ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेलम्ची आयोजनाबाट ठेकेदार कम्पनी सीएमसी भाग्नुमा सरकारमाथि नै आशंका, साढे ३ अर्ब रुपैयाँ जफत

Dec 21, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
पुस ५, काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माण गरिरहेको इटालियन ठेकेदार कम्पनी, कर्पोरेटिभ मुराटोरी सिमेन्टिस्टी (सीएमसी) डी रभेन्नाको साढे ३ अर्ब रुपैयाँ सरकारले नियन्त्रणमा लिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार पछिल्लो घटनाक्रमलाई ध्यानमा राखेर सरकारले सो कम्पनीको नाममा नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा रहेको खाता नियन्त्रणमा लिएको हो । खानेपानी सचिव गजेन्द्र ठाकुरले ठेकेदार कम्पनीले राखेको धरौटीलगायतको उक्त रकम सरकारले नियन्त्रणमा लिएको जानकारी दिए । ठेकेदार कम्पनी काम छोडेर बीचैमा भाग्न खोजेपछि सरकारले उक्त रकम नियन्त्रणमा लिनुपरेको उनको भनाइ छ । ठाकुरका अनुसार सरकारसँग गरेको शर्तअनुसार कम्पनीले काम नगरे त्यही रकम लगानी गरेर मेलम्चीको बाँकी काम पूरा गर्ने सरकारको तयारी छ । उनले भने, ‘कम्पनीलाई फकाएरै काम अघि बढाउने कोशिश भइरहेको छ, हुँदै भएन भने नियन्त्रणमा रहेको उक्त रकम लगानी गरेर बाँकी काम गर्छौं ।’ अर्थ समितिको बिहीवारको बैठकमा उक्त जानकारी दिइएको हो । बैठकमा सांसदहरूले आयोजनाको काम अलपत्र पारेर ठेकेदार कम्पनी भाग्न खोज्नुमा सरकारकै चलखेल त छैन भनेर आशंका व्यक्त गरेका थिए । बैठकमा सांसद सुरेन्द्र पाण्डेले टाट पल्टिएको कम्पनीलाई नै किन ठेक्का दिइयो भन्ने प्रश्न गर्दै भने, ‘कतै सरकारले तँ भागेजस्तो गर, म पैसा थपिदिन्छु भनेको पो हो कि ?’ काम सकिनै लागेका बेला ठेकेदार भाग्न खोज्नु गम्भीर विषय रहेको उनको भनाइ थियो । अहिलेसम्म जति सरकार आए पनि ‘मेलम्ची कथा’ भनेर दिन बिताउने मात्रै गरेको भन्दै उनले अब कुनै पनि बहानामा मेलम्ची पर सार्न नमिल्ने बताए । अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले इटालीमा टाट पल्टेको कम्पनीलाई किन ठेक्का दिएको भन्दै प्रश्न गरे । उनले सीएमसी कम्पनीको बैंक खाता नै रोक्का रहेको अवस्थामा त्यही कम्पनीसँग कसरी सम्झौता गरेको भन्दै प्रश्न गरे । सीएमसी कम्पनीले नेपाल सरकारबाट रकम लिएर इटाली पठाउने गरेको र यता न्यून मात्रामा लगानी गर्ने गरेको सांसदहरूको भनाइ थियो । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आयोजनाको संवेदनशीलतालाई बुझ्न खानेपानी मन्त्री, मन्त्रालयका सचिव, मेलम्ची खानेपानी आयोजना प्रमुखलगायतको ध्यानाकर्षण गराए । ‘सरकारप्रतिको विश्वसनीयता नै रहेन,’ उनले भने, ‘मेलम्ची आइपुगेन भने काठमाडौं ‘डेड सिटी’मा परिणत हुन्छ । यसको संवेदनशीलतालाई बुझ्नु जरुरी छ ।’ बैठकमा उपस्थित खानेपानी मन्त्री बिना मगरले कुनै पनि हालतमा मेलम्ची काम अघि बढाइने बताइन् । उनले इटालियन कम्पनी सीएमसीले हामी काम गर्दैनौं भने पनि आपैm काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले सीएमसीसँग छलफल भइरहेको जानकारी पनि दिइन् । ‘उनीहरूले १ अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरिरहेका छन्, हामीले त्यति रकम उपलब्ध गराउन सक्दैनौं भन्यौं,’ मन्त्री मगरले भनिन्, ‘वार्ता सफल हुने र काम अगाडि बढ्नेमा विश्वस्त छु ।’ सरकारमाथि अनावश्यक आशंका नगर्न आग्रह गर्दै उनले भनिन्, ‘हामीमा कुनै स्वार्थ छैन, शंका गर्नु व्यर्थ हो ।’ बैठकमा समितिका सभापति दाहालले अर्को प्रक्रिया शुरू गर्दा समय लम्बिन सक्ने भन्दै छोटोभन्दा छोटो समयमा काम सम्पन्न गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिए । तोकिएकोभन्दा बढी समय र बढी लगानी नलाग्ने गरी काम सम्पन्न गर्न समितिले भनेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)