अल्पमतका सरकारहरूले काम गर्न सकेनन् वा पाएनन् भनेर देश बहुमतको सरकारलाई जिम्मा लाउने भनेकोमा दुई तिहाइ सरकारलाई नै जिम्मा लगाए जनताले । त्यो पनि दुई कहलिएका कम्युनिष्ट दलहरू एकै भान्सामा खान थालेको देखेर । तर बलियो भनेको सरकारले त देश सल्लाहकारहरूलाई पो जिम्मा दिएछन् त । फेरि सल्लाहकार पनि कस्ता कस्ता । सलहका आकार प्रकार जस्ता, कति कति । जताबाट पनि जनताकै पसिनाको खति । दुई तिहाइले गर्ने छाँटकाँट नदेखेकोले होला हिजोआज एकथरीले राजालाई दिऊँ पनि भन्न थालेका छन् । तर, राजालाई पनि हेरेकै हो । दौरा सुरुवाल पनि फेरेकै हो । तर भएन ।
तुल्सी गिरीलाई दिन पा’ भए हुन्थ्यो कि भन्नेहरू पनि छन् । तर, उनी त गए । अब कतैबाट कसैले नगरेपछि पशुपति (राणा होइन नि) नाथले त हेर्लान् भन्नेहरू पनि छन् । तर, पैले राजाले सधैं पशुपतिनाथले सबै नेपालीको कल्याण गरून् भनिरहन्थे । तर अरूको त परै जाओस्, उनकै पनि कल्याण गरेनन् क्यारे ।
अब देश बनाउने जिम्मा कसलाई दिने त ? कांग्रेसलाई दिऊँ, के दिनु ? बचेखुचेको रूख पनि खंग्रङ्गै पारिसके । कमल थापालाई दिऊँ, उनको गाई कहिले ब्याउने हो थाहै छैन । यी रवीन्द्र सविन्द्रलाई दिऊँ, यो फुच्चाफुच्चीको पार्टी भनेर कसैले नि पत्याउन्नन् कि ? मैले मात्र दिऊँ भनेर भएन ।
अहिले प्रधानमन्त्री, मन्त्रीहरूले निर्णय, आदेश ठोकेका ठोक्यै छन् । सचिवहरूले पनि ऐजन ऐजन गरिरहेकै छन् । तर, कामहरू हुन सकिरहेका छैनन् । जीएमआरले उपल्लो कर्णाली बनाउँछु भन्थ्यो । अहिले त कल्लाई हो बेच्ने कुरा गरिहिँड्या छ । यता सतलजले त अरुण ३ बनाएरै छाड्छु भन्थ्यो । त्यो उसले पनि बेच्ने रे भन्ने पो हल्ला छ । युवामै बूढीगण्डकी बन्ने कुरा सुन्नेहरू बूढाबूढी भएरै मर्ने भए, तर बूढीगण्डकी बनेन । आर्मीलाई फास्ट ट्र्याक दिने भनेकोमा पनि त्यसभित्र लफडा झगडा थुप्रै देखिन्छ । मेलम्चीको पानीको सपना फेरि एकपटक तुहिएको छ ।
यता वाइड बडी जहाज आए देशकै कायापलट हुन्छ भनेको नि भएन । न धरहरा बन्यो, न त भूकम्पपीडितका घरहरू बने । यसरी न पूर्वाधार बने, न गरीबका लागि काम र मामका लागि आधारहरू नै बने । यसो गरे नि, उसो गरे नि, केही गरे नि भएन ।
अब देश बनाउने जिम्मा कसलाई दिने त ? कांग्रेसलाई दिऊँ, के दिनु ? बचेखुचेको रूख पनि खंग्रङ्गै पारिसके । कमल थापालाई दिऊँ, उनको गाई कहिले ब्याउने हो थाहै छैन । यी रवीन्द्र सविन्द्रलाई दिऊँ, यो फुच्चाफुच्चीको पार्टी भनेर कसैले नि पत्याउन्नन् कि ? मैले मात्र दिऊँ भनेर भएन ।
अब भारतलाई दिऊँ, मान्दैन, चीन रिसाउने डर छ उसलाई । चीनलाई दिऊँ, भारत चिढिने डर छ उसलाई पनि । अब कतैबाट पनि हुँदैन भने बरु यै युनिभर्सल पिस (यूपी) फेडरेशनवालालाई पो दिने हो कि ? किनकि नेपालमा अरूले गर्न नसकेको काम उसले गरेर देखायो । बिम्स्टेक सम्मेलनमा मोदी र ओली मिलेर बोलाउँदा पनि नमानेकी आङ सान सुचीलाई यूपीका सेनामेनाले त टुप्लुक्कै नेपालमा ल्याएर देखाइदिए । नेपालका त मै हुँ भन्ने ठूला कम्युनिस्टदेखि कांग्रेसका कतिपय सांसदसम्म लुसुक्क हान मुनले बोलाएको होटलमा पुगेर यूपीको झन्डामुनि झुकेको पो देखियो । भनेसी अब अरू पार्टी खोज्न छाडेर देश बनाउने जिम्मा त्यै यूपीलाई पो दिने हो कि कमरेड ?
उल्लाई जिम्मा दिन पाए त दुइटै हातमा लड्डु हुने । नेता, कर्मचारीले काम गर्न सकेनन् भन्ने अवगाल पनि नआउने । ढाँटेर, छलेर, तर्साएर घरभाडा, पेट्रोल, ड्राइभर, पीएको तलब, घूस, कमीशन आदि इत्यादि लिनुपर्ने दुःखबाट पनि मुक्ति पाइने । त्यसको दोब्बर ‘प्रभुकृपा’ सुतीसुती यूपीबाटै एकमुष्ट हातलागी हुन सक्ने !
फेरि यूपीको अलि बढी नै विरोध हुन थाल्यो भने के गर्ने नि ? यहाँनेर भने समस्या आउन सक्छ । त्यसो भए देश बनाउने जिम्मा अब कसलाई दिने त हौ ? हे ! सृष्टिकर्ता ! नेपालप्रति दयादृष्टि दिने पालो कहिले छ हँ ?