ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुद्रा तथा पूँजीबजार कार्यदलको सुझाव : तत्काल कार्यान्वयनमा लैजान कार्ययोजना बन्दै

Dec 26, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । मुद्रा तथा पूँजीबजार सुझाव कार्यदलले तयार पारेको ५८ बुँदे सुधार योजना तत्काल कार्यान्वयन गर्न कार्ययोजना बनाउन थालिएको छ । अर्थ मन्त्रालयले यसका लागि नियामक निकायसँग छलफल गरी जिम्मेवार निकायहरूलाई कार्ययोजना बनाउन निर्देशन दिइसकेको अर्थसचिव डा. राजन खनालले जानकारी दिए । उनका अनुसार सुझाव कार्यदलले पेश गरेको प्रतिवेदनलाई सरकारले पूर्णरूपमा कार्यान्वयन गरी विद्यमान समस्या सम्बोधन गर्नेछ । सचिव खनालले पूँजीबजार, मुद्रा व्यवस्थापन र दीर्घकालीन स्रोत व्यवस्थापनमा अर्थ मन्त्रालयले विशेष ध्यान दिएको बताए । अर्थसमितिको मंगलवारको बैठकमा उनले भने, ‘पूँजीबजारलगायत समग्र वित्तीय सुधारका लागि ५८ बुँदे सुझावलाई मन्त्रालयले पूर्णरूपमा कार्यान्वयनमा ल्याउँछ, यसमा हामी प्रतिबद्ध छौं ।’ उनले घट्दो पूँजीबजार र बढ्दो बैंकिङ ब्याजदरलाई सन्तुलनमा ल्याउन जरुरी रहेको समेत बताए । बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सरकारी कार्यदलबाट आएका सबै सुझावलाई कार्यान्वयन गर्न राष्ट्र बैंक तयार रहेको बताए । ‘पूँजीबजार सुधारबारे प्रतिवेदन पाएका छौं,’ उनले भने, ‘राष्ट्र बैंकलाई दिएको सुझाव कार्यान्वयन गर्छौं ।’ उनले केन्द्रीय बैंककै दबाबमा बैंकहरूले ब्याजदर घटाउन भद्र सहमति गरेको बताउँदै यसले विद्यमान समस्या हल गर्न सहयोग पुगेको दाबी गरे । उनले भने, ‘वित्तीय संस्थालाई राष्ट्र बैंकले नैतिक दबाब दिएर ब्याजदर नियन्त्रणमा ल्याएको छ, यसबाट विद्यमान समस्या हल गर्न सहयोग मिल्नेछ ।’ अब शेयरबजारसँग सम्बन्धित निर्देशनहरू १÷२ दिनमै राष्ट्र बैंकले जारी गर्न लागेको समेत गभर्नर नेपालको भनाइ छ । गभर्नर नेपालका अनुसार बैंकहरूलाई शेयर ब्रोकरको काम गर्न दिने व्यवस्था राष्ट्र बैंकले चाँडै गर्दै छ । बैंकको प्राथमिक पूँजी र निक्षेपको निश्चित प्रतिशत रकम ऋणपत्र बजारमा लैजाने समेत व्यवस्था मिलाउन राष्ट्र बैंक लागेको छ । सहायक कम्पनी नखोलीकनै बैंकलाई शेयर ब्रोकरको काम गर्न दिने व्यवस्थासमेत गरिन लागेको उनको भनाइ छ । नेपाली बैंकहरूले विदेशी संस्थाबाट डेढ अर्ब रुपैयाँ ल्याएको जानकारी दिँदै गभर्नर नेपालले थप १ करोड ल्याउने प्रक्रियामा रहेको समेत बताए । यसबाट बजारमा देखिएको पूँजी अभावको समस्या कम हुने उनको भनाइ छ । गभर्नर नेपालले पूँजीबजारलाई गतिशीलता दिई वित्तीय स्थायित्व प्रदान गर्न नेपाल राष्ट्र बैंकले कुनै कसुर बाँकी नराख्ने समेत बताए । बैठकमा सांसद ज्ञानेन्द्रबहादुर कार्की र तुलसा थापाले पूँजीबजारमा देखिएको समस्यालाई तत्काल सम्बोधन गर्न माग गरे । समितिले ३ दिनभित्र अर्थ मन्त्रालयलाई कार्यदलको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । प्रतिवेदन आएपछि त्यसबारे विस्तृत छलफल हुने सभापति कृष्ण दाहालले जानकारी दिए । प्रतिवेदनले वित्तीय बजारमा लगानीयोग्य पूँजीको अभाव र ब्याजदर उतारचढावको समस्या हल गर्न ऋणपत्र बजारलाई विस्तार गर्नुपर्ने, ऋणपत्रको धितोमा कर्जा दिँदा अहिले बैंकहरूले प्रत्याभूतिकर्ता खोज्नुपर्ने र धितो पनि राख्नुपर्ने झन्झटिलो व्यवस्थालाई सुधार गर्नुपर्नेजस्ता सुझाव सरकारलाई दिइसकेको छ । स्रोतका अनुसार मंगलवार नै अर्थ मन्त्रालयमा नियामक निकायका उच्च अधिकारीको बैठक बसेको थियो । बैठकमा तत्काल कार्ययोजना बनाउनेबारे छलफल भएको बुझिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)