शिक्षण संस्थाको सम्बन्धन लिएर उच्च शिक्षामा योगदान पु¥याएका छन् । विश्वका प्रख्यात विश्वविद्यालयबाट ‘डिग्री’ हासिल गर्नु सबै विद्यार्थीको इच्छा हुन्छ । यसलाई सार्थक बनाउन विदेश नै गइरहनुपर्ने बाध्यता भने पछिल्लो समयमा विस्तारै घटेको देखिन्छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार २०७५ वैशाख सम्ममा विभिन्न विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालका ९५ ओटा शैक्षिक संस्था तथा कम्पनीले शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् । ती शैक्षिक संस्था तथा कम्पनीले विशेषगरी ए–लेभल र बीबीए लेभलका कोर्स अध्ययन गराइरहेका छन् । मन्त्रालयको तथ्यांक हेर्दा नेपाली विभिन्न कलेजले स्नातक तहका लागि बढी सम्बन्धन लिएको देखिन्छ ।
खासमा विश्व बजारका लागि प्रतिस्पर्धी जनशक्ति उत्पादनमा देशकै विश्वविद्यालय तथा शिक्षा प्रणाली जिम्मेवार हुनुपर्ने हो । तर, अहिले नेपालका विश्वविद्यालय शैक्षिक प्रमाणपत्र बोकेका बेरोजगार उत्पादन गर्ने स्थान बन्दै गएका छन् ।
व्यावहारिक तथा शीपमूलक शिक्षा प्रणालीको विकासका लागि अझै पनि नेपालले आफ्नो शिक्षा प्रणालीमा सुधार गर्न सकेको छैन । फलस्वरूप अहिले नेपाली लगानीमा विदेशी शिक्षण संस्थाको सम्बन्धन लिई नेपालका निजीक्षेत्रका संस्था तथा कम्पनी शिक्षा दिन केन्द्रित छन् । नेपालमै उच्च शिक्षा हासिल गर्न निजी कलेज तथा सामुदायिक क्याम्पसका साथै विभिन्न विश्वविद्यालय छन् । यति हुँदाहुँदै पनि विदेश जाने विद्यार्थी वर्षेनि बढ्दै गएका छन् ।
मन्त्रालयका अनुसार नेपालबाट २०७४ मा मात्रै ५६ हजारभन्दा बढी विद्यार्थीले विदेश अध्ययनका लागि स्वीकृति लिएका थिए । यसबाट मुलुकको करोडौं रुपैयाँ विदेशिएको छ । नेपाली विद्यार्थी विशेषगरी अस्ट्रेलिया, जापान, अमेरिका, बेलायत, जर्मनी, क्यानाडा जस्ता देश जाने क्रम बढेको छ । उत्कृष्ट डिग्री, स्थायी बसोवासको अवसर र राम्रो आम्दानीका कारण यो क्रम बढेको हो ।
मन्त्रालयले ‘सम्बन्धित देशको प्रचलित कानून बमोजिम स्वीकृति÷गुणस्तर सुनिश्चितता प्राप्त गरेको विश्वविद्यालय वा शिक्षण संस्था’ ‘विदेशी शिक्षण संस्था’ हुने भनेको छ । शिक्षण संस्था भन्नाले विदेशी विश्वविद्यालय वा शिक्षण संस्थाबाट सम्बन्धन लिएर नेपालमा स्नातक तह वा सोभन्दा माथिल्लो तहको शिक्षा दिनेगरी खोलिएका संस्था वा कम्पनी भन्ने उल्लेख छ । अबको शिक्षा प्रणालीले सैद्धान्तिकसँगै व्यावहारिक र अनुसन्धान (केस स्टडी) लाई बढी प्राथमिकता दिन जरुरी छ । हरेक क्षेत्रमा बढ्दै गएको प्रतिस्पर्धा अहिलेको शिक्षा प्रणालीले सम्बोधन गर्नुपर्छ । यसो भए मात्र नेपालमा सञ्चालित विश्वविद्यालयबाट दक्ष जनशक्ति उत्पादन हुन्छ ।
एमबीएमा बढी आकर्षण अहिले नेपालमा विदेशी शिक्षण संस्था वा विश्वविद्यालयबाट सम्बन्धन लिइएका विषयमध्ये एमबीए मास्टर्स अफ बिजनेश एडमिनिष्ट्रेशन) मा सबैभन्दा बढी आकर्षण छ । अधिकांश संस्थाले एमबीएका कार्यक्रम सञ्चालन गरेका छन् । ती शिक्षण संस्थामध्ये एस इन्टरनेशनल बिजनेश स्कूल प्रालि काठमाडौं, एम्ब्रोजिया, विराट कजेल फर प्रोफेशनल स्टडिज प्रालि विराटनगर, सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्ट काठमाडौं, कलेज फर प्रोफेशनल स्टडिज काठमाडौं, इलिट इन्स्टिच्युट, इस्लिङ्टन, हिमालयन कलेज अफ म्यानेजमेण्ट प्रालि इन्स्टिच्युट अफ बैंकिङ एण्ड म्यानेजमेण्ट स्टडिज बागबजार, लर्ड बुद्ध फाउन्डेशन, किंग्स कलेजलगायतले अहिले विदेशी विद्यवविद्यालय तथा संस्थाबाट विभिन्न विषयमा सम्बन्धन लिई अध्यापन गराइरहेका छन् । यीमध्ये अधिकांशले एमबीएलाई नै बढी प्राथमिकता दिएका छन् ।
रहरभन्दा आवश्यकता लर्ड बुद्ध एडुकेशन फाउण्डेशन गू्रप अफ इन्स्टिच्युशनका अध्यक्ष पंकज जलानले विदेशी शैक्षिक संस्थाको अध्ययन नेपालमा गराउनु रहर÷बाध्यताभन्दा पनि आवश्यकता भएको तर्क गरे । ‘विदेशी विश्वविद्यालयको सम्बन्धन ल्याउन आवश्यकता हो,’ उनले भने, ‘अहिले नेपालको शैक्षिक क्यालेन्डर नै फलो गर्न नसकिने अवस्था छ, यसमा तत्काल सुधार हुने संकेत पनि देखिँदैन ।’ अहिले नेपालका विश्वविद्यालयले सूचना प्रविधिमा कुनै कार्यक्रम नै नल्याएको उनले बताए । साथै, एमएससीआईटीएम नयाँ कार्यक्रम भए पनि सबैले एमबीए नै बढी सञ्चालन गरेको उनले जानकारी दिए ।