हामीमध्ये धेरैलाई स्मार्टफोन बोक्ने रहर छ । अझ कतिपयले त साथीभाइसँग सरसापट लिएरसमेत स्मार्टफोन किनेका छन् । तर, यस्तो स्मार्टफोनबाट नजिकको दृष्टिमा समस्या (मायोपिया) निम्तिने बेलायतका एक नेत्र विशेषज्ञले चेतावनी दिएका छन् । बेलायती नेत्र शल्यचिकित्सक डेभिड अलाम्बीका अनुसार स्मार्टफोन बढी प्रयोग गर्ने बालबालिका मायोपियाको उच्च जोखीममा रहेका छन् । यस्तो समस्या ७ वर्षसम्मका बालबालिकामा पाइएको उनले बताए । सन् १९९७ मा स्मार्टफोन बजारमा आएयता मायोपियाको समस्या भएको बिरामीको सङ्ख्या ३५ प्रतिशतले बढेको उनको भनाइ छ । आगामी १० वर्षमा मायोपियाबाट ग्रसित युवा तथा बालबालिकाको सङ्ख्यामा ५० प्रतिशतले बढ्ने बेलायतस्थित फोकस क्लिनिक्सका संस्थापकसमेत रहेका अलाम्बीको चेतावनी छ ।
यस समस्या उनले ‘स्क्रिन साइटेडनेश’ अर्थात मोबाइल वा अन्य उपकराण्को स्क्रिनमा भएका कुरा मात्र देख्न सक्ने स्थिति भनेका छन् । अध्ययनहरुले देखाएअनुसार स्मार्टफोनलाई १० सेमीदेखि ३० सेमीसम्मको दूरीमा राखेर प्रयोग गर्ने चलन छ । पत्रपत्रिका र किताब पढ्दा भने त्यसलाई ४० सेमीको दूरीमा राखेर पढ्ने गरिन्छ । ‘मानिसहरुले सम्भव भएसम्म हरेक दिन फोन प्रयोग नगर्ने निश्चित समय छुट्टयाउन उपयुक्त हुने र अभिभावकले पनि आफ्ना बालबच्चालाई कुन उमेरमा स्मार्टफोन प्रयोग गर्न दिने भन्नेबारे गम्भीरतापूर्वक सोच्नु जरूरी छ, ’अलाम्बीले भने । बाहिर घाममा निस्कनाले पनि मायोपियाको समस्या बढ्नबाट रोक्ने उनको कथन छ । हिजोआज ७ वर्षभन्दा कम उमेरमै बालबालिकाहरुलाई स्मार्टफोन प्रयोग गर्न दिने संस्कृति बढ्दै गएकाले उनीहरु मायोपियाको उच्च जोखीममा परेको पनि अलाम्बीले बताए ।