ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सम्पत्ति बीमा निर्देशिका जारी : एउटै बीमालेखबाट सबै सम्पत्तिको सुरक्षा

Dec 24, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । घरधनीले अब घरसहित घरभित्रका सम्पत्तिको एउटै ‘प्याकेज’मा बीमा गर्न पाउने भएका छन् । बीमा समितिले आइतवार जारी गरेको ‘सम्पत्ति बीमा निर्देशिका, २०७५’ ले यस्तो व्यवस्था गरेको हो । निर्देशिकाअनुसार उद्योग र घरधनीले आफ्नो जोखिमयोग्य सम्पत्तिको संयुक्त रूपमा बीमा गर्न पाउने भएका हुन् । समितिले आगमी माघ १ गतेदेखि लागू हुने गरि उक्त निर्देशिका जारी गरेको हो । उक्त निर्देशिकाअन्तर्गत व्यावसायिक प्रयोजनका लागि सम्पत्ति र आवासीय घरका लागि घर बीमालेख रहेका छन् । प्रचलित बीमालेखमा घरको भौतिक संरचनाको मात्र बीमा हुने व्यवस्था छ । तर, नयाँ बीमालेखअनुसार घरको बीमा गर्दा एउटै बीमाशुल्कमा घरभित्रका अन्य सम्पत्तिको पनि रक्षावरण हुने समितिको भनाइ छ । यद्यपि, घरधनीले बीमा सम्झौता गर्दा घरमा हुने सम्पत्तिको विवरण उल्लेख गर्नुपर्ने बताइएको छ । निर्देशिकाअनुुसार यस बीमालेखले अग्निजन्य, हावाजन्य, पानीजन्य, भूमिजन्यजस्ता घटनाबाट हुने क्षतिको रक्षावरण गर्नेछ । त्यस्ता जोखिमलाई अनिवार्य रूपमा बीमा गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यद्यपि, बीमितले आतंकवाद र हूलदंगाको जोखिमलाई पनि इच्छाअनुसार रक्षावरण गर्न सक्ने बताइएको छ । यस निर्देशिकाअनुसार बीमा गर्दा बीमितले पहिलेभन्दा सस्तो बीमाशुल्कमा नै धेरै जोखिमको रक्षावरण गर्न सक्नेछन् । निर्देशिकाले प्रचलित व्यवस्थामा भन्दा ६५ प्रतिशत सस्तोमा बीमाशुल्क निर्धारण गरेको समितिको भनाइ छ । प्रचलित बीमालेखमा रू. १ करोडबराबरको सम्पत्तिको बीमा गर्दा प्रतिहजार रू. १.३९५ बीमाशुल्क तिर्नुपर्ने व्यवस्था छ । नयाँ बीमालेखमा भने रू. १ करोडबराबरको सम्पत्तिको बीमा गर्दा प्रतिहजार ४० पैसा मात्र बीमाशुल्क निर्धारण गरिएको छ । साथै, १ करोडभन्दा बढी सम्पत्तिको बीमा गर्दा प्रतिहजार रू.१ बीमाशुल्क लाग्ने निर्देशिकामा उल्लेख छ । उद्योगसम्बन्धी व्यवस्था निर्देशिकाले उद्योग परिसरमा रहेका सम्पूर्ण सम्पतिको एउटै बीमादरमा बीमा गर्ने मिल्ने व्यवस्था गरेको छ । साथै, उद्योगले एकभन्दा बढी वस्तु उत्पादन गरेको अवस्थामा सबैभन्दा उच्च बीमादर भएको वस्तुको आधारमा बीमालेख जारी गरिने व्यवस्था छ । साथै, उद्योगबाहिर भण्डारण गरिएको वस्तु र सम्बन्धित भवनपरिसरको बीमा गर्दा एउटै बीमादर लागू हुने निर्देशिकामा उल्लेख छ । निर्माणाधीन भवनको बीमा यस निर्देशिकाले निर्माणाधीन भवनको बीमा गर्ने व्यवस्थालाई पनि बलियो बनाएको छ । यस्तै, बीमितको इच्छाअनुसार भवनमा निर्माण कार्यमा प्रयोग गरिने यन्त्र तथा उपकरणको पनि सोही बीमालेखले रक्षावरण गर्न सकिनेछ । साथै, निर्माण प्रारम्भ गर्दाको बीमांक रकमलाई निर्माण कार्यको प्रगतिअनुसार वद्धि गर्दै लैजान सकिने व्यवस्था गरिएको छ । तीन प्रकारका बीमालेख नहुने समितिले अग्नि, ज्वेलरी ब्लक र गार्हस्थ्य बीमालेखलाई एकै ठाउँमा प्रतिस्थापन गर्दै उक्त निर्देशिका जारी गरेको हो । यसअनुसार अब बीमा कम्पनीहरूले अग्नि, ज्वेलरी ब्लक र गार्हस्थ्य बीमालेख जारी गर्न पाउने छैनन् । यद्यपि, हालसम्म जारी भएका त्यस्ता बीमालेखहरू भने तोकिएको बीमा अवधिसम्म जारी रहेको निर्देशिकामा उल्लेख छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)