निद्रामा घुर्ने बानीले आफूलाई भन्दा पनि अरुलाई बढी असर गर्ने गरेको त हामी सबैलाई थाहा नै छ । अप्ठ्यारो गरी सुत्ने बानी भएका मानिसहरुमा प्रायः यो समस्या देखिने गरेको छ । कतिपय अवस्थामा घुर्ने मानिसलाई आफूले घुरेकोबारेमा केही थाहा नभए पनि सँगै सुत्नेले भने बढी समस्या झेल्दै आएका छन् । घुर्ने समस्या समाधान गर्ने धेरै तरीका पनि छन् तर ती सबै त्यति असरदार भने छैनन् । यसै सन्दर्भमा बेलायतस्थित एक्सेटर अस्पताल र रोयल डेभोनले संयुक्त रुपमा एक अध्ययन गरी सङ्गीतले घुराइको उपचार गर्ने नयाँ तथ्य सार्वजनिक गरेका छन् । सो अध्ययनले घुर्ने बानीलाई सङ्गीतले सजिलै कम गर्न सकिने देखाएको छ । यदि तपाईंका पार्टनर तथा रुममेट तपाईंको घुर्ने बानीबाट आजित छन् र यसको उचित समाधानको खोजीमा छन् भने सो अध्ययनले यसको सही समाधान निकालेको छ । गीतसङ्गीत गुनगुनाउँदा हाम्रो गलाको मांसपेसीहरुको टोनमा सुधार आउने र यसले घुर्दा आउने कष्टप्रद आवाज कम गर्न सहयोग पुर्याउने अध्ययनको निचोड छ ।
सामूहिक गायन (कोयर) निर्देशक अलिस ओजेले आफ्नो सङ्गीतले घुर्ने बानी सपार्ने कार्यक्रमका बारेमा बताउँदै केही अभ्यासहरु पनि सुझाएकी छन् । ओजेले ’घुर्ने बानी सुधार्न सङ्गीत’को आविष्कार गरेकी थिइन् । उनले घुर्ने बानी भएका मानिसहरुले ‘ हूँ..’, ‘रऽऽ’ आवाज भएका गीत गुनगुनाउनाले घुर्ने बानी असरदार रुपमा कम हुने जानकारी दिएकी छन् । यस अध्ययनमा घुर्ने रोगबाट ग्रसित बिरामीलाई ३ महीनासम्म ट्रायल पिरियडमा राखेर गलाको टोनलाई सुधार्न सो आवाजको अध्यास गराइएको थियो । उनले बताएअनुसार, ‘ हूँ..’, ‘रऽऽ’ आवाज निकालेर गीत गाउने व्यक्तिमा घुर्ने बानीमा कमी आएको वा पूरै बन्द भएको पाइएको छ ।